गोरखा आरुघाटस्थित घरको आँगनबाट देखिने गणेश हिमाल देखेर पूर्णिमा कहिल्यै रमाइनन् । दिनहुँजसो देखिने हिमालप्रति उनको रुची पनि थिएन । सोधीखोजी पनि गरिनन् । जब उनी फोटो पत्रकारका रुपमा सगरमाथाको आँगनमा पुगिन्, उनलाई हिमालले बोलायो ।
सगरमाथा आधार शिविर वर्षेनी हजारौं पदयात्री पुग्छन् । तर सबैलाई हिमालले बोलाउँदैनन् । हिमालले बोलाएको आवाज पूर्णिमाको अन्तष्करणले सुन्यो । उनी रोकिन सकिनन् ।
सगरमाथा आधार शिविरमा ‘एभरेष्ट म्याराथन’मा फोटो खिच्न पुगेकी पूर्णिमा अगाडी देखिएको सर्वोच्च शिखरबाट मोहित भएकी थिइन् । ‘किन मैले हिमाल चिन्न यति ढिलो गरेको हुँला, हिमाल चढ्न मलाई ढिलो भइसक्यो भन्ने लाग्यो, त्यसपछि काठमाडौं फर्केर हिमाल चढ्ने योजना बनाएँ’, उनले भनिन् ।
काठमाडौं फर्केर उनी सगरमाथा चढ्न जाने योजना बनाउन चाहन्थिन् । तर, उनलाई पहिला ६ हजार मिटरको हिमाल चढ्न सुझाइयो । उनले मानिन् । गोरखामै अवस्थित ८ हजार मिटरभन्दा अग्लो मनास्लु हिमाल आरोहणको तयारी थालिन् ।
‘मनास्लु चढ्छु भन्दा मलाई साथीहरुले ५ कक्षा पढेर एकैचोटी एसएलसी दिन खोजेको भन्थे’, पूर्णिमाले भनिन्, ‘मर्छुजस्तो लागेको थियो, आफैंलाई आश्चर्य लाग्ने सफलता मिल्यो ।’ मनास्लुको चुचुराबाट हेर्दा तलतिर देखिने हरिया पहाडको दृश्य अझै मनमा आइराख्ने उनी बताउँछिन् ।
सन् २०१७ मा मनास्लु चढेकी पुर्णिमाले सन् २०१८ मा सगरमाथा आरोहण गरिन् । त्यसपछि सन् २०१९ मा अप्ठ्यारो र सुन्दर हिमाल भनिने आमादब्लम चढिन् र सन् २०२० मा अन्नपूर्ण प्रथम चढ्ने योजना बनाइन् । उनको यो योजनामा कोरोना भाइरस लाग्यो, त्यतिबेला उनले अन्नपूर्ण चढ्न पाइनन् ।
कोरोना भाइरसले अन्नपूर्णको शिखर चुम्ने पूर्णिमाको रहर सधैंभरलाई रोक्न सकेन । उनले २०७८ वैशाख पहिलो साता अन्नपूर्ण चुमिन् । त्यतिबेला उनीसँगै चार महिलाले ८ हजार ९१ मिटर अग्लो अन्नपूर्ण आरोहण गरेका थिए । अन्नपूर्ण प्रथम चढ्ने पहिलो नेपाली महिलाका रुपमा उनी रेकर्ड राख्न सफल भएकी छिन् ।
विश्वभर हिमाल आरोहणको ट्रेण्ड बसाउने यही अन्नपूर्ण प्रथम थियो । विश्वमै पहिलोपटक ८ हजार मिटर अग्लो हिमाल आरोहण गर्न ७२ बर्षअघि फ्रान्सेली आरोही मौरिस हर्जोग भारतको बाटो हुँदै नेपाल भित्रिएका थिए ।
कालीगण्डकीको किनारैकिनार बागलुङ पुगेर उनले पहिलोपटक धौलागिरी हिमाल आरोहणमा लागे । फ्रान्सबाट ८०९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमाल आरोहण गर्न आएका हर्जोगले चढ्दै गरेको हिमाल धौलागिरी भएको र अन्नपूर्ण हिमाल अर्कै भएको थाहा पाएपछि अन्नपूर्ण प्रथम हिमालतर्फ लम्केका थिए ।
म्याग्दीबाट अन्नपूर्ण हिमाल आरोहण गर्न पुगेका हर्जोगको आरोहण सन् १९५० जुन ३ मा सफल भयो । विश्वमै पहिलोपटक ८ हजार मिटरभन्दा अग्लो हिमाल चढ्ने पहिलो व्यक्तीको इतिहाँस रचे । आरोहणपश्चात फर्किएर उनले ‘अन्नपूर्ण’ नामक किताब लेखे । जुन करोडौं प्रति विक्री भएको दाबी गरिएको छ ।
त्यही पुस्तकले त्यतिबेला नेपाललाई हिमाली राज्यका रुपमा चिनाउन मद्धत पु¥याएको इतिहासकारहरु बताउँछन् । हर्जोगको आरोहण सफल हुँदा फ्रान्समा उनको टिमलाई राष्ट्रिय सम्मानका साथै ३ दिन विदा दिएको थियो ।
