बागलुङ/पहिरोले बिस्थापित भएका बागलुङ नगरपालिका ११ रायडाँडाका बासिन्दालाई मंगलवार नेपाल रेडक्रस सोसाइटी बागलुङ शाखाले राहत बितरण गरेको छ ।
साता अघि खसेको पहिरोले रायडाँडाको तल्लो रामतोलामा ११ घरहरु बिस्थापित भएका थिए । उनीहरु छिमेकीको घरमा आश्रय लिएर बसेका छन् । पीडितलाई पानी ओत्ने पाल र अत्यावस्यक सामाग्री बितरण गरिएको रेडक्रसका सभापति जब्बरबहादुर लामिछानेले बताए ।
सोही अबसरमा बागलुङ नगरपालिकाले पीडितलाई दैनिक उपभोग्य बस्तुको रुपमा चामल, दाल, नून तेल लगायतको खाद्यान्न बितरण गरिएको वडा अध्यक्ष ज्ञानेन्द्र गौतमले बताए । घटनाको बारेमा प्रहरीले मंगलवार मुचुल्का पनि उठाएको छ । घटनाबारे यस अघि नगरपालिका, दैविप्रकोप उद्दार समिति र सुरक्षा निकाय समेतले अनुगमन गरेको थियो । पहिरो खस्दा यहाँको बिद्युत र पानी आपूर्तिमा समस्या भएको छ । साथै किसानको बारीमा लगाएका सुन्तलाका बिरुवा नष्ट भएका छन् । बारीमा लगाएको कोदो लगायतका अन्न पनि नष्ट भएको छ । पहिरोले जोखिम भएपछि गाउँलेहरु त्रसिद छन् ।





