पोखरा/ नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले गण्डकी प्रदेशका मुख्यमन्त्रीका रुपमा अर्का नेता जमिन्द्रमान घलेलाई प्रस्ताव गरेका छन् । गण्डकीमा एमालेले एकल सरकार बनाउने संभावना रहेको दाबी गर्दै उनले उक्त प्रस्ताव गरेका हुन् ।
गण्डकीको मुख्यमन्त्री बन्ने दाबीसहित संगठन विभाग प्रमुख खगराज अधिकारी कास्की– १ कबाट उम्मेदवार बनेका छन् । उनले उम्मेदवारी दिएपछि आफु गण्डकीको सिनियर नेता भएकाले मुख्यमन्त्रीमा पार्टीले आफूलाई अघि सार्ने बताएका थिए ।
चाडपर्वका अवसरमा एमाले लमजुङले सोमबार बेसीशहरमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उनले लमजुङको तीनवटै क्षेत्र जित्नुपर्ने बताए । लमजुङमा प्रतिनिधी सभामा एउटा र प्रदेश सभामा दुइवटा क्षेत्र छन् ।
लमजुङबाट प्रदेश सभा ‘क’का उम्मेदवार जमिन्द्र संविधान सभा सदस्य, जिल्ला विकास समितिका पूर्व सभापति र पार्टी केन्द्रिय सदस्य रहेको भन्दै उनले जिताउन आग्रह गरे । यस्तै, प्रदेश सभा खका उम्मेदवार कृष्णप्रसाद अधिकारी तत्कालीन गाविस अध्यक्ष र पार्टीका जिल्ला अध्यक्ष भएकाले जिताउन आग्रह गरे ।
जमिन्द्रलाई इंगित गर्दै गुरुङले भने,‘लमजुङबाट २ वटै प्रदेश र समानुपातिकको २ जना उम्मेदवारले जित्न सक्यौं भने प्रदेशमा राम्रो स्थान बनाउन सक्छ, भन्न सकिन्न, भोली मुख्यमन्त्री हुन सक्छ ।’
यसअघि जमिन्द्र प्रतिनिधी सभामा उठ्न चाहेका थिए । एमाले लमजुङले पनि उनलाई संघीय सांसद उम्मेदवार बनाउन सिफारिस गरेको थियो भने गुरुङलाई लमजुङ खबाट प्रदेश सांसदमा सिफारिस भएका थिए । तर उनीहरुको इच्छा विपरित अध्यक्ष ओलीले उपमहासचिव गुरुङलाई प्रतिनिधिसभा र जमिन्द्रलाई प्रदेश सांसदको टिकट दिएका थिए ।
मुख्यमन्त्री बन्न नसकेको अवस्थामा प्रदेश सरकारमा राम्रो स्थान पाउने गुरुङले ठोकुवा गरे । गण्डकीका पूर्व मुख्यमन्त्रीसमेत रहेका गुरुङले भने, ‘मुख्यमन्त्री हुन सकेन भने पनि गण्डकीको महत्वपूर्ण पोर्टफोलियो लिएर प्रतिनिधित्व गर्छ, यो विश्वास दिलाउन चाहन्छु ।’
गण्डकीमा एमालेले एकल बहुमत ल्याउन सक्ने गणित पनि गुरुङले सुनाए । प्रत्यक्षतर्फ एमालेले २२ सिट र समानुपातिक तर्फ ११ सिट जित्ने उनको दाबी छ । कांग्रेस, माओवादी लगायतका दलले भने २०७४ मा पाएको भन्दा कम मत ल्याउने गुरुङले दाबी गरे ।
गण्डकी सरकारको मुख्यमन्त्री भएर ३४ महिना काम गर्दा धेरै संरचना बनाएका र अझै धेरै काम गर्न बाँकी रहेकाले आफु प्रदेशमा उठ्ने चाहना राखेको गुरुङले बताए । तर अध्यक्ष ओलीको भनाई उदृत गर्दै उनले भने, ‘विशेषगरी अध्यक्षले तपाइको भूमिका केन्द्रमा आवश्यक छ भनेर प्रतिनिधी सभामा उठ्न आग्रह गर्नुभयो, त्यसपछि प्रदेशमा इच्छा हुँदाहुँदै पनि म गर्वका साथ प्रतिनिधिसभा उम्मेदवार बनेको हुँ ।’





