पोखरा/ पोखराको एयरपोर्ट नजिक बस्ने प्रेन्सा रेग्मीको जीवन एउटा घटनाले मोडिदियो । कोभिडकालीन समय थियो । डिजिटल पुस्ताकी प्रतिनिधि पात्र प्रेन्सा आफ्नै स्टेसनरी पसलमा बस्दै थिइन् । पसलमा सानी नानी कापी किन्न आइन् । प्रेन्साले महँगो कापी देखाइन् । नानीले सस्तो खोजिन् । सस्तो देखाउँदा अझ सस्तोको माग गरिन् ।
प्रेन्साले ती बालिकालाई सोधिन्‘तिम्रा बाबाआमा के गर्नुहुन्छ ? उत्तरमा उनले आफू ‘अनाथ’ भएको बताइन् ।
यही घटना प्रेन्साका लागि उत्प्रेरक बन्यो । उनले गरीबका लागि केही गर्ने अठोट गरिन् । यसको सुरुवात गरिन्, आफ्नै ‘खुत्रुके’ फुटाएर । खुत्रुकेमा १५ हजार रुपैयाँ थुप्रिएको रहेछ । उनले बुबा आमासँग थप १५ हजार मागिन् । कोरोनाको समयमा त्यति ठूलो रकम मागेपछि आमाबुबा छक्क परे । उनको कुरा सुनेपछि सुरुमा आमाबुबाले मानेनन् । आफ्नो छोरीलाई केही भइहाल्यो भने वा कोरोना संक्रमण भयो भने ? यो कुराले सतायो तर प्रेन्सा टसमस भइनन् । १५ हजार लिएरै छाडिन् । त्यो पैसाबाट उनले माक्स किनिन् । निशुल्क मास्क वितरण गर्न सुरु गरिन् ।
कोभिडका बेला मास्क नलगाउने मान्छेलाई कारबाही गर्दा नकारात्मक सन्देश जाने देखेर आफूले मास्क बाँडेको उनको भनाइ छ । पे्रन्सा अरुको आर्थिक सहयोगमा गरिने कामलाई समाजसेवा मान्दिनन् । उनी भन्छिन्,‘अरुसँग पैसा मागेर समाजको सेवा गरेजस्तो ग¥यो भने भोलिका दिनमा अरुले पैसा नदिए समाजसेवा रोकिन्छ । म आफ्नै बलबुतोमा अरुका लागि केही गर्न चाहन्छु ।’ लगत्तै उनले ‘फुड बैँक’ नाम दिएर खाद्यान्न वितरण थालिन् । पेन्सा अहिले त्यही अभियानका कारण सामाजिक व्यक्तित्व बनेकी छन् ।