हर्जोगले अन्नपूर्ण प्रथम चढेको ३ वर्षपछि १९५३ मे २९ मा तेन्जिङ नोर्गे शेर्पा र एडमण्ड हिलारीले सर्वोच्च शिखर सगरमाथा चढेका थिए ।विश्वमै पहिलो पटक चढिएको ८ हजार मिटर अग्लो हिमाल भएकै कारण अन्नपूर्ण प्रथमलाई जेठो हिमाल पनि भनिन्छ । यो हिमाल चढ्नका लागि उत्तिकै अप्ठ्यारो भएकाले धेरेले ‘किलर माउण्टेन’ पनि भन्छन् । किलर माउण्टेन भएकै कारण आरोही यस हिमाल आरोहणमा त्यति रुची राख्दैनन् ।
मौरिस हर्जोग हिँडेकै बाटोबाट अन्नपूर्ण प्रथम हिमाल आरोहण गरेपछि पूर्णिमा अर्को किलर माउण्टेन धौलागिरी आरोहणमा लागिन् । पृथ्वीको सातौं अग्लो ८ हजार १६७ मिटर अग्लो धौलागिरी उनले गतवर्ष जेठ दोस्रो साता शिखर चुमिन् । धौलागिरी आरोहण गर्ने पहिलो नेपाली महिलाका रुपमा उनले रेकर्ड राखिन् ।
पछिल्लोपटक भने उनले कञ्चनजंघा, लोत्से र मकालुको आरोहण गरिन् । यही वैशाखमा उनले यी तीनवटै हिमालको आरोहण गरेकी हुन् । योसँगै उनले नेपालको ८ हजार मिटर अग्ला ७ वटा हिमाल चढ्ने पहिलो नेपाली महिलाको कीर्तिमान कायम गरेकी छन् ।
विश्वका ८ हजार मिटर अग्ला १४ वटा हिमालमध्ये नेपालमा ८ वटा छ । ती ८ मध्ये चोयु हिमाल तिब्बततर्फबाट चढ्नुपर्छ । भौगोलिक जटिलता र विविध कारणले नेपालबाट चोयु आरोहणको अनुमति खुलाइएको छैन । अब पूर्णिमाले नेपालमा रहेका ८ हजार मिटर अग्ला हिमालमध्ये यही एउटा चोयुको आरोहण गर्न बाँकी छ ।
उनी भन्छिन्, ’नेपालबाट पनि चोयु खुलाउने कुरा भइरहेको छ । त्यो भयो भने यही वर्षमा चोयु पनि चढ्छु ।’
उनले नेपालमा रहेका यी हिमालहरु आरोहण गर्दा काठमाडौंको सेभेन समिट ट्रेक कम्पनीले साथ दिएको छ । अधिकांश हिमाल आरोहण गर्दा गाइडलगायत आरोहणको व्यवस्थापन सोही कम्पनीमार्फत गरेको उनले बताइन् ।
हिमाल चढ्नु कसैका लागि पनि सजिलो कुरा होइन । जुनसुकै बेला प्राण हिमालमाथि उड्न सक्छ । आरोहणका बेला बाँच्नका लागि गरिने संघर्ष पूर्णिमाको मानसपटलबाट हटेका छैनन् ।
‘पहिले पहिले त पैसा खोजेर काल किन्न गएको जस्तो लाग्थ्यो, अचेल त केही जस्तो लाग्दैन,’ उनले भनिन्, ‘हिमाल चढ्दा पलपलमा मर्छुजस्तो लाग्छ, कति बाँच्न मन लाग्छ त्यतिबेला थाहा हुन्छ यो छुट्टै मज्जा हो ।’
हिमाल आरोहण गर्ने कुरा गर्दा सुरुमा उनको परिवारमा रुवाबासी चलेको थियो । सन् २०१७ मा मनास्लु हिमाल चढ्न लाग्दा आकाश खुलेको दिन पूर्णिमाका बुबा चन्द्रप्रसाद श्रेष्ठको आँखामा आँशु छचल्किन्थ्यो । ‘एउटै छोरी, केही हुने पो हो कि’, उनले भने, ‘अचेल त बानी भइसक्यो ।’ पूर्णिमाको आमा पनि अहिले छोरी हिमाल चढेर फर्कनेमा विश्वास गछिन् । अहिले त छोरीले पनि हिमाल चिन्यो, हिमालले पनि छोरी चिन्छ भन्न थालेको चन्द्रप्रसाद बताउँछन् ।
पूर्णिमा भने हिमाल चढ्नु भनेको आफुले आफैलाई चुनौती दिएको ठान्छिन् । ‘साथीहरुले हिमाल चढ्न सजिलो हुन्छ भनेर सोध्छन्, एकदम गाह्रो हुन्छ भनेपछि किन चढेको त भन्छन्’, उनले भनिन्, ‘म त उर्जा लिन जाने हो ।’





