
बेनी/ आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा म्याग्दीमा ८६ हजारभन्दा बढी मतदाताले भोट हाल्ने भएका छन् । जिल्ला निर्वाचन कार्यालयका अनुसार मंसिर चार गते सम्पन्न हुने निर्वाचनमा म्याग्दीमा कुल ८६ हजार १२० जना मतदात कायम भएका छन् ।
निर्वाचन कार्यालयका प्रमुख भिमप्रसाद घिमिरेका अनुसार स्थानीय तहको निर्वाचनपछि करिब ७ सय ४५ जना नयाँ मतदाता थपिएसँगै ४४ हजार ६४ महिला, ४२ हजार ५५ जना पुरुष र एकजना तेस्रोलिङ्गी मतदाता कायम भएको छ । ‘निर्वाचनको आवश्यक तयारीमा जुटेका छौं,सबैजसो पालिकामा नयाँ मतदाता थपिएका छन्’, प्रमुख घिमिरेले भने ।
एक नगरपालिकासहित पाँचवटा गाउँपालिका रहेको म्याग्दीको बेनी नगरपालिकाको हरेक स्थानीय तहको कूल मतदाता संख्यासहितको विवरण सार्वजनिक गरिने निर्वाचन अधिकृत घिमिरेले बताए । गएको वैशाख ३० गते सम्पन्न स्थानीय तहको चुनावमा म्याग्दीमा कुल ८५ हजार ३७५ मतदाता रहेका थिए । यसैबीच भौगोलिक कठिनाइ, मतदाताको संख्यालगायत विभिन्न कारणलाई मध्यनजर गरी चार वटा गाउँपालिकाको ६ स्थानमा नयाँ मतदान केन्द्र थपिएको छ ।
जिल्लाको मंगला गाउँपालिका वडा नं १ पूर्णगाउँ, वडा नं ५ सिर्कुम, धवलागिरी गाउँपालिका वडा नं ४ म्ुदीको बगर, वडा नं ७ धारापानी, रघुगंगा गाउँपालिका वडा नं २ खौरेटा, वडा नं ३ हिमालय आधारभुत विद्यालय र अन्नपूर्ण गाउँपालिका वडा नं ६ पोखरेबगर र वडा नं ८ काँफडाँडामा नयाँ मतदान केन्द्र कायम गरिएको छ । हरेक निर्वाचनमा करिब एकदिनको पैदलयात्रा गरी खिवाङको मतदान केन्द्रमा आउनुपर्ने बाध्यताबाट यसपटक मुदीको बगर आसपासका बासिन्दा मुक्त भएका छन् ।
निर्वाचन कार्यालयका प्रमुख घिमिरेका अनुसार मतदान स्थल मतदाताको आधारमा थप गरिने बताए । ‘मतदानस्थल थपिन्छ, अहिले नयाँ मतदान केन्द्र थपिएको छ’, प्रमुख घिमिरेले भने । जिल्लामा थपिएका मतदान केन्द्र गरी ८२ पुगेको छ भने हाल ११९ मतदान स्थल रहेको छ।निर्वाचनमा हुने जाखिमको पहिचान गर्न उच्च संवेदनशील, संवेदनशील र सामान्य गरेर स्थलगत अनुगमनपछि मतदान केन्द्र समेत विभाजन गरिने छ।





