पोखरा/वर्षा सकिने बेला फेवाताल जहिलेपनि जलकुम्भीले ढाकिन्छ । हरेक वर्ष सामाजिकसंस्थादेखि एनजिओ आइएनजिओले मिलेर जलकुम्भी हटाउँछन ।
प्रविधीको माध्यमबाट ताल सफा गर्ने भनेर महानगरको तत्कालीन नेतृत्वले २०७४ माघमा क्यानडाबाट झार हटाउने मेसिन खरिद ग¥यो ।
महानगरपालिकाको ७५ लाख र निर्वाचन क्षेत्र विकास कोषबाट तत्कालीन सांसद रविन्द्र अधिकारीले ५० लाख रुपैयाँ बजेट विनियोजन गरि १ करोड २५ लाख रुपैयाँमा मेसिन झिकाइएको थियो ।
फेवातालको जलकुम्भी हटाउन तामझामका साथ केही समय मेसिनको प्रयोग पनि भयो । तर, फेवातालपछि बेगनास ताल सफा गर्ने क्रममा पानीमा डुबेपछि मेसिन बिग्रियो । उक्त मेसिन बिग्रिएपछि हालसम्म बनेको छैन भने मेसिनलाई आवश्यक पर्ने नोजल चाहिँ नेपालमा नै पाइँदैन ।
महानगरले झार झिक्ने र त्यसलाई कम्पोष्ट मल बनाउन प्रयोग गर्ने गरि एक्वाइटिक प्लान्ट हार्वेस्टिङ मेसिन ल्याएको थियो ।
तर, पहिलो वर्ष काम गरेतापनि पछिल्लो पाँच वर्षयता मेसिन थन्किएको छ, तालको जलकुम्भी हातले नै हटाउने गरिएको छ ।
क्यानडाबाट नै उक्त सामान झिकाउनुपर्ने पोखरा महानगरका मेयर धनराज आचार्यले बताउँछन ।
मेसिन बिग्रिएपछि त्यसको मर्मत इन्जिनियरिङ अध्ययन संस्थान र आविष्कार केन्द्रले गर्ने भनिएको थियो । तर, मेसिनको उपकरण स्वदेशमा नपाउने भएका कारण मर्मतकार्य पूर्णरुपमा सकिएको छैन ।
पूर्णरुपमा मर्मत नभएपछि मेसिनले पूर्णक्षमतामा काम गर्न नसक्ने र इन्धन खपत बढि हुने मेयर आचार्यले बताए ।
मेसिन बिग्रेपछि चाहिँ महानगरले मंगलबार बृहत फेवाताल सरसफाई अभियान चलाएको छ । नवौँ राष्ट्रिय खेलकुदको पूर्वसन्ध्यामा महानगरले तालको जलकुम्भी हटाउन सहकारी संस्थाहरुलाई सहभागी हुन अपिल गरेको थियो ।
तालक्षेत्रमा पर्ने ड्यामसाइडदेखि चंखपुरसम्म विभिन्न ३३ वटा प्वाइन्ट तोकेर महानगरले सहकारी, सुरक्षा निकाय, लायन्स क्लव लगायतका सामाजिक संघसंस्थाले सहभागिता जनाउँदै जलकुम्भी सफा गरिएको छ ।
नागरिक समाज, आमासमुह, टोल विकास संस्था, युवा क्लब, विभिन्न सरकारी तथा गैरसरकारी सङ्घ संस्थाहरू, सहकारी संस्थाहरू, बैङ्क तथा वित्तीय संस्थाहरू, राजनीतिक दल, सुरक्षा निकाय, जनप्रतिनिधि, उद्योगी व्यवसायी, पर्यटन सम्बद्ध सङ्घसंस्थाहरू पनि अभियानमा सहभागी थिए ।
तालको जलकुम्भी हटाउन मंसिर ४ गतेको प्रतिनिधीसभा निर्वाचनका उमेदवार श्रीनाथ बराल पनि पुगेका थिए । उनी कास्की २ बाट गठबन्धनका साझा उमेदवार हुन । यो क्षेत्र नेकपा एकीकृत समाजवादीको भागमा परेको छ ।
महानगरले किनेको मेसिन पूर्णक्षमतामा प्रयोग नभएतापनि मत्स्य अनुसन्धान विकास केन्द्र परिसरमा त्यसलाई प्रयोग गरिएको थियो ।
“मेसिनले तालको जलकुम्भी त कलेक्ट ग¥यो, तर त्यसलाई लगेर फाल्ने काम चाहिँ म्यानुअल गर्नुप¥यो ।” आचार्यले भने ।
महानगरपालिकाले फेवातालबारे सर्वोच्चको अन्तिम फैसला नआउँदासम्म तालको ६५ मिटर भित्र कुनै संरचना नबनाउन र बनाउन नदिन सूचना जारी गरेको छ ।
महानगरले फेवातालमा हुने अतिक्रमण नियन्त्रण र अबैध काम रोक्न अहिले पनि महानगरको तर्फबाट पाँच जना नगरप्रहरी खटाइएको मेयर आचार्यले जानकारी दिए । २५ असोजमा महाअभियान सञ्चालन गर्ने र त्यसपछि लगत्तै एउटा संयन्त्र बनाएर निरन्तर ताल सफाईलाई निरन्तरता दिने उनले बताए ।
मेयर आचार्यले सोमबार र मंगलबार एकैठाउँमा दुई तस्बिर फेसबुकमा सार्वजनिक गर्दै ‘हिजो र आज, उही पोइन्ट’ क्याप्सनमा फेवातालको जलकुम्भी हटाएको पोष्ट राखेका छन ।





