बागलुङ/ गत मंसिर–४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनले बागलुङका दलहरुको बिभिन्न कोणबाट स्तरीकरण गरेको छ । प्रत्यक्ष र सामानुपातिक निर्वाचन प्रणालीमा सहभागी दलहरुको मतभारका आधारमा हैसियत कायम भएको छ ।
प्रत्यक्ष निर्वाचन प्राणालीअन्र्तगत प्रतिनिधिसभाको मतलाई आधार मान्ने हो भने बागलुङका दुई क्षेत्रमा दुई फरक फरक दल ठुलो दल बने । क्षेत्र नं. १ मा राष्ट्रिय जनमोर्चा पहिलो दल बन्दा क्षेत्र नं. २ मा माओबादी पहिलो दल बन्यो । दुवै क्षेत्रमा नेकपा एमाले दोस्रो दल बन्दा राष्ट्रिय स्वतन्त्र पार्टी तेस्रो बन्यो । त्यस्तै प्रदेशसभाको प्रत्यक्ष तर्फको मतभारलाई केलाउँदा जिल्लाका चारवटै सिट जितेको नेपाली कांग्रेस पहिलो र नेकपा एमाले दोस्रो दल भए ।
तेस्रो दल भने क्षेत्र नं. १ मा राष्ट्रिय प्रजातन्त्र पार्टी र क्षेत्र नं. २ मा स्वतन्त्र भए । दलहरुको हैसिय के कसरी कायम गर्ने भन्ने राष्ट्रिय स्तरमा दलले पाउने मतभारले निर्धारण गर्छ । यद्यपी दलहरु निर्वाचनका बेला गर्ने गठबन्धन र अन्य समयमा हुने सांगठनिक हिसाबमा निर्वाचनका बेला पाएको मतको महत्व हुने गरेको छ ।
समानुपातिक निर्वाचन प्रणालीमा प्रतिनिधिसभातर्फ नेपाली कांग्रेस पहिलो दल बनेको छ । प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत प्रतिनिधिसभामा प्रतिनिधित्व नरहेको कांग्रेसले समानुपातिकमा ३२ हजार ७ सय ७६ मत पाएको छ । नेपाली कांग्रेसले बागलुङका चारवटै प्रदेशसभा क्षेत्र जितेको छ । प्रत्यक्षमा चारवटै क्षेत्रमा जित हाँसिल गरेको कांग्रेस सामानुपातिक निर्वाचन प्राणालीमा प्रदेशसभातर्फ दोस्रो भएको छ । प्रदेशसभातर्फ कांग्रेसले ३० हजार ८ सय ४१ मत मात्रै पायो ।
प्रदेशसभा र प्रतिनिधिसभामा शुन्य जीत रहेको नेकपा एमाले सामानुपातिक मतका आधारमा प्रतिनिधिसभाका लागि जिल्लामा दोस्रो शक्ति बनेको छ । एमालेले ३० हजार ८ सय ९६ मत पाएको छ । प्रदेशसभा समानुपातिक तर्फभने एमालेले पहिलो स्थान लिएको छ । प्रदेशसभातर्फ समानुपातिकमा एमालेले ३२ हजार ८ सय ४९ मत पाएको छ ।
बागलुङ क्षेत्र नं. २ मा प्रत्यक्षतर्फ जीत हाँसिल गरेको नेकपा (माओबादी केन्द्र) समानुपातिक निर्वाचन प्राणालीमा जिल्लाको तेस्रो शक्ति बन्यो । माओबादीले प्रतिनिधिसभामा ११ हजार २ सय ४ र प्रदेशसभातर्फ १३ हजार ३ सय १० मत पाएको छ ।
प्रतिनिधिसभामा नेकपा माओबादी केन्द्र भन्दा १७१ मतले राष्ट्रिय स्वतन्त्र पार्टी छ । उसले ११ हजार ४ मत प्राप्त गरेको छ । प्रदेसभामा उमेद्वारी नदिएको राष्ट्रिय स्वतन्त्र पार्टीले बागलुङमा नेपाली कांग्रेसभन्दा कम्युनिष्ट पार्टीहरुको मत धेरै काटेको देखिन्छ । प्रदेशसभामा भन्दा प्रतिनिधिसभामा नेकपा एमाले, नेकपा माओबादी केन्द्र र राष्ट्रिय जनमोर्चाको सामनुपातिक मत कम छ ।
८ हजार ६ सय १६ पाएर राष्ट्रिय जनमोर्चा प्रतिनिधिसभातर्फ जिल्लामा चौथो बनेको छ । राजमोले प्रदेशसभातर्फ भने ११ हजार ८ सय ८ मत पाएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रतिनिधिसभातर्फ १ हजार ३ सय ४३ र प्रदेशसभातर्फ १ हजार ७ सय ७३ मत पाएको छ । बागलुङमा अन्य सबै पार्टीको मत एक हजारभन्दा कम रहेको छ ।





