बागलुङ – बिद्यामन्दिर पुस्तकालय बागलुङले १५ आंै पुस्तकालय दिवस साताव्यापी कार्यक्रमका भदौ ९ गतेदेखि १५गतेसम्म मनाउने भएको छ ।
‘पढौं पढाऔं, निरन्तर शिक्षाका लागि पुस्तकालय जाऔं’ भन्ने नारासहित साताव्यापी रुपमा पुस्तकालय दिवस मनाउने निर्णय भएको अध्यक्ष राम प्रसाद शर्माले वताए ।
भदौ ९ गते बजारका बिभिन्न चोकमा प्रचारात्मक नारा सहित व्यानर राख्ने, भदौ १० गते पुस्तकालयले सञ्चालन गरेको बाल विकास केन्द्रका बालबालिकाको स्वास्थ्य परीक्षण र शैक्षिक सामाग्री वितरण, भदौ ११ गते मोती जयन्ती मनाउने शनिवार वसेको पुस्तकालयको कार्य समितिले निर्णय गरेको छ ।
त्यसैगरी भदौ १२ गते अन्तर माध्यमिक विद्यालय स्तरिय चित्रकला प्रतियोगिता, भदौ १३ गते पुस्तकालय परीसरमा सरसफाई र बागलुङ कारागारमा पुस्तक हस्तान्तरण, भदौ १४ गते चित्रकला प्रर्दशनी र भदौ १५ गते गंगाप्रसाद स्मृतिकोषको पुरस्कार वितरण सहित मुल समारोह गर्ने पुस्तकालयका सचिव रामचन्द्र शर्माले जानकारी दिए ।
बिद्यामन्दिर पुस्तकालयको ७४औं साधारणसभा तथा ३६औं अधिवेशन आगामी असोज ८ गते गर्ने निर्णय भएको छ । अधिवेशन सम्पन्न गर्नका लागि पुस्तकालयका पुर्व अध्यक्ष ईश्वर प्रसाद श्रेष्ठको संयोजकत्वमा गोविन्द प्रसाद वझा र उत्तम प्रसाद श्रेष्ठ सदस्य रहेको निर्वाचन समिति गठन गरिएको छ ।
सो अवसरमा पुस्तकालयका कार्य समिति सदस्य अधिवक्ता काजी गाँउले श्रेष्ठ हालै वरिष्ठ अधिवक्ता हुनु भएकोमा अध्यक्ष शर्माले खादा लगाई बधाई शुभकामना दिए ।
बैठक पुस्तकालयका अध्यक्ष रामप्रसाद शर्माको अध्यक्षता र सचिव रामचन्द्र शर्माको संचालनमा सम्पन्न भएको थियो ।





