जोमसोम/गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले संघीयता कार्यान्वयनका क्रममा गण्डकी प्रदेश सरकारले उल्लेखनीय उपलब्धि हासिल गरेको जिकिर गरेका छन् । मुस्ताङबाट निर्वाचित जनप्रतिनिधि, जिल्लास्थित सरकारी कार्यालयका प्रमुख, अन्य संघ संस्थाका प्रमुखहरु सँगको अन्तक्रियाका क्रममा उनले उक्त कुरा बताएका हुन् ।
सीमित स्रोत, साधन र जनशक्ति भए पनि बाटोघाटो, पुलपुलेसा निर्माण, उज्यालो प्रदेश कार्यक्रमदेखि एक घर एक धाराजस्ता नमूना कार्यक्रमहरु सञ्चालनलाई उनले उपलब्धीको रुपमा अथ्र्याए । मुख्यमन्त्री पोखरेलले भने, ‘झट्ट हेर्दा प्रदेशले के काम ग¥यो भन्नेजस्तो लाग्ला, संघीयतालाई संस्थागत बनाउन जगदेखि नै काम थाल्नु कम चुनौतीपूर्ण थिएन, तै पनि हामीले सक्दो काम गरेका छौं ।’
पूर्वाधार मात्र नभएर सामाजिक क्षेत्रमा समेत प्रदेश सरकारले उल्लेखनीय काम गरेको भन्दै उनले काम गर्ने क्रममा भएका गल्ती कमजोरीलाई लिएर शासन व्यवस्थामाथि नै प्रश्न उठाउने बेला नभएको भनाई राखे ।
कार्यक्रममा आन्तरिक मामिला मन्त्री डोबाटे विश्वकर्माले प्रदेशले आफ्नो क्षमता अनुसार प्रहरीलाई स्रोत साधन सम्पन्न गराउनका लागि प्रयत्नरत रहेको भनाई राखे । विपद् व्यस्थापनका क्षेत्रमा समेत प्रदेशले सक्दो काम गर्दै आएको भन्दै मन्त्री विश्वकर्माले राहत तथा उद्धारका लागि जिल्ला प्रशासनसँग समन्वय भइरहेको बताए ।
कार्यक्रममा प्रतिनिधि सभा सदस्य प्रतिनिधि सभा सदस्य प्रेमप्रसाद तुलाचनले गण्डकीका ५ जिल्लामा कार्यक्षेत्र बनाएर काम गर्दै आएको अन्नपूर्ण क्षेत्र संरक्षण आयोजना (एक्याप) र पालिकाबीच नीतिगत विषयहरु बाझिएको भन्दै यो अवस्थाको अन्त्य हुनुपर्ने बताए ।
मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालयका सचिव रामप्रसाद आचार्यले जुन तहमा रहेर काम गरे पनि समन्वयात्मक रुपमा कार्यसम्पादन गर्न कर्मचारीलाई निर्देशन दिएका थिए ।
सो अवसरमा मुस्ताङका सहायक प्रमुख जिल्ला अधिकारी रामप्रसाद ढकालले जिल्लाको बस्तुस्थितिका बारेमा प्रस्तुती राखेका थिए । उनले भौगोलिक विकट भए पनि धार्मिक र पर्यटकीय महत्वको जिल्ला मुस्ताङमा शान्ति सुरक्षाको अवस्था सामान्य नै रहेको बताए । कालीगण्डकीको कटान, बाढीपहिरो, आगलागी र बेनी जोमसोम खण्डको काम पूरा नहुनुजस्ता समस्याले मुस्ताङवासी आक्रान्त भएको भनाइ उनले राखे ।
कार्यक्रममा प्रहरी प्रमुख डिएसपी रवीन्द्र पौडेलले सवारी साधनको कमी र हिमाली भेगमा प्रहरी कर्मचारीलाई प्रोत्साहन भत्ता कम भएको गुनासो गरेका थिए ।
उक्त अवसरमा घरपझोङ गाउँपालिका अध्यक्ष मोहनसिंह लालचन, बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका अध्यक्ष, जिल्ला समन्वय समिति उपसंयोजक आइतलाल थकालीले स्थानीय तहले भोग्नुपरेका समस्याका बारेमा सुनाएका थिए ।





