
मुस्ताङ / डोजरले सडकको हिउँ पन्छ्याएपछि मुस्ताङमा बाटोमा रोकिएका मतदान अधिकृतसहित निर्वाचनमा खटिएका कर्मचारी मतदानस्थल पुगेका छन् । बाटोमा जमेको बाक्लो हिउँ छिचोल्न नसकेपछि वारागुङमुक्ति क्षेत्र गाउँपालिका-५ साङ्तास्थित हिमाली आधारभूत विद्यालय मतदान केन्द्रमा मतदान गराउन हिँडेका कर्मचारी र सुरक्षाकर्मी बाटैमा रोकिएका थिए ।
शुक्रबार सदरमुकामबाट डोजरसहित सुरक्षाकर्मी पुगेर बाटोको हिउँ पन्छ्याएपछि कर्मचारीहरु मतदानस्थल पुगेका थिए । उक्त मतदानस्थलमा शालिकराम रेग्मी मतदान अधिकृत रहेका छन् ।
‘मुस्ताङ–डोल्पा जाने बाटोमा करिब एक किलोमिटर क्षेत्रको बाक्लो हिउँ डोजरले पन्छ्याएर निर्वाचनमा खटिएका कर्मचारीलाई मतदानस्थलमै पुर्याएर फर्केका छौं,’ जिल्ला प्रहरी प्रमुख रविन्द्र पौडेलले भने, ‘जिल्लाका सवै मतदानस्थलमा निर्वाचन गराउन खटिएका कर्मचारी र सुरक्षाकर्मी पुगी निर्वाचन पूर्वका काम सुरु गरेका छन ।’

मुख्य निर्वाचन अधिकृतको कार्यालय मुस्ताङका अनुसार आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य पदको निर्वाचन गराउन मतदान अधिकृतहरूसहित २ सय ९६ जना कर्मचारीहरू आवश्यक मतदान सामग्री, सुरक्षाकर्मीसहित मतदान स्थल पुगेका छन् ।
प्रतिनिधिसभामा एकमात्र निर्वाचन क्षेत्र रहेको मुस्ताङमा १० हजार ९ सय ५७ जना मतदाताले ३८ वटा मतदान केन्द्रबाट मतदानमा भाग लिँदैछन् ।

निर्वाचन कार्यालय मुस्ताङले दिएको जानकारीअनुसार सबैभन्दा कम वारागुङमुक्ति क्षेत्र गाउँपालिकाअन्तर्गतको समर आधारभूत विद्यालय मतदान केन्द्रमा ३४ जना र बढी थासाङ गाउँपालिकाको जनआदर्श मावि कोवाङ मतदान केन्द्रमा ६ सय ५० मतदाता रहेका छन् ।
त्यस्तै सबैभन्दा दुर्गम लोमन्थाङगापाको सम्जोङ मतदान केन्द्रमा ६१ जना र वारागुङमुक्तिक्षेत्र गाउँपालिका–६ साङताको हिमाली आवि मतदान केन्द्रमा ३५ जना मतदाता रहेका छन् ।





