
पोखरा / गण्डकीमा केही ठाउँमा विवाद र हवाइ फायरबीच प्रतिनिधि सभा तथा प्रदेशसभा सदस्य निर्वाचन सम्पन्न भएको छ ।
निर्वाचन आयोग गण्डकीको प्रारम्भिक आँकलन अनुसार कास्कीमा ६० प्रतिशत मात्रै मत खस्यो । निर्वाचन आयोगले आइतबार विहान ७ बजेदेखि सुरु गरेको मतदान साँझ ५ बजेसम्म जारी रह्यो । कास्कीमा छिटपुट बाहेक शान्तिपूर्ण तरिकाले निर्वाचन सम्पन्न भएको निर्वाचन आयोग गण्डकीका सूचना अधिकारी रुद्रथान न्यौपानेले जानकारी दिए ।
पोखरा महागनरपालिका वडा ५ की आशा भण्डारी र वडा १३ की सोनु श्रेष्ठ आफ्नो सुत्केरी अवस्थमामै मत हाल्न पुगेका थिए । उनीहरु परिवर्तनका लागि मत हाल्न पुगेको सुनाउँछन् । आशाले पहिलो पटक मत हाल्दै थिइन् भने सोनुले दोस्रो पटक । दुवै जनाले नयाँ उम्मेदवार आएकाले मत हाल्न आएको बताए । उनीहरुको क्षेत्र फरक हो । तर, मुलधारका राजनेताहरुप्रति वितृष्णा बढ्दै जाँदा परिवर्तन आवश्यक रहेको उनीहरु सुनाउछन् ।
करिब १६ वर्षपछि मत हाल्न पुगेकी सोनुले आफ्नो क्षेत्रमा राम्रो व्यक्ति आएकाले मतदान गर्न स्वेच्छाले पुगेको बताउँछिन् । आशाले पनि त्यही भाव व्यक्त गरिन् । यी प्रतिधिनि पात्रहरुको भनाइ हेर्ने हो भने, यो चुनावले पुराना राजनीतिक दलहरुलाई धक्का दिने देखिन्छ ।

आफैंले सकिन : सोनु
पोखरा१३ कुँडहरमा रहेको मौला स्लामिक सामुदायिक विद्यालयमा प्रनिधिसभा तथा प्रदेशसभा मतदान स्थलमा रहेको थियो । बिहानदेखि फाट्फट् गर्दै मतदाताहरु आइरहेका थिए ।
त्यहि क्रममा टाउकोमा टोपि लगाएकी र हरियो गाउनले बेरिएकी एक युवती आइन् । भट्ट हेर्दा आजभोलि व्यथा लाग्ला जस्तो । सबैले हेर्दा सुत्केरी हुन लागेजस्तो देखिने उनी सुत्केरी भइसकेकी महिला हुन् । २ पटक शल्यक्रियापछि सुत्केरी बनेकी उनी तंग्रिएकी छैनन् । तर,उनी हिम्मत जुटाएर मत खसाल्न आइन् । घरबाट आट गरेर आएपनि उनी आफैंले मत भने हाल्न पाइनन् । कारण उनको अप्रेसनको पीडा थियो । शरीरको घाउको पीडा भुलेर मतदान गर्न आएकी उनको पाइला मतदान स्थलसम्म पुगेपनि मतदान केन्द्रतर्फ बढ्न सकेन । मुटुको चाल बढ्न थाल्यो । हिँड्न सकिनन् । त्यहीँ रहेका प्रतिनिधिलाई आग्रह गरेपछि उनलाई प्लाष्टिकको कुर्सीमा राखियो ।
निर्वाचनका लागि खटिएका कर्मचारीले मतपत्रमा हस्ताक्षर गराउन मतपत्र नै त्यहीँ ल्याइदिए पनि उनी आफैंले भोट खसाल्न सकिनन् । । उनको श्रीमानले उनकोतर्फबाट मतदान गरिदिए । ‘आफैं हाल्छु भनेर आएको थिएँ । मुटु ढुकढुक बढी गरेपछि हिँड्न सकिन्, श्रीमानले जेमा भनेको त्यहीमा हालिदिन्छु भनेपछि विश्वास गरँे’, उनले भनिन्, ‘मेरो डबल अप्रेसन हो । पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा अप्रेसन बिग्रिएपछि पार्कल्याण्डमा अप्रेसन गराएको हुँ । अलिकति सुधार भएको छ ।’
१६ वर्षपछि उनले दोस्रो पटक मतदान गर्न लागेको बताउछिन् । ‘मैले १७÷१८ वर्षको हुँदा एक पटकमात्रै मतदान गरेको थिएँ । यो दोस्रो पटक हो । आफ्नो टोलमा राम्रो नेता भइहाल्छ कि भनेर आएकी हुँ’, उनले भनिन् । मतदान गर्न आउँदा त्यति समस्या नभएको तर आफ्नो कारणले नै समस्या भएको उनी सुनाउछिन् । ‘यहाँ आउनलाई समस्या भएन । राम्रो भयो । यहाँभन्दा (मतदान केन्द्रबाट मतपत्र लिने स्थान) उता जान सकिन, मुटु ढकढक भयो । पेटमा अप्रेसन गरेर बाबु निकालेको हो । डेढ महिनाको भयो । अझै घाउ आलै छ ।’

पहिलो अनुभव लिएँ: आशा भण्डारी
पोखरा ५ मालेपाटनकी आशा भण्डारी पनि सुत्केरी नै हुन् । चार दिनको नवजात शिशुलाई घरमा छाडेर मत हाल्न आएकी उनको मतदाता परिचयपत्र नभएको र नागरिकतासमेत घरमा छुटेको थियो । जसका कारण उनी लामो समय काठको बेन्चमा कुरेरै बस्न प¥यो ।
१९ वर्षिया भण्डारी एकातिर आफ्नो सन्तान पाएर खुसी थिइन् भने अर्कातिर पहिलो पटक मतदान गर्न पाएर खुसी थिइन् ।
‘मेरो पहिलो मतदान हो । पहिलो चोटी आएकी हुँ । राम्रै अनुभव भयो’, उनले भनिन् । मतदान गर्दै उनले देशका लागि सकरात्मक काम गर्न समेत नेतालाई आग्रह गर्छिन् ।




