बागलुङ/ बालबालिकाको पोषण अवस्थामा सुधार ल्याउन ग्रामीण क्षेत्रका अभिभावकमा जनचेतना बढाउनुपर्नेमा स्वास्थ्यकर्मीहरुले सुझाएका छन् । उनीहरुले बालबालिकाको पोषण क्षमता बढाएमा स्वस्थ्य नागरिक निर्माण हुने बताए ।
ग्रामीण क्षेत्रमा अहिले पनि पोषणतत्वयुक्त खाना खानेभन्दा जंकफुड खाने बानी रहेको, समयमा गर्भवती महिलाले स्वास्थ्य परीक्षण नगर्ने, गरेपनि नियमित नहुने, गर्भ अवस्था र सुनौला १ हजार दिनमा पोषणयुक्त खानेकुरा नखाने प्रवृत्तिका कारण बाल पोषणको अवस्था कमजोर देखिएको समेत उनीहरुले बताए ।
स्वास्थ्य कार्यालय बागलुङ र सुआहारा परियोजनाको आयोजनामा भएको दशवटै पालिकाको समीक्षा कार्यक्रममा स्वास्थ्यकर्मीले हरेक अभिभावकलाई आफ्ना बालबालिकाको स्वास्थ्यप्रति सचेत हुने वातावरण बनाउन पनि आग्रह गरे । ‘हाम्रो समाजमा अधिकांसले अझै पोषणबारे बुझीसक्नुभएको छैन’ कार्यालयकी जनस्वास्थ्य निरीक्षक लक्ष्मी शर्माले भनिन्, ‘जिल्लाको यकिन तथ्यांक संकलन गरेर विश्लेषण गर्ने लक्षले समीक्षा गरिरहेका छौं ।’ समीक्षामार्फत पोषणको अवस्थामा सुधार गर्ने स्वास्थ्य कार्यालयको योजना छ ।
सोमबार भएको कार्यक्रममा बागलुङका दशवटै पालिकाका स्वास्थ्य शाखा प्रमुख तथा बरिरंग उपचार केन्द्रका प्रतिनिधिले आफ्नो क्षेत्रको वार्षिक कार्यक्रम र प्रगती समीक्षा गरेका थिए । केही बर्षअघिसम्म बागलुङमा एक मात्रै पोषण गृह थियो । पछिल्लो समय पालिका तहमा पनि एक÷एक केन्द्र पर्ने गरी १३ वटा केन्द्र स्थापना भएका छन् । ती केन्द्रमा कति बालबालिका सूचिकृत छन्, उनीहरुले कति सेवा पाए, कति उपचार भए र स्वास्थ्यको अवस्था कस्तो छ भन्ने प्रस्तुतीकरण गरेका थिए ।
ढोरपाटन नगरपालिकको स्वास्थ्य शाखा प्रमुख केशव थापाले गण्डकी प्रदेशमै ढोरपाटन नगरपालिका स्वास्थ्य क्षेत्रमा कमजोर रहेको बताएका थिए । सबैको चासो र नियमित अनुगमनबाट बालबालिकाको पोषण सुधार गर्न सकिने भन्दै कुपोषित बालबालिकाको उपचारमा ध्यान दिएको थापाले बताए ।
गत आर्थिक बर्ष मात्रै ढोरपाटनमा ७ जना कुपोषित बालबालिकाको उपचार भएको थियो । अन्य पालिकामा पनि कुपोषित बालबालिका भेटिएपनि कम संख्यामा भेटिएको प्रस्तुतीकरणमा उल्लेख थियो । नेपाल गाजा डेभलपमेन्ट फाउण्डेसनमार्फत् जिल्लामा सुआहारा परियोजनामार्फत पोषण सुधारको काम भैरहेको छ ।





