बागलुङ/ जिल्लामा पहिलोपटक सरकारी स्तरबाटै योजना बनाएर बोरिङ प्रबिधिबाट खानेपानीको जोहो थालिएको छ । जैमिनी नगरपालिका–१ मा सञ्चालित कुश्मीशेरा–रायडाँडा बृहत खानेपानी आयोजनाको बैकल्पिक मुहानको रुपमा बोरिङ प्रबिधि प्रयोगमा ल्याईने भएको हो ।
खानेपानी तथा सरसफाई डिभिजन कार्यालय बागलुङले कुश्मीशेरा बजार नजिकै बोरिङ गरेर जमिनमुनीको पानी निकाल्नका लागि योजना सञ्चालनको तयारी गरेको छ । २०६४ सालदेखि सञ्चालनमा रहेको बृहत खानेपानी आयोजनाको बैकल्पिक मुहानको रुपमा बोरिङ प्रबिधिबाट पानी निकाल्न लागिएको डिभिजन प्रमुख तुलसी बस्नेतले बताए ।
जिल्लामा खानेपानी तथा सरसफाई डिभिजन कार्यालयकै योजनामा बन्न लागेको यो पहिलो बोरिङ प्रबिधिको योजना हो । यसअघि आयोजनाका लागि बागलुङ नगरपालिका–११ रायडाँडाको मुहानबाट पानी ल्याउने गरी काम अन्तिम चरणमा छ । ‘अहिलेको स्रोतले मात्रै बढ्दो जनसंख्यालाई पानी पर्याप्त नहुने भएकाले बिकल्पको खोजी भएको हो’ बस्नेतले भने ‘बाढीपहिरो र अन्य अबरोधका कारण मुहानको पानी रोकिँदा शेरा बजार र आसपासमा पानीको अभाव हुन नदिन बोरिङ प्रबिधिमार्फत पानी निकाल्ने योजना बनाएका हौं ।’
बोरिङ प्रबिधिबाट पानी निकाल्नका लागि डिभिजनले २६ लाख रुपैयाँ बिनियोजन गरेको थियो । खुल्ला ठेक्का प्रक्रियाद्वारा ‘डिटिएच रक ड्रिलिङ’ कम्पनी काठमाण्डौंले कामको जिम्मेबारी पाएको छ । ‘मंसिर महिनाभरीमा ठेक्का पाएको कम्पनीसँग कामको सम्झौता हुन्छ’ बस्नेतले भने ‘काम सुरु गरेको १५ दिनभित्र पानी निकाल्छौं ।’
आठ इन्चको पाइपमा चौविसै घण्टा पानी तान्ने योजना डिभिजनको छ । १५० मिटर जमिनभित्र ड्रिलिङ गरेपछि पानी आउने आशा डिभिजनले राखेको छ । यसअघि बागलुङमा धौलागिरी अस्पतालले आफ्नै पहलमा बोरिङ प्रबिधिको पानी प्रयोगमा ल्याएको छ भने अरु दुईवटा शैक्षिक संस्थाले पनि बोरिङ प्रबिधिबाट खानेपानीको जोहो गरिरहेका छन् । यहाँ २ सयदेखि दुई सय ५० मिटर जमिन भित्रबाट पानी निकालिएको छ ।
बोरिङबाट निकालिएको पानी कुश्मीशेरा बजारभन्दा केही माथी तयार भएका संकलन ट्याङ्कीमा पु¥याईने बस्नेतले बताए । बोरिङबाट निकालिएको पानी लिफ्टिङ गरेर मुख्य ट्याङ्की पु¥याउने योजना छ । ‘पहिले पानी निकाल्ने काम हुन्छ, त्यसपछि आवश्यक लिफ्टिङका कामको योजना बन्ने छ’ उनले भने ‘अहिले नै अरु काम गर्दा भनेको ठाउँमा पानी नआए समस्या हुने भएकाले रोकिएको छ ।’
कुश्मीशेराका ६ सय बढी धारामा बोरिङ र मुहानको पानी मिसाएर बाह्रै महिना पानी पु¥याउने लक्ष कार्यालयले राखेको छ । १३ बर्षअघि सुरु भएर सञ्चालनमा रहेको यो आयोजना बोरिङ प्रबिधिबाट पानीको सुनिश्चितता भएपछि मात्रै सम्पन्न हुने भएको छ । आयोजनाअन्र्तगत अधिकांश घरमा धारा बनिसकेको र पाईपलाईनको काम चलिरहेको कुश्मीशेरा रायडाँडा बृहत खानेपानी उपभोक्ता समितिका अध्यक्ष रुद्र आचार्यले बताए ।





