स्थानीय निर्वाचन २०७९ मा ५ हजार २५१ मत प्राप्त गर्दै प्रकाश तिवारी स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका अध्यक्ष चुनिए । नेपाली कांग्रेसबाट मैदानमा उत्रिएका उनले एमालेकी उम्मेदवार चिनमाया गुरुङलाई १ हजार ९४४ मतले पराजीत गरेका हुन् । भारतीय दूतावासको छात्रवृत्तिमा एमबीएसम्मको अध्ययन गरेका उनी जति वाचाल छन्,त्यति नै व्यावासायिक पनि ।
२२ वर्षको उमेरमा उद्यमी नेपालको अध्यक्ष, २४ वर्षमा ह्याथवे फाइनान्सको निर्देशक, २६ वर्षमा ¥याडिसन होटलको निर्देशक, एकाड फार्मास्युटीकल्सको निर्देशक, नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) बैंकिङ तथा बीमा समितिको केन्द्रीय सदस्य, एफएनसीसीआई कर तथा राजश्व समितिको केन्द्रीय सदस्य, एफएनसीसीआई एनआरएन र द्धिराष्ट्रिय समितिको केन्द्रीय सदस्य भइसकेका उनी व्यवसाय छाडेर राजनीतिमा होमिए ।
नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट स्याङ्जा क्षेत्र नं १(ख) प्रदेशको सभापति चुनिँदा उनले देशकै सबैभन्दा कान्छो प्रदेश सभापतिको परिचय बनाएका थिए । ३२ वर्षीय सेयर विश्लेषक तिवारी जनअनुमोदित भए । अर्जुन चौपारीलाई सुशासनको नमूना तथा विकासमा अब्बल बनाउने नारा दिएका उनले अध्यक्ष चुनिएसँगै केही रचनात्मक कामको थालनी गरेका छन् । ‘जनताको घरदैलोमै सेवा’ उनको नारा हो । सपथसँगै अपाङ्गको सेवामा खटिएका उनले सामाजिक सुरक्षा भत्ता घरमै पु¥याउने व्यवस्था मिलाएका छन् भने आफू सधैँ जनतासँगै हुने प्रतिवद्धता दोहो¥याएका छन् ।
कांग्रेस प्रदेश सभापतिको रुपमा पार्टीभित्र उनको हैसियत यत्तिकै माथि छ । नेपाली राजनीतिका समकालीन युवा पुस्तामा आशालाग्दा नेताको रुपमा चिनिन्छन्, प्रकाश । कांग्रेसको राजनीतिमा केन्द्रीय नेताहरुको आशीर्वाद अपरिहार्यजस्तै हुन्छ । केन्द्रमा पहुँचन नहुने नेताको राजनीतिक यात्रा सहज हुँदैन । प्रकाशको हकमा भने फरक छ । उनी केन्द्रीय राजनीतिमा पनि उत्तिकै पहुँचयुक्त मानिन्छन् । कांग्रेसका पूर्वउपसभापति गोपालमान श्रेष्ठको गृहजिल्लाका प्रकाश कांग्रेसका कोइराला परिवार निकट मानिन्छन् । गण्डकीले पछिल्लो समय प्रतिभावान नेता जन्माउन सकेको छैन । तर, पछिल्लो समय उदाएका युवाहरुले भने केही सम्भावना देखाएका छन् ।
‘राजनीतिक यात्रामा ठेस लागेन भने प्रकाशजस्ता युवाहरुको राजनीतिमा राम्रै भविष्य छ’,एक कांग्रेस नेता भन्छन्,‘त्यसको लागि संयमपूर्ण यात्रा भने जरुरी हुन्छ ।’जनप्रतिनिधिको रुपमा अब्बल सावित हुन सके उनको राजनीतिक यात्रा अझ सुनिश्चित हुनेछ । यसका लागि उनले जनतका आकांक्षाहरु पूरा गर्नैपर्छ । समकालीन नेपाली राजनीतिमा प्रतिभावान युवाहरुको कमी छ । पुरानो पुस्ताको दौराको फेरो समाउने,गुटमा रमाउनेभन्दा पृथक बन्न सजिलो छैन ।
त्यही चुनौतीपूर्ण राजनीतिक यात्रा पार गर्दामात्र प्रकाशको राजनीतिक यात्रा उज्यालो छ । ‘वाणिज्य शास्त्र पढेका प्रकाशसफलताको सिँढी चढ्न माहिर छन्’,उनीबारे टिप्पणी गर्दै एक कांग्रेस नेताले भने,‘ क्षेत्रीय सभापति त छँदैछन् तर पालिका प्रमुखको रुपमा प्राप्त सफलता वा असफलताले उनको राजनीतिक जीवन परिलक्षित हुन्छ,युवा भएकाले उनीसँग असफल हुने छुट चाहिँ छैन ।’





