
मनाङ / कोभिड-१९ महामारीका कारण बिथोलिएको शैक्षिक सत्र यो वर्ष बैशाखबाट सुरु भयो तर निरन्तर पठनपाठन हुन पाएन । स्थानीय तहको निर्वाचन र वर्षाका कारण प्रभावित भएको हो । गत असोज तेस्रो साता बेमौसमी हिमपातका कारण जिल्लाभरकै जनजीवन कष्टकर बन्यो ।
दसैं मनाउन बजार झरेका विद्यार्थी सहजै गाउँ फर्किन पाएनन् । तिहारपछि कात्तिक अन्तिमतिरबाट बल्ल पठनपाठनले गति लिएकोमा मंसिर ४ को आमनिर्वाचनले फेरि प्रभाव पर्यो । चुनावपछि चिसो बढ्यो । पढ्ने पढाउने अवस्था रहेन । त्यसपछि धमाधम अर्धवार्षिक परीक्षा गराउँदै जिल्लाका सबै विद्यालय बन्द भइसकेका छन् ।
कोभिड-१९ महामारीअघि मनाङमा मंसिरमा वार्षिक परीक्षा सकिन्थ्यो । विद्यार्थी परिवारसहित चिसो छल्न सहरबजार झर्थे । फागुन-चैतबाट नयाँ शैक्षिक सत्र सुरु हुन्थ्यो । तर, कोरोना संक्रमणको जोखिमले पठनपाठन ठप्प हुँदा वार्षिक क्यालेन्डर नै बिग्रिएको हो ।
मनाङ ङिस्याङ गाउँपालिका-६ स्थित अन्नपूर्ण माविका प्रधानाध्यापक आनन्दराज घिमिरेलेका अनुसार मंसिर लागेयता हिमपात भएको छैन । तर, चिसो बढ्दै गएपछि छिटोछिटो अर्थवार्षिक परीक्षा सिद्धाएर विद्यार्थीलाई शैक्षिक भ्रमणमा लगिएको र त्यसपछि विद्यालय बन्द गरिएको छ । ‘मंसिर २३ मा परीक्षा सकियो, २४ मा परीक्षाफल दियौं । त्यसपछि पठनपाठन हुने कुरै भएन । १० दिन जति टुर लग्यौं,’ उनले भने, ‘पुस ११ बाट औपचारिक बिदा दियौं । १० गतेसम्म विद्यालय प्रशासन खुला नै थियो ।’
कोभिड-१९ महामारीका कारण बिथोलिएको शैक्षिक सत्र अर्को वर्षदेखि पुरानै समयमा सुरु गर्ने उनले बताए । मनाङ ङिस्याङ गाउँपालिकाका शिक्षा अधिकृत निलकण्ठ पौडेलका अनुसार पुस १ देखि माथिल्लो मनाङका सबै विद्यालय बन्द छन् । विद्यार्थी, शिक्षक, अभिभावक मंसिर अन्तिमसातातिरै चिसो छल्न सहरबजार झरेको थिए । ‘अहिले चिसोले बसिसक्नु छैन । पहिलेपहिले चैत १ बाट मात्रै खुल्थ्यो । अहिले १५ दिन छिटो खोल्न भनेका छौं,’ उनले भने ।
नार्पाभूमि गाउँपालिकाका विद्यालय भने मंसिर १५ पछि नै बन्द गरिएका थिए । सदरमुकाम चामेस्थित लोकप्रिय माविका प्रधानाध्यापक कृष्णदास कोइरालाले पुस ८ देखि विद्यालय बन्द गरिएको बताए । माघ २५ देखि पठनपाठन थाल्ने र चैत अन्तिम साताभित्र वार्षिक परीक्षा गर्ने तयारीमा रहेको उनले जानकारी दिए । चामे गाउँपालिकाका शिक्षा संयोजक शमसेर साउदका अनुसार गाउँ शिक्षा समितिको बैठकले पुस ११ देखि माघ २५ सम्म हिउँदे बिदा तोकेको छ । ‘हिउँदे बिदा भनेको ४५ दिन हो । हामीले सोहीअनुसार मिलाएर बिदा गरेका छौं । अघिपछि बिदा गर्ने नगर्ने, मिलाउने नमिलाउने विद्यालयले गर्न सक्छ,’ उनले भने ।
नासों गाउँपालिका-५ थोंचेस्थित प्रकाशज्योति माविका प्रधानाध्यापक पद्मराज पन्थीले फागुन १ देखि विद्यालय खुल्नेगरी पुस ११ बाट पठनपाठन बन्द गरिएको बताए । ‘अर्धवार्षीक परीक्षा सकिएको पुस ५ मै हो । ८ गते रिजल्ट सुनाएपछि ११ गतेदेखि विद्यालय बन्द नै गर्यौं,’ उनले भने, ‘विद्यार्थी, अभिभावक र शिक्षक बसेर अन्तरक्रिया गर्ने कार्यक्रम बाँकी छ । हामी विद्यालय खुलेपछि फागुन पहिलो साता त्यो काम गर्छौं ।’
चिसो बढ्दै गएपछि पठनपाठन गराउन सक्ने अवस्था नरहेकाले जिल्लाभरका विद्यालय बन्द भएका शिक्षा विकास तथा समन्वय इकाइ मनाङका प्रमुख मतिलाल चपाइँले बताए । ‘चिसो बढेपछि मनाङमा काम हुँदैन । यहाँका विद्यालयमा पढ्ने विद्यार्थी धेरै काम गर्न आउनेका छन् । मनाङीकै बालबालिका थोरै छन्,’ उनले भने, ‘चिसो बढ्दै जाँदा अभिभावक बेंसी झर्न खोज्छन् । अनि यो दबाब विद्यार्थी र शिक्षकमा पर्छ ।’ स्थानीय तहका शिक्षा समितिले निर्णय गरेरै बिदा निर्धारण भएको उनले जनाए ।
शिक्षा नियमावलीअनुसार वर्षमा ४५ दिन विद्यालय बन्द गर्न मिल्छ । यसमा ५ दिन स्थानीय बिदा लिन पाइन्छ । तर, विद्यालय खुलाउने र बन्द गर्ने निर्णय पछिल्लो समय स्थानीय तह र यसमा रहेको शिक्षा समितिले प्रधानाध्यापकसहितको बैठकमार्फत गर्ने गरेका छन् । मनाङमा ४ वटा मावि, २२ वटा आधारभूत गरी २६ वटा सामुदायिक विद्यालय छन् ।





