म्याग्दी/ पश्चिम म्याग्दीको मालिका गाउँपालिका–४ लामखोराकी ९ बर्षिया बालिका घरभित्र आफ्नै सलले घाँटीमा पासो लगाएर आत्महत्या गरिन् । मंगला गाउँपालिका–५ सिर्कुममा १३ बर्षिय बालकले गोठको भुईतलामा गएर आत्महत्याको बाटो रोजे ।
कपीकलम, झोला लिएर विद्यालय गए भनेर ढुक्क भएका अभिभावकले आफ्नै कोखबाट जन्मिएको छोराछोरीलाई पासोमा देख्नुपरेको छ । मृत्युको कारण नखुलेपनि क्षणिक आवेगमा आएर मृत्यु रोजेको हुनसक्ने प्रहरीले घटनाबारे तयार पारेको स्थलगत मुचुल्कको नोटमा देखिन्छ । यी दुई वटा प्रतिनिधिमुलक घटना मात्र हुन् ।
कलिलै उमेरमा आत्महत्या गर्नुको प्रमुख कारण विभिन्न फिल्मीमा आत्महत्या गर्ने खोजेपछि परिवारबाट आफ्ना माग पुरा भएका घटनाको सिको, अनुभव लिन, रिस थाम्नै नसकेर, परिवार र समाजबाट अपमानित हुनु, परीक्षामा फेल, प्रेममा असफल लगायतका कारणले आत्महत्या हुने गरेको प्रहरीको तथ्याङ्कले देखाउँछ ।
आर्थिक बर्ष २०७८÷७९ मा आत्महत्या गर्ने ३१ जनामा १८ बर्षमुनिका १ बालिका, २ बालक, १९–२५ उमेर समुहमा ३ महिला, ५ पुरुष छन् । पछिल्लो तीनबर्षको तथ्याङ्क हेर्दा म्याग्दीमा गतबर्ष सानो पासोमा जिवनको अन्त्य गर्ने संख्यामा तीनबर्ष यताकै रेकर्ड राखेको छ । झुन्डी, विष सेवन, हामफाली ज्यान गुमाउनेले हालसम्म आत्महत्या न्युनिकरण गर्न सहरदेखी गाउँसम्म सञ्चालन गरिएका जनचेतनामुलक कार्यक्रम, मनोबैज्ञानिक परामर्श लगायत विभिन्न कार्यक्रमहरूलाई चुनौती दिएको छ ।
‘कलिलो उमेरका बालबालिका आत्महत्या गर्ने अवस्थामा कसरी पुगे भन्ने अनुसन्धानको विषय बनाउनुपर्छ, हरेक बर्षको तथ्याङ्कमा कलिला अनुहार भेटिन्छन्’ म्याग्दीका प्रहरी नायव उपरीक्षक तिलक भारतीले भने । कलिला बालबालिकादेखि ७०–८० बर्षका बृद्धबृद्धाले आफैले जानी–जानी गरिने आफ्नै हत्याले डरलाग्दो सामाजिक समस्या बनेको उनले बताए ।
कलिलो उमेरका बालबालिकाले आत्महत्या गर्नुको कारण खोतल्न चुनौती खडा भएपनि अशिक्षा, अनिच्छित गर्भधारण, मानसिक रोगीलाई उपचारको अभाव, गरिबी, घरायसी कलह, युवापुस्ताका मासिनसमा उच्च महत्वकांक्षा पुरा गर्न नसकेको, प्रेममा असफल, बैदेशिक रोजगारमा गएको बेला श्रीमतीले परपुरुषसँग गर्ने अनैतिक सम्बन्ध, सम्पत्तीको अपचलन, पारिवारिक सम्बन्धमा आएको तिक्तता जस्ता कारणहरू रहेको बताइन्छ ।
जिल्ला प्रहरी कार्यालय म्याग्दीले आइतबार सदरमुकाम बेनीमा आयोजना गरेको आत्महत्या न्यूनिकरण तथा रोकथाम सम्बन्धि कार्यक्रममा बोल्ने सरोकारवाला निकायका प्रतिनिधिले समेत हरेक बर्ष आत्महत्या गर्नेको संख्या बढ्न थालेपछि चिन्ता ब्यक्त गरेका थिए ।
