बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

चल्दैनन बागलुङका आधाआधी होमस्टे

चल्दैनन बागलुङका आधाआधी होमस्टे


  • ढोरपाटन संवाददाता
  • भाद्र २८ २०७९, मंगलबार
फाइल तस्विर

बागलुङ/डिभिजन वन कार्यालय बागलुङबाट आर्थिक बर्ष २०७५/०७६ मा बागलुङका २८ वटा होमस्टेले १० लाख रुपैयाँको दरले अनुदान लगेका थिए । अनुदान लगेका होमस्टे कतिपय अहिले संचालनमै छैनन् ।

संचालनमा आउन नसकेकामध्ये बरेङको सिग्दी होमस्टे एक हो । रकम लगेर पूर्वाधारमा खर्चेपनि कोरोना संक्रमण कालमा संचालनमा नआएपछि अहिले पनि बन्द जस्तै भएको स्थानीयले बताए । ‘काम विशेषले गाउँका युवा रोजगारी खोज्दै पलायन भएपछि होमस्टे पनि बन्द भएको हो’ संचालक समितिका अध्यक्ष हिराबहादुर पुनले भने, ‘काम गरिदिने मानिस नभएपछि चलाउन मुस्किल भयो ।’ मगर संस्कृति देखाउने, अर्गानिक खाना खुवाउने भन्ने नाम कमाएको होमस्टे एकडेढ बर्ष चल्न नपाइ बन्द भएपछि बरेङ गाउँपालिका भित्रै होमस्टेको मज्जा लिने ठाउँ कतैपनि नभएको गाउँपाालिका उपाध्यक्ष दिलीपकुमार पुनले बताए ।

अनुदान लगेर संचालनमा रहेपनि प्रदेश सांसद दिलमाया रोका अध्यक्ष रहेको ताराखोला रेम्बोट्राउट होमस्टे कार्यविधि बिपतिर संचालन भएको डिभिजन वन अधिृकृत मुकुन्दप्रसाद अधिकारीले बताए । ‘कसैको व्यक्तिगत फर्मकालागि अनुदान दिन मिल्थेन, तर दिइएको छ, यो कार्यविधि विपरीत हो’ अधिकारीले भने, ‘होमस्टे संचालनकालागि मद्दत पुग्ने गरी सामुदायिक हितमा खर्चनु पर्ने रकम व्यक्तिको फर्ममा लगाइएको छ ।’ उनले जिल्लाका अन्य होमस्टेमा पनि कार्यविधि बिपरित रकम खर्च भएको टिप्पणी गरे ।

जैमिनी नगरपालिका १० को राङखानी होमस्टेमा बल्ल सामुदायिक भवन बन्दै गरेको होमस्टे संचालक समितिका अध्यक्ष लालबहादुर पुनले बताए । ‘चार बर्ष अघि काम थालेपनि बल्ल पुरा हुँदैछ, अहिले सम्म पाहुना राख्न सकेका छैनौं’ पुनले भने, ‘तीन घरमा होमस्टे संचालन गर्ने योजना छ ।’ यसअघि पाहुना पुग्दा यहाँ बस्ने ठाउँसमेत नपाएको गुनासो बढेको थियो । यो होमस्टेमा त प्रदेश सरकारको २० लाख लगानी भैसकेको छ ।

गलकोट नगरपालिका २ को तोरीखोला होमस्टेले भने १० घरमा ५० जनासम्म पाहुना राख्न सक्ने व्यवस्था गरेको छ । तोरीखोला पुग्ने पाहुनालाई स्वागत र बिदाइ गर्ने चलन पनि छ । सांस्कृतिक क्रियाकलाप देखाउने, अर्गानिक खाना खुवाउने व्यवस्था गरिएको अध्यक्ष कुमार पुनले बताए । कतै बन्द भएपनि हाम्रोमा व्यवस्थित बन्दै गएको छ’ वडा अध्यक्ष हिमबहादुर भण्डारीले भने, ‘काम गर्ने जाँगर भएकालाई अनुदान दिने हो, समिति बनेकै आधारमा दिन हुँदैन ।’ प्रदेश सरकारबाट जिल्लाका २८ वटा होमस्टेले १० लाखको दरले २ करोड ८० लाख अनुदान लगेपनि अधिकांस दुरुपयोग भएको टिप्प्णी बढेको छ ।

‘सबै प्रक्रिया प्रदेशमै पु¥याएर बजेट मात्रै हामीले पठाएका थियौं’, अधिकारीले भने, ‘त्यपछि हामीले हेर्न छाडेका छौं, अनुगमनको काम पालिकालाई छ, अनुदान पर्यटन कार्यालय मार्फत दिइएको छ ।’ बागलुङमा पर्यटन कार्यालय नभएकोले थप अनुदान लानेले पोखरा पुग्ने गरेका छन् ।

भकुण्डेस्थित अतिथि सत्कार होमस्टेमा १० घरले पाहुना राख्ने गरेका छन् । ताराखोलाको किकल्टा होमस्टे, काठेखोला ३ को बेलढुंगा होमस्टे लगायतका केहीले मात्रै सामुदायिक भवन बनाएको, पाहुना कोठा, सरसफाइलगायतका व्यवस्थापन गरेको अनुगमनको क्रममा भेटेको अधिकारीले बताए । पालिकातहबाटपनि भएका अनुगमनमा अधिकांसलाई सुधार गर्न सुझाव दिएको जनप्रतिनिधिले बताए । ढोरपाटन नगरपालिकामा मात्रै ६ वटा होमस्टेले अनुदान लगेका छन् । तर अधिकांश संचालनमा नआएको स्थानीयले बताए । निसीखोलाको अर्नाकोट होमस्टे संचालनमा आएको र अन्यमा बजेट लगेर संचालन नभएको गाउपालिका अध्यक्ष सूर्यबहादुर घर्तीले बताए । सबैलाई संचालन गर्न आवश्यक पूर्वाधार बनाउन र सरसफाइका सूचक पनि पूरा गर्न निर्देशन दिएको उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->