
बागलुङ/ सडक डिभिजन कार्यालय बागलुङले लगाएको ठेक्कामा एउटा सडक परियोजनामा सम्झौता अवधि नसकिंदै सडक निर्माण सम्पन्न भएको छ । डिभिजनले ठेक्का लगाएको मुस्ताङदेखि डोल्पा जोड्ने सडक समयअघि नै सम्पन्न भएको हो ।
मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकादेखि डोल्पाको वार्खा ताङसोङ जोड्ने सडक तोकिएको समयभन्दा ६ महिनाअघि सम्पन्न भएको हो । चालु वर्ष सडक स्तरोन्नती गर्ने मुस्ताङ खण्डको अन्दाजी ६ किमी सडक ६ महिनामै सम्पन्न भएको हो ।
गत चैत २७ गते सम्झौता भएको सडक असोज मसान्तमा सकिएको हो । सडक निर्माण सम्पन्न गर्ने मिती २०८० को असोज ३० गतेसम्ममा हो । तर, जागृति कुन्सालिङ संयुक्त निर्माण कम्पनीले ६ महिनामै काम सकेको हो । ४ करोड ६४ लाख ८२ हजारको लागतमा बनेको यो सडकको अन्तिम मूल्यांकन समेत भैसकेको डिभिजन सडक कार्यालय बागलुङका प्रमुख बलिराज मल्लले बताए ।
यो सडकमा १ लाख ८७ हजार घनमिटर माटो खन्ने तथा ३ हजार ५ सय घनमीटर ग्याबीन पर्खाल लगाउने तथा खाल्डाखुल्टी सम्याएर ग्राभेल बिच्छाउने काम थियो । ठेकेदारका प्रतिनिधि जीवन रोकायले चिसो मौषममा काम गर्न नसकिने भएकोले सम्झौता गरेकै दिनदेखि काम थालेर सकेको बताए । ‘उनको काम निकै प्रभावकारी रहेछ, समयअघि सकेका छन्’ लेखा अधिकृत रामनाथ शर्माले भने ‘उनलाई डिभिजनले सम्मान गर्नेछ ।’ वर्षौदेखि काम अलपत्र भएको गुनासो आउने बेलामा उनले गरेको काम उदाहरणीय भएको बताए ।
डिभिजनले मुस्ताङ जिल्ला पनि हेर्छ । यो करिडोरको मनाङदेखिकै खण्ड हेरिरहेको मल्लले जानकारी गराए । ५ वर्षदेखि निर्माण शुरु भएको यो सडक खण्डमा ११ मीटर चौडा पार्ने काम पनि भएको छ । यो सडक अधिकांस खण्ड ४ हजार मिटरभन्दा माथिबाट गएको छ । त्यसैले मंसिर लागेपछि यहाँ हिमपात हुन्छ । हिमपातका कारण काम गर्न कठिन हुन्छ । चैतसम्म हिउँ रहने र निर्माण उपकरण सोही स्थानमा राख्नुपर्दा खिया लाग्ने, इन्जिन बिग्रने भएपछि समयमा काम सकेर उपकरण तल्लो खण्डमा झारेको समेत रोकायाले जानकारी दिए ।
उत्तरका हिमाली जिल्ला जोड्ने सडक बनेपछि मध्यपहाडी जस्तै हिमाली जिल्लामा पनि सहज यात्रा गर्न सकिने मल्लले जानकारी दिए । ‘हिउँले ढाकिँदा समस्या भएपनि अरु बेलामा सहज पूर्व पश्चिम यात्रा गर्न सकिने गरी करिडोरको नक्सांकन भएको छ’, मल्लले भने, ‘समयमा काम गर्ने निर्माण कम्पनी आएमा यो अभियानले केही वर्षमा चल्ती करिडोरको रुप लिन्छ ।’
यो करिडोरको ४४ किमी सडक मुस्ताङ र डोल्पामा खुलीसकेको उनले जानकारी दिए । यो सडक निर्माण भएर नियमित सवारी चल्दा गण्डकी प्रदेश र कर्णाली प्रदेशबीच व्यापारिक गतिविधि बढ्ने, पर्यटकहरुको आवतजावत बढ्ने र हिमाली क्षेत्रमा चहलपहल बढ्ने विश्वास लिइएको छ । यो सडक खण्डबाट कोरला नाकातर्फ जाने सडक पनि जोडिएको छ ।





