मंगलबार, कार्तिक १७ २०८३

मंगलबार, कार्तिक १७ २०८३
  • १७ कार्तिक २०८३ , मंगलबार
  • November 3 2026

वृद्धहरुको बासस्थान बन्दै गण्डकी !

वृद्धहरुको बासस्थान बन्दै गण्डकी !


  • ढोरपाटन संवाददाता
  • भाद्र ३ २०७९, शुक्रबार

पोखरा/ राष्ट्रिय जनगणना ०७८ को प्रारम्भिक नतिजा अनुसार नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४ सय ८० छ । १० वर्षअघि १.३५ रहेको जनसंख्या वृद्धिदर घटेर ०.९३ प्रतिशतमा झरेको छ ।
१० वर्षअघि ४.८८ प्रति परिवार रहेकोमा (अहिले ४.३२ सहरी क्षेत्रमा एउटा परिवारको संख्या ४.३२ र ग्रामीण क्षेत्रमा ४.५५ छन् । अर्थात् यही गतिले जनसंख्या वृद्धिदर घट्ने हो भने आउँदा केही दशकपछि नेपाल वृद्धहरुको देश हुनेछ । अझ, डरलाग्दो त के छ भने, जनसंख्या वृद्धि घट्दा गण्डकी सबैभन्दा अग्रस्थानमा छ ।

गण्डकीको परिवार संख्या सबैभन्दा कम अर्थात् ३.६६ छ । १० वर्षअघि यहाँ एउटा परिवारमा ४.१६ जना रहन्थे । मधेशमा एउटा परिवार संख्या ५.८० अर्थात् देशको सबैभन्दा बढी छ । जनसंख्या वृद्धिदर पनि गण्डकीमा सबैभन्दा कम अर्थात् ०.३० प्रतिवर्ष छ । देशमै कम जनसंख्या भएको मनाङ र मुस्ताङ गण्डकीमै छन् ।

गण्डकीमा ६ लाख ६८ हजार १७६ घर परिवार र २४ लाख ६९ हजार ७४५ जनता बस्छन् । तीमध्ये महिलाको संख्या १२ लाख ९९ हजार २८५ रहेको छ । जनसंख्याको हिसाबले छैटौं प्रदेश हो, गण्डकी । पोखरा दोस्रो ठूलो जनसंख्या भएको सहर हो भने देशकै सबैभन्दा कम जनसंख्या हुने ५ गाउँपालिकामा मनाङको नार्फाभूमि, चामे र ङिस्याङ, मुस्ताङको लोघेकर र दामोदर कुण्ड पर्छन् । ३२ जिल्लाको जनसंख्या वृद्धिदर ऋणात्मक देखिँदा मनाङ जनसंख्या घट्ने देशकै दोस्रो जिल्ला बनेको छ ।

मनाङ : १.४१
स्याङ्जा : १.२१
पर्वत : ०.९६
लमजुङ : ०.८५
गोरखा : ०.६९
बागलुङ : ०.६७
म्याग्दी ः ०.५४
धनात्मक भएका जिल्लाहरु :
नवलपुर : १.९३
कास्की : १.८९
मुस्ताङ : ०७८
तनहुँ : ०.१३
मानव जनशक्तिलाई विश्वभर देश विकासको ठूलो स्रोत मानिन्छ । युवा वा सक्रिय उमेर समूहका मान्छे घट्न् र वृद्धहरुको संख्या बढ्नु भनेको श्रमशक्तिको अभाव हुनु हो । औषत आयू बढी भएको जापानले अहिले श्रमशक्तिको समस्या भोगिरहेको छ र बाह्य स्रोतबाट जनशक्ति आपूर्ति गर्नुपर्ने बाध्यतामा परेको छ । यही गतिले जनसंख्या वृद्धि घट्दा भोलि नेपालको नियति पनि त्यही हुने हो ।

यो तथ्यलाई गण्डकीको स्थितिपत्रले औंल्याउँदै भनेको छ, ‘केही दशकपछि मुलुकमा ज्येष्ठ नागरिकहरूको संख्या बढ्दै जानेछ, युवाहरूको संख्यामा कमी आउनेछ । यसको मतलब, अरूमा आश्रितहरू बढ्नेछन्, सक्रिय रूपमा काम गर्नेहरू घट्नेछन् । र, राज्यले सामाजिक सुरक्षामा लगानी बढाउनु पर्नेछ ।’

भविष्य जस्तो होस्, वर्तमानमा भने नेपाल सक्रिय उमेर समूहका नागरिक भएको धनी मुलुक देखिएको छ । जनसांख्यिक संरचना अनुसार, यतिखेर नेपालमा घरका ६ जनामध्ये चार जनाले कमाउन सक्छन् । यो राष्ट्र बनाउने सुनौलो मौका हो र यस्तो अवस्था सितिमिति नआउने समाजशास्त्रीहरुले बताउँदै आएका छन् । तथ्याङ्क अनुसार १० वर्षअघि नेपालमा काम गर्ने उमेरको जनसंख्या ६४ प्रतिशत थियो ।

२०७८ सालको जनगणनाले जनसांख्यिक लाभांश ६७ प्रतिशतको हाराहारीमा देखाउने अनुमान गरिएको छ । यद्यपि, जनगणनाको विस्तृत विवरण आइसकेको छैन । ६७ प्रतिशतको अर्थ हुन्छ, सक्रिय काम गर्ने उमेर समूह (१५ देखि ६५ वर्ष) को जनसंख्या २ करोड । तीमध्ये ४० प्रतिशत त युवा अर्थात् १५ देखि ४० वर्ष उमेर समूहका नै हुनेछन् ।

नेपाल श्रमशक्ति सर्वेक्षण २०७५ अनुसार भने गण्डकीमा काम गर्ने उमेर समूह अर्थात् १८ देखि ५९ वर्ष उमेर समूहको १८ लाख ६८ हजार जनसंख्या छ । तीमध्ये ७ लाख ७० हजार पुरुष र १० लाख ९८ हजार महिला रहेका छन् । गण्डकी प्रदेशमा ९ प्रतिशत बेरोजगारी छ । श्रममा पुरुषको सहभागिता ४८.८ र महिलाको २६.५ प्रतिशत रहेको छ ।

गण्डकी प्रदेशले २०७५ सालमा प्रकाशित गरेको स्थितिपत्रमा भनिएको छ, ‘सबै वर्ष (२०४८, २०५८ र २०६८) मा, पुरुषको हकमा, २० वर्षदेखि ४० वर्ष उमेर समूहको जनसंख्या मुख्य उमेर समूहको तुलनामा चामत्कारिक रुपमा घटेको देखिन्छ भने महिलाको हकमा बिस्तारै घटेको देखिन्छ यसले खटेर काम गरी देशको आर्थिक विकासमा योगदान पु¥याउन सक्ने उमेर समूहका युवा पुरुषहरु महिलाको तुलनामा अत्यन्तै धेरै विदेशिएको इंगित गर्दछ ।

जनसंख्याको पिरामिडहरुले ७५ वर्ष वा सो बढी उमेर समूहको जनसंख्या बिस्तारै बढदै गएको पनि देखाउँछ, यसले आयु–संभाव्यता बढ्दै गएको इंगित गर्दछ ।’ यसको मतलव हो, अब ४ दशकसम्म मात्रै सक्रिय पुस्ता रहन्छ । त्यसपछि नेपाल नै वृद्धहरुको देश बन्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->