बागलुङ/ निर्वाचनका बेला सुरक्षाका दृष्टिकोणले जोखिमपूर्ण हुने भन्दै जिल्ला प्रशासन कार्यालयले इजाजत प्राप्त हतियार फिर्ता मागेपनि बागलुङका एक तिहाइ हतियारधनीले हतियार बुझाएका छैनन् ।
प्रशासनले सार्वजनिक सूचनामार्फत् गरेको आग्रहलाई हतियारधनीहरुले अटेरी गरेका हुन् । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनलाई लक्षित गरी हतियार फिर्ता मागिएको थियो । प्रशासनको आग्रहपछि बागलुङमा ३० जनाले इजाजत प्राप्त हतियार प्रहरीलाई बुझाएका छन् ।
जिल्ला प्रशासन बागलुङले असोज १४ गते एक सार्वजनिक सूचना जारी गर्दै कार्तिक ६ गतेसम्म हतियार बुझाउन आग्रह गरेको थियो । बागलुङमा सोमबारसम्म ३० जनाले मात्र हतियार बुझाएको प्रहरी बागलुङले जनाएको छ । बागलुङमा दर्ता भएका १ सय २० भन्दा बढी हतियार छन् । तर, आफूसँग भएको हतियार प्रहरी प्रशासनमा बुझाउन हतियारधनीले बेवास्ता गरेको प्रहरीको भनाइ छ ।
प्रशासनले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र सुरक्षित वातावरणमा सम्पन्न गर्न जिल्लाभित्र रहेका इजाजत पत्र प्राप्त हतियारहरु नजिकको प्रहरी चौकीमा बुझाउन आग्रह गरेको थियो । प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरीक्षक गंगाबहादुर थापाले सोमबारसम्म ९० भन्दा धेरै हतियार फिर्ता आउन बाँकी रहेको बताए ।
प्रनाउ थापाले प्रशासनको सूचनालाई आधार मानी छिटोभन्दा छिटो हतियार बुझाउनुको विकल्प नरहेको बताए । ‘इजाजत प्राप्त हतियारहरु को को सँग छन्भन्ने प्रशासनमा तथ्यांक छ,’ उनले भने, ‘समयमै प्रहरीमा नबुझाएमा घरघरमै गएर बरामद गरी कानुन बमोजिम कारवाही गर्छाैं ।’ उनले आफूसँग भएको हतियार तुरुन्त प्रशासन र प्रहरी कार्यालय, इलाका कार्यालय, प्रहरी चौकी, पोष्टलगायतमा छिटोभन्दा छिटो बुझाउन आग्रह गरे ।
जिल्ला प्रशासन कार्यालय बागलुङका नासु राम प्रसाद शर्माका अनुसार बागलुङमा १ सय २० वटा दर्तावाला हतियार (बन्दुक) छन् । व्यक्तिगत सुरक्षाको लागि भन्दै प्रशासनबाट उनीहरुले अनुमति लिएर हतियार राखेका हुन् । हरेक निर्वाचनको समय तथा अन्य सुरक्षा संवेदनशीलताको समयमा जिल्ला प्रशासन कार्यालयले हतियार फिर्ता माग्ने गरेको छ ।





