बागलुङ/ जिल्लाका तीन स्थानीय तहमा दश वटा झोलुङ्गे थपिएका छन् । गत आर्थिक वर्ष २०७८÷०७९ मा ढोरपाटन नगरपालिकामा तीन, बरेङमा दुई, ताराखोला गाउँपालिकामा पाँच गरी दश वटा पुल निर्माण गरिएको हो ।
गत बर्ष निर्माण सम्पन्न गर्नेगरी कुल ३३ वटा पुलको सर्भे गरिएको थियो । सर्भे गरिएको ३३ वटामध्ये १० वटा सम्पन्न भएको र अन्य निर्माणधिन रहेको स्थानीय व्यवस्थापन संस्था विवाइसी बागलुङका झोलुङ्गे पुल कार्यक्रम संयोजक प्रेम केसीले जानकारी दिए ।
ढोरपाटन नगरपालिका–२ सिमलचौर, ढोरपाटन नगरपालिका–७ का पँधेरी र ढोरपाटन नगरपालिका–९ को रासीबाङ्ग, बरेङ गाउँपालिका–२ को काउला, बरेङ गाउँपालिका–१ को दोभानखोला, ताराखोला गाँउपालिका–२ को दोभान, ताराखोला–३ को निस्दीखोला, ताराखोला–३ को सादी, ताराखोला–४ को दोगाडी र ताराखोला–५ को मैन पकाउने घाट खोलामा पुल निर्माण गरिएको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, झोलुङ्गे पुल क्षेत्रगत कार्यक्रमअन्तर्गत स्थानीय तहले पुलको योजना छनोट र कार्यान्वयन गर्छन् । नेपाल सरकार र स्वीस सरकारबीचको सम्झौता अनुसार पुल निर्माण गर्न बागलुङमा झोलुङ्गे पुल सहयोग एकाई (टिविएसयु) र पिटिएपि पोखराले प्राविधिक सहयोग गर्दै आएको छ ।
टिविएसयुले पुलको लठ्ठा, फलामै सामग्रीको व्यवस्थापन र वितरणमा स्थानीय तहसँग समन्वय गरेर काम गर्छ । कार्यक्रम संयोजक केसीका अनुसार १२० मिटरसम्मका पुल उपभोक्ता समिति र त्यसभन्दा लामा पुल निर्माण व्यवसासायीमार्फत बनाउने पर्छ ।
संघीय सरकारले पुल निर्माणको लागि सशर्त बजेट उपलब्ध गराउँछ । कुल बजेटमध्ये पुल क्षेत्रगत कार्यक्रमको ८५ प्रतिशत, स्थानीय तहको १३ प्रतिशत लगानी र २ प्रतिशत जनश्रमदानको प्रावधान रहेको केसीले जानकारी दिए ।
जिल्लामा पुल रणनीति २०६२ अनुसार पुल निर्माणको काम भैरहेको छ । २०७६ भदौसम्म जिल्लाभर ४ सय ५३ वटा पुल छन् । चालु आर्थिक बर्षमा २५ वटा पुल निर्माण गरिने कार्यmम संयोजक केसीको भनाई छ । सबै पुलको गत सर्भे गरिएको थियो ।
बागलुङ नगरपालिकामा दुई, काठेखोला तीन, ताराखोलामा तीन, निसीखोला गाउँपालिकामा ५, ढोरपाटन नगरपालिकामा ७ र जैमिनी नगरपालिकामा ५ वटा पुल निर्माण हुनेछन् ।





