बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

यसरी बिदा भए म्यादी प्रहरी

यसरी बिदा भए म्यादी प्रहरी


  • ढोरपाटन संवाददाता
  • मंसिर ९ २०७९, शुक्रबार

बागलुङ/ संसदीय निर्वाचनमा खटिएका म्यादी प्रहरीलाई बिदाई गरिएको छ । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको सुरक्षार्थ खटिएका बागलुङका १ हजार १ सय ३७ जना म्यादी प्रहरीलाई बिहिबार बिदाइ गरिएको हो ।

प्रहरी उपरीक्षक दयानिधी ज्ञवालीका अनुसार जिल्लाका सबै म्यादी प्रहरीहरुको बिदाइ गरिएको हो । ४० दिनका लागि भर्ना भएका म्यादी प्रहरीले छोटो तालिमको अनुभवबाट उत्कृष्ट कार्य सम्पादन गरेको उनले बताए । उनीहरुलाई धन्यवाद तथा प्रमाणपत्रसहित ससम्मान बिदाइ गरिएको उनले बताए ।

बिदाईमा जिल्ला प्रहरी कार्यालयले ‘केक’काटेर म्यादी प्रहरीको सम्मान गरेको थियो । म्यादी प्रहरीको बिदाई गर्दै प्रमुख जिल्ला अधिकारी रमेश ढकालले छोटो समय राष्ट्रसेवा गर्न पाएको गर्व गर्न आग्रह गर्दै शान्तिपूर्ण निर्वाचनका लागि भुमिका खेलेको भन्दै धन्यवाद दिए । उनले आगामी दिनमा राष्ट्रले आवश्यकता महशुस गरेका बेला म्यादी प्रहरीलाई सम्झिने भन्दै जीवनको एक मोडमा पाएको सफलताको रुपमा ४० दिनको अबधिलाई लिन आग्रह गरे ।

जिल्ला प्रहरी प्रमुख दयानिधी ज्ञवालीले छोटो समयको भएपनि म्यादी प्रहरी राष्ट्रसेवक भएको बताए । ‘आजदेखि तपाईंहरु पूर्वप्रहरी हुनुभयो, हामीले ३०–३४ वर्ष राष्ट्रसेवा गरेपनि पूर्व प्रहरी हुने हो, तपाईंहरुले ४० दिन गर्दाको पनि राष्ट्रसेवक नै हो’ ज्ञवालीले भने ‘छोटो समयमा लिनुभएको अनुशासनको ज्ञानलाई कायम राख्नुहोला ।’

कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी गणेश पौडेलले म्यादी प्रहरीको भूमिकाको प्रशंसा गरे । बागलुङमा २५१ महिला र ८८६ जना पुरुष म्यादी प्रहरी थिए । उनीहरुले तलव, रासन, पोषाक लगायतका सुविधा पाईसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

कार्यक्रममा सशस्त्र प्रहरी प्रमुख कृष्ण कुमार श्रेष्ठ, राष्ट्रिय अनुसन्धान बागलुङका प्रमुख बिनय चर्तुबेदी, पत्रकार महासंघ बागलुङका कार्यवहाक अध्यक्ष नविन शिशिर बिक, धौलागिरी अस्पतालका डा. मोनिका गुरुङ लगायतले बोलेका थिए । बिदाईपछि सबै म्यादी प्रहरी बिहिबार नै घर फर्किएका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->