बागलुङ/ आगामी मंसिर ४ गतेहुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा उमेद्वार बनेका नेपाली कांग्रेसका युवा नेता डिल्लीराम सुवेदी घरदैलो गर्दै दमेक पुग्दा बारीमा बाँदरको बथान थियो । घर–घरमै पुगेर जनताका गुनासा, समस्या सुन्ने र सम्बोधन गर्ने अभियान बनाएका सुवेदीको समुहले घरहरुमा पस्दा स्थानीयलाई भेट्न कठिन भयो ।
जैमिनी नगरपालिका–२ दमेकको वडडाँडामा बस्ने धेरै स्थानीयले बारीमा पसेको बाँदर धपाउँदै थिए । बारीमा फलेको कोदो, बोडी र सिल्टुङमा लुटपुटिएको बाँदर गाउँ नै बारीमा पुग्दा समेत निश्किन मानेन् । किसानहरु असिन पसिन भएर घरमा पुगेका उमेद्वार र नेताहरु भेट्न पुगे । बागलुङ क्षेत्र नं. १ प्रदेशसभा ‘ख’मा सत्ता गठबन्धनको तर्फबाट उमेद्वार बनेका सुवेदी आँफैले बारीमा पसेको बाँदर किसानको मुख्य समस्या भएको महशुस त गरे नै मत पाग्न पुगेका उनका अघि सर्वसाधारणको पहिलो माग पनि बाँदर नियन्त्रण नै थियो ।
‘सडक, खानेपानी, शिक्षा, सिंचाईंजस्ता जनताका माग छन् होला भन्ने लागेको थियो, भेटीनसक्दै बाँदरको समस्या देखाउनुभयो’ सुवेदीले भने ‘पहिले त कोदो खाँदैनथ्यो, अमिला फलफुल बच्थे, अहिले त बाँदरले केही नराखेको गुनासो उहाँहरुको छ ।’ सुवेदीले बाँदर नियन्त्रणका लागि उपयुक्त विकल्पको खोजी गर्नैपर्ने बताए । पछिल्लो समय बाँदरले मान्छेलाई बेवास्ता गरेर बालीमा पस्ने गरेको गुनासो दमेकका किसान शेरबहादुर परियारले सुनाए ।
बाँदरको समस्या जैमिनीमा मात्रै होईन् । बागलुङ क्षेत्र नं. १ प्रदेशसभा ‘क’मा नेकपा एमालेको तर्फबाट उमेद्वार रहेका हिराबहादुर केसीले पनि ग्रामिण क्षेत्रमा बाँदर नियन्त्रण गरिदिन सर्वसाधारणले गरेको अनुरोध लिपिबद्ध गरेका छन् । ‘विकासका अन्य कामहरु जस्तै बाँदर नियन्त्रणको बिषय किसानहरुको प्रमुख माग हुने गरेको छ’ केसीले भने ‘हामीले बसाईसराई रोक्न नसक्दा गाउँ पातलिएका छन्, खेती कम हुन्छ, बस्तीका नजिकै रहेका फाँटमा बाँदर पसेर समस्या छ ।’ उनले बाँदर नियन्त्रण गर्न देशका अन्य ठाउँमा भएका राम्रा अभ्यासलाई प्रयोगमा ल्याउनुपर्ने बताए ।
आफूहरूले लगाएको खेतीपाती घरमा ल्याउन नपाएको र घरमा पनि आएर बाँदरले सताउने गरेको किसानहरुको गुनासो छ । बाँदरले बसोबास नै उठाउने अवस्था आएको भन्दै जैमिनी नगरपालिका–१ कुश्मीशेराकी गंगा शर्माले बाँदर नियन्त्रण गर्ने योजना ल्याउने उमेद्वारले किसानको मत पाउने बताईन् । ‘घरनै ढोका लगाएर हिड्नुपर्ने अवस्था छ, महिला र केटाकेटी देखे बाँल पिट्न आउँछ’ शर्माले भनिन् ‘खेतीको त कुरै नगरौं, आफ्नै घरमा हामी सुरक्षीत छैनौं ।’
बस्तीका नजिकै जंगल बढ्दै गएको, जंगल नजिकैका खेतबारीहरु बाँझिदै गएका कारण आहाराको खोजीमा बाँदर बस्तिको नजिक पुग्ने गरेको सरोकारवाला बताउँछन् । बाँदरका लागि वनमा आहाराको व्यवस्था गर्न सके केही हदसम्म नियन्त्रण गर्न सकिने काठेखोला गाउँपालिका–७ रेशका वडाअध्यक्ष प्रेम लामिछानेले बताए । उनले आफ्नो वडामा रहेका सामुदायीक वनहरुमा फलफुलका बिरुवा रोप्ने अभियान समेत चलाएका छन् । ‘वनमा नै खाना र पानी पाए बाँदर गाउँमा आउँदैन्’ उनले भने ‘हामीले बाँदर पनि बाच्न पाउनेगरी नयाँ तरिकाबाट सोच्नुपर्छ ।’ बागलुङका अधिकांश बस्तिमा बाँदरको समस्या पछिल्लो समय बढ्दै गएको छ ।