विद्यार्थी, सरोकारवाला निकायका प्रतिनिधिहरुको सहभागिता रहेको कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापा, बेनी नगरपालिकाका मेयर सुरत केसी, प्रमुख जिल्ला अधिकारी चिरञ्जीवि राना, जिल्ला सहन्यायधिवक्ता जिवनाथ सुबेदी, जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख एकनारायण लम्साल, बेनी अस्पतालकी प्रमुख डा. भारती मेहताले मानसिक स्वास्थ्यलाई बुझेर उपचार एवं मनोपरामर्शमा ध्यान दिनसके आत्महत्याको न्यूनिकरण हुने बताएका थिए ।
आत्महत्यालाई अन्तिम बाटो रोज्ने अवस्थाका मानिसनले विभिन्न संकेत छोड्ने गरेपनि हेल्चेक्राइले दुर्घटना निम्तिने गरेको बताए । जीवनमा एक सेकेन्डले पनि परिवर्तन सम्भव छ भन्ने सन्देश प्रवाह गर्न सकिएमा आत्महत्या रोक्न सकिने भएकाले एक पटक आत्महत्याको प्रयास गरेको मान्छेले फेरि प्रयास गर्ने सम्भावना बढी हुने भएकाले एकपल्ट टर्यो भनेर परिवारका सदस्यले सामान्य रूपमा लिन नहुने चिकित्सकको भनाई छ ।
विभिन्न अनुसन्धानका आधारमा जिल्लाका करिब १५–२० प्रतिशत आत्महत्या गर्नेले पटक–पटक प्रयास गरेको देखिन्छ । आत्महत्या गर्न खोज्नेलाई सबैभन्दा धेरै माया गर्ने, एक्लो महसुस हुन नदिने, प्रशंसाको समेत आवश्यकता पर्ने परामर्शदाता बताउँछन् ।
आत्महत्या गर्नेमा पुरुष धेरै
म्याग्दीमा जीवनप्रति चरम निराशाको भाव भएको अवस्थामा आत्महत्या रोज्नेमा महिलाभन्दा पुरुष धेरै देखिन्छन् । आव ०७८/०७९ मा आत्महत्या गर्ने ३१ जनामा पुरुष २१ जना, महिला ८, बालबालिका २ जना छन् । मानसिक बिचलनबाट १४, मानसिक सन्तुलन गुमाएर ६ जना, दिर्घरोगी ७ जना, प्रेममा असफल र गरिबी २ ले आत्महत्या गरेको प्रहरीको विश्लेषण छ । पुस महिनाबाहेक अन्य महिनामा १ देखि ३ जनासम्मले आत्महत्या गरेको देखिन्छ । १९ देखि ४५ वर्ष भित्र उमेरका मानिसहरु आत्महत्याको शिकार बनेका छन् । मानसिक बिचलनका कारण यो उमेरका पुरुष छन् ।
आत्महत्या गर्नबाट जोगाउन सकिन्छ
आत्महत्या गर्ने सोच आइरहेका व्यक्ति चिन्न सकिन्छ र उनीहरूलाई त्यो भयावह घटनाबाट बचाउन सकिन्छ भन्ने विषय धेरैलाई थाहा छैन । बेनी अस्पतालमा करिब तीनबर्ष कार्यरत भई हाल काठमाण्डौमा रहेका डा. धिरेन मल्लले जीवनप्रति चरम निराशाको भाव भएकाले आत्महत्या रोज्ने गरेको बताए । ‘धर्य गर्ने क्षमताको विकास नहुदाँ क्षणभरको निर्णयमा आत्महत्या गर्छन्’ डा.मल्लले भने । उनले कुनै पनि कारणले आत्महत्या गर्ने सोच आएका व्यक्तिलाई बचाउन सकिने बताउँछन् ।





