बागलुङ /नेपालमा ओशो तपोवनका संस्थापक, आध्यात्मिक गुरु बोधिसत्व स्वामी आनन्द अरुणले नेपाल प्रसस्त सम्भावना बोकेको देश भएर पनि ‘कनेक्टीभीटी’नभएका कारण गरीब मुलुकमा परिणत भएको बताएका छन् । जलविद्युत र पर्यटन क्षेत्रमा प्रसस्त सम्भावना बोकेको देश प्रचार प्रसार र व्यवस्थापनको अभावमा आर्थिक उन्नति गर्नबाट बञ्चित रहेको उनको भनाइ थियो ।
‘हामीभन्दा गरीब रहेका कयौं देशहरु आफूलाई सिद्ध गरेर विकसित भइसके, भुटान र चीनलाई हेर्दा पुग्छ’, आनन्द अरुणले भने ‘हामीसँग ‘कनेक्टीभीटी’ नभएका कारण हामिले आर्थिक उन्नती गर्न सकेका छैनौं ।’
ओशो अमृतम ध्यान केन्द्र बागलुङले आयोजना गरेको जीवनोपयोगी आध्यामिक सत्संग कार्यक्रममा प्रवचनका लागि बागलुङ आएका स्वामी आनन्द अरुणले धर्मसँगै कर्मलाई अघि बढाउनुपर्नेमा जोड दिए । ‘प्राय धर्मगुरुहरु माग्न सिकाउनुहुन्छ, तर हामी माग्न होइन, आर्जन गरेर बाँढ्न सिकाउँछौं’, उनले भने ‘हामी सम्पन्न नभइ, अरुलाई सम्पन्न बनाउन सक्दैनौं ।’ धार्मिक प्रवचनकै क्रममा उनले नेपालमा रहेको महंगी जनताले धान्नै नसक्ने रहेको बताए । उनले संसारका विकसित देशमा भन्दा नेपालमा तीन गुणा कम आम्दानी र तीन गुणा बढी महंगी रहेको जिकीर गरे ।
‘यहाँ जग्गाको भाउ हेर्नुहोस्, अमेरिकाको मुख्य शहरमा पनि यति धेरै महंगो जग्गा छैन्’ उनले भने ‘खै कसरी धानिएको छ देश, धन्न पशुपतिनाथको कृपाले यहाँको अर्थतन्त्र धानिएको छ ।’ उनले पर्यावरण जोगाउनकै लागि हरेक वर्ष एकजना व्यक्तिले पाँच वटा रुख रोप्न आग्रह गरे । उनले रोग र व्यादबाट बँच्नका लागि योग, ध्यान र साधनाको आवश्यकता रहेको भन्दै हरेक दिन पाँच प्रतिशत समय योग ध्यान र साधनाका लागि छुट्टयाउन आग्रह गरे । बागलुङमा योग, ध्यान साधनाका लागि उपयुक्त सभाहल निर्माण गर्नुपर्ने भन्दै स्वामी आनन्द अरुणले त्यसका लागि आवश्यक जग्गाको प्रबन्ध गरिदिन बागलुङ नगरपालिकासँग आग्रहसमेत गरे ।
ओशो रजनीशबाट ज्ञान प्राप्त गरेका स्वामी आनन्द अरुणलाई बागलुङमा ल्याएर सत्संग कार्यक्रम गर्न लगाइएको हो । उनलाई बागलुङमा पञ्चकन्या, लाखे नाँच, नौमति बाजा र नेवारी संस्कृति अनुसार भव्य स्वागत गरिएको थियो । आनन्द अरुणका सन्यासीहरुले आनन्द अरुणको जयजयकार गर्दै बागलुङमा स्वागत गरेका थिए । उनी सोमबारनै बागलुङबाट पोखरा फर्किएका छन् ।





