बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

एक वर्षमा पनि भेटिएन जन्मदर्ता !

एक वर्षमा पनि भेटिएन जन्मदर्ता !


  • ढोरपाटन संवाददाता
  • असोज १२ २०७९, बुधबार

बागलुङ/अदालतको पत्र चलानी भएको गत कात्तिक ११ गते हो । त्यसको एक महिना अघिनै पक्राउ परेका एक बालक अझै कारागारमा छन् । एक बर्षदेखि कागजात नभएकै कारण ती बालक पुर्पक्षका लागि कारागारमा छन् ।

चोरी आरोपमा प्रहरीले पक्राउ गरेपछि अदालते ती बालकलाई जेल पठाएको हो । ढोरपाटन नगरपालिका–९ सुपुर्दुङका बिसाल घर्तीको जन्मदर्ता नभएकै कारण उनको मुद्दामा सुनुवाइ नभएर जेल जानुपरेको हो ।

अदालतले जन्मदर्ता खुलाएर पठाइदिनु भन्ने व्यहोराको पत्र वडा कार्यालयमा प्राप्त नभएको वडा नं. ९ का सचिव थमप्रसाद घर्तीले बताए । उनले पत्र आएको बारे थाहा नपाएको भन्दै अदालतको ताकेता पनि जानकारी नभएको बताए । पटक पटक पेशी तोकिएर पनि घर्तीको जन्मदर्ता खुल्ने कागजात नभएपछि फेरी कारागारमै बस्न बाध्य भएका छन् ।

ती बालकले अहिले सत्र बर्ष पुगेको बताएका छन् । गत बर्ष पक्राउ पर्दा उनी १६ बर्षका थिए । ढोरपाटन–९ का तुलबहादुर बिकको जाहेरीले घर्ती पक्राउ परेका थिए । बिकको पसलको ४ लाख रुपैयाँ चोरेको आरोपमा घर्तीलाई प्रहरीले पक्रेको थियो । प्रहरीले उनको साथबाट रकम भने भेटेको थिएन ।

जेलमा परेका घर्ती बालबालिका समूहमा पर्छन् । तर अदालतले उनको मुद्दामा उमेर ३६ बर्ष बनाएर कारागारमा पुर्पक्षका लागि थुनामा पठाएको छ । गत कात्तिक ११ गते पुर्पक्ष पठाएको पत्र अदालतमा भने केरेर १८ बर्ष बनाइएको छ । कारागारका प्रमुख डिलबहादुर केसीले उनी ३६ बर्षको भनेर अदालतले पत्र पठाएको बताए ।

जिल्ला अदालतका तहसिलदार जगतबहादुर भण्डारीले कागजात ३६ भनेर आएको र पछि १८ बर्षको भनिएपछि केरेर सच्याएको बताए । ‘यकिन जन्मदर्ता कागज नभएसम्म उनको उमेर थाहा पाउन सकिंदैन’ भण्डारीले भने, ‘वडा कार्यालयलाई पत्र पठाएको जवाफ नआएपछि ती बालकको सुनुवाइ नहुने भएको हो ।

चोरी ठहर भएपनि ती बालक बाल सुधार गृहमा पठाइनु पर्ने अबस्था छ । कागजातले भने उनले एक बर्ष कैद भुक्तान गरिसक्न लागेका छन् । घर्तीको घर केही बर्षअघि आगलागी भएकोले घरमा काजगात छैन । घर्तीले पढेको सरस्वती आधारभूत बिद्यालय तीन बर्ष अघिको भुजीखोला पहिरोले बगायो । उक्त बिद्यालयमा पनि आवस्यक कागजात छैनन् । उनले कक्षा ६ सम्म मात्रै पढेको बताए । बिसालपछि जन्मेका अर्का छोरा ११ बर्षको घरैमा रहेको बिसालकी आमा उजेलीले बताइन् । कानून व्यवसायी हरिप्रसाद गौतमले उनी बालक भएकोले सुधार गृह पठाउन माग गरेपनि अदालतले कारागार पठाएको हो ।

कागजात नभेटेपछि उनको दाँत परीक्षण भएको थियो । दाँत परीक्षणमा १३ देखि १९ बर्षको भनेर लेखिएको छ । कारागारका प्रमुख डिलबहादुर केसीले पनि उसको बानी व्यवहारले बालक नै भएको बताए । जिल्ला न्यायाधिस दिवाकर भट्टले बालबालिकाको मुद्दामा अदालत लचिलो बन्ने बताए । अहिले अदालत बन्द छ । असोजको २३ गते मात्रै खुल्ने अदालतमा उनको कागजात आएमा मुद्दा पेशी चढ्छ नत्र अझै कति दिन जेलमै बसेर कुर्नुपर्ने थाहा नभएको अधिवक्ता हरिप्रसाद गौतमले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->