पोखरा/पोखरा काहुँ–धरहरा लालिगुरासँ टोलकी कल्पना परियार छोरा लिएर सडकममा बसिरहेकी थिइन् । करिब ४५ मिनेटपछि काहुँ–धरहरा तर्फबाट एउटा मोटरसाइकल आयो त्यसलाई रोकिन् र छोरालाई चढाइन् । छोरालाई चढाएपछि उनले भनिन्, ‘चाडै आएस है बाबु ।’ उनको छोरा टाढा जान लागेका होइनन् । बजार झरेका हुन् ।
काहुँ–धरहरा क्षेत्र गाउँपालिका हैन । पोखरा महानगरपालिका वडा नं. ११ हो । त,र त्यो वडाको उपत्यका भाग जति विकसित छ,काहुँ क्षेत्र त्यति नै विकट छ । महेन्द्रपुलदेखि करिब १० देखि १३ किलोमिटरको दूरीमा रहेको काहुँडाडा पर्यटकीय हिसाबले पनि निकै रमणीय स्थल हो ।जहाँबाट पोखरा सहर मज्जाले हेर्न पाइन्छ भने महानगरपालिकाको ३३ वटै वडा नियाल्न सकिन्छ । फुलबारी र चापापानी तर्फबाट कालोपत्रे पिच गरिएको सडक डाँडैसम्म पुगे पनि अहिले त्यहाँका स्थानीय निकै मारमा छन् ।
कल्पनाका छोरा जसरी नै अन्य नागरिक पनि को मोटरसाइकलमा आउँछ र लिफ्ट पाइन्छ भन्ने आशमा बाटो धुकेर बसिरहेका हुन्छन् । हुनेखानेको आफ्नै सवारी साधन छ । उनीहरु सरर्र बजार झर्छन्–उक्लन्छन् । राम्रा कमाउने जागिरेहरु पनि ट्याक्सी बोलाउँछन्, आवत जावत गर्छन् । तर, निम्न वर्ग, जीविकोपार्जन गर्ने जनताका लागि भने काहुँडाडा दुर्गम रहेको छ । कालोपिच बनेपछि दैनिकी फेरिने आशा अहिले निराशामा परिणत भएको छ । पिच भए पनि यहाँ सार्वजनिक यातायात चल्दैनन् ।
काहुँडाडामा सडक पिच हुनअघि जिप र सार्वजानिक बस गुडिरहन्थ्यो । अहिले त्यहाँ जिप र बस जाने भनेको रिर्जभ गरेको समयमा मात्रै हो । अन्यथा त्यहाँ ट्याक्सीसमेत जादैन् । सार्वजानिक बस नचलेपछि ट्याक्सीको मनलाग्दी छ । उनीहरु सर्वसाधारणबाट बढी रकम असुल्छन् । कल्पना ट्याक्सी चढ्ने हैसियतकी हैनन् । उनको एक दिनको कमाइ १० मिनेट ट्याक्सी चढ्दा जान्छ । उनले यो कुरा स्थानीय निकायमा समेत राखेकी छिन् । तर, उनको कुरा हुन्छ मात्रै भनेका छन् पूरा भएको छैन् । सिंहदरवार घरघरमै पुग्दा उनीहरुका लागि भने एकादेशका कथा बनेको छ । ‘पहिला त गाडी आउँथ्यो, अहिले त झन आउनै छाड्यो’,उनी गुनासो पोख्छिन्,‘अरुकुरा छाडौँ, दुःख–बिमार हुँदा पनि केही पाइँदैन । को आउँछ भनेर कुरेर बस्नुपर्ने बाध्यता छ ।’
उनले ट्याक्सी चालकको आफ्नै मनलाग्दी रेटले निकै समस्या भएको सुनाइन् । ‘ट्याक्सी बोलाम भने यहाँबाट रानीपौवा गएको ६ सय रुपैयाँ लिन्छ । ६ सय कमाउन हामी दिनभरी खेतालो जानुपर्छ । त्यो खेतालो जाँदाको पैसा १० मिनेट चढेर दिनपर्छ’, उनले भनिन्, ‘महानगरमै बसेका हामी कर्णालीको जस्तै भएका छौँ । ट्याक्सी चढे हामीले के खाने ? बस आयो भने हामीलाई निकै सहज हुनेथियो । हामी जान पाउथ्याँै । दिनको दुई समय आइदिए पनि राहत मिल्थ्यो ।’
उनीहरुको भन्दापनि अझ दयनीय अवस्था छ– पोखरा ११ काहुँडााँडा कालिका टोल, मजारे, बढुवा, रानी बौरवासीको । त्यहाँका जनताले अहिलेसम्म कालेपत्रे सडक देख्न पाएका छैनन् । उनीहरु सडक नहुँदा बजारतिर झरेर भाडामा बस्न बाध्य भएका छन् । कालिका टोलकी लक्ष्मी बराल पनि कल्पनाको जस्तै दुःख सुनाउँछिन् । ‘हामीलाई बिरामी हुँदा उपचारका लागि जान समेत धौधौ भएको छ । हाम्रो भेगतिर बाटो त छैन् तैपनि भएको बाटोसम्म पुग्दा गाडी छैन् । हामीलाई राज्यले हेरेन। यस्तो समस्या खेप्नु परेको छ हामीले’, उनले भनिन्,‘कतिले त छोराछोरी पढाउनका लागि आफ्नो भएको सम्पत्ति छाडेर फुलबारीतिर भाडामा बसेका छन् ।’
पहिला धरहरामा नगरबस चलाउँदै आएका युवराज पौडेलले पहिला नगरबस चल्ने गरे पनि अहिलेभने चल्न छाडेको सुनाए । उनले अहिले काहुँवासीले धेरै समस्या खेप्न परेको सुनाए । ‘बस नचल्दा धेरै समस्या छ । बिरामी हुँदा जान पाउँदैनन् । लोकल गाडी ट्याक्सी पनि आउँदैन्’, उनले भने, ‘पहिला मैले पनि नगरबस चलाउथेँ । अहिले चलाउन छाडँे । यो ठाउँमा मैले पनि बस ल्याएकै हो ।’ उनले उक्त स्थानमा करिब १० वर्ष सवारी चलाएको सुनाउँदै अहिले दोहोरो समस्याका कारण बस चल्न नसकेको सुनाए । ‘यहाँ मान्छे नै हुँदैन् तेलको पैसा पनि उठदैन् । लगातार चल्यो भने त राम्रै आम्दानी हुन्छ । आउँदा उकालो हुन्छ ,सामान लिएर आउन मुस्किल ।’ पोखरा महानगरपालिका ११ का वडा अध्यक्ष प्रेमप्रसाद कर्माचार्यले नग रबसले फाइदा खोजेका कारण त्यहाँ बस संचालनमा नआएको बताए ।
सार्वजानिक यातायातका लागि नगरबस व्यवसायीहरुसँग छलफल भएको र उक्त समस्याको समाधान चाडै हुने उनको भनाइ छ । ‘हामीले यसका लागि प्रयास गरिरहेका छौँ । यो समस्या नागरिकले खेपेका छन् । कुरा भइराखेको छ । सार्वजानिक यातायाताका लागि हामीले पहल गरिसकेका छौ’ उनले भने,‘पालो पालो गरेर दिनको २ पटक वा ३ पटक गाडी आउने व्यवस्था गर्नेछाँै ।’




