म्याग्दी/सशस्त्र द्वन्द्वकालमा घाइते भएका म्याग्दीका सुरेन्द्र खत्री र कृष्णलाल श्रेष्ठ युद्धमा दुबै पक्षबाट भोगेको पीडाको कथा बोकेर कर्णाली र सुदूरपश्चिमको यात्रामा छन् ।
बेनी नगरपालिका–८,पिपलचोकका खत्री २०६० चैत ७ र ८ गते बेनी आक्रमणमा आफूले भोगेको पीडा र फेरिएको जिन्दगी अनि६७ वर्षीय कृष्णलाल नयाँ पुस्तालाई कथाजस्तै लाग्ने सुरक्षाकर्मी र माओवादीबीच भिडन्तमा खुट्टाको आधा भाग गुमाएको कथा बोकेर यात्रामा निस्केका हुन् । उनीहरुले माओवादी जनयुद्धको प्रभाव रहेको जिल्ला मानिने कालिकोट, अछाम,डोटी र सुर्खेत जिल्लामा ‘युद्धका जीवित स्मृतिहरू’ नामक फोटो कथा प्रदर्शन गरेका छन् ।
जिल्ला अदालतका कार्यालय कर्मचारी कृष्णलालले ड्युटीमा रहेको अवस्थामा चैत्र ७ राति ११ बजेतिर माओवादीले बेनी आक्रमण सुरु ग¥यो । दोहोरो भिडन्त रातभर चल्यो । ८ गते बिहान शौचालय जाँदै गर्दा उनलाई तीनवटा गोली लाग्यो । उनी कार्यालयको मूल ढोकामै ढले । बमको छर्राले लाग्दा उने खुट्टा पनि गुमाए । बेनी भिडन्तले कृष्णलालको जिन्दगी भूमरीमा फस्यो । तीन महिनाको उपचारपछि कृत्रिम खुट्टा राखेर उनी अहिले नयाँ पुस्तालाई द्वन्द्वकालका घटनामा सर्वसाधारणले भोगेको नमीठो कथा मनभारी बनाएर पोख्छन् ।अपांगता, द्वन्द्वपीडित भएकाहरूको राष्ट्रिय सञ्जालको अध्यक्षसमेत रहेका सुरेन्द्र खत्री सशस्त्र द्वन्द्व समाप्तिपछि २०६३ असार १२ गते बाख्रा चराउन गोठालो गए। जंगलमा एउटा प्लास्टिकमा बेरेर छाडिएको वस्तु खेलौना सम्झेर चलाउँदा पड्किएर गम्भीर घाइते भए ।
उपचारका क्रममा मेरा दुवै हातका नाडीमुनिको भाग काटेपछि उनको सपना खोलामा पानी बगेजस्तै बग्यो भने जिन्दगीमा नमीठो संघर्षका यात्रा सुरू भए । दुवै हात गुमाउँदा संसार नै सकिएको अनुभव गरिरहेका पश्चिम म्याग्दीको मंगला गाउँपालिका–२, बावियाचौरका खत्रीतत्कालीन समयमा राज्य र विद्रोही कुनै पक्षमा नलागेर पीडित बनाइएका नागरिकको पीडा र मागसहितकथा र फोटो बोकेर कर्णाली र सुदूरपश्चिम यात्रामा छन् । कर्णालीका सुर्खेत र कालिकोटसँगै सुदूरपश्चिमकाअछाम,डोटी,डडेल्धुरा, कञ्चनपुरहुँदै कैलालीसम्म पुगेर प्रदर्शनी सकेपछि सुदू्र पश्चिमस्तरीय भेला सम्पन्न गरी फर्किने अध्यक्ष खत्रीले बताए।‘नयाँ पुस्तालाई कथाजस्तै लाग्ने रहेछ,यो यात्रा देशका सबै प्रदेशमा पुग्छ’, अध्यक्ष खत्रीले भने ।
उनले माओवादीले १० वर्षे यूद्धमा गरेका ९ वटा जिल्ला सदरमुकाम आक्रमणमध्ये सैन्यवल र व्यापकताको दृष्टिले सबैभन्दा ठूलो बेनी आक्रमण भएकाले बेनीका बारेमा धेरैले चासो राख्ने गरेको बताए । प्रदर्शनीमा भोगेका पीडा र समस्या, राज्यप्रतिका गुनासा र घटना विवरण शब्द, चित्र र अडियोमार्फत् सुनाउने गरिएको छ । राज्य र विद्रोही पक्षबाट खुसी लुटिएपनि हिम्मत जुटाएर समाजमा संघर्ष गरेर जिउन सक्छन् भन्ने सन्देश दिन प्रदर्शनी सफल भएको उनीहरुको भनाइ छ । ।





