बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

धौलागिरी अस्पतालमा डायलासिस सेवाको क्षमता विस्तार

धौलागिरी अस्पतालमा डायलासिस सेवाको क्षमता विस्तार


  • ढोरपाटन संवाददाता
  • माघ ११ २०७९, बुधबार

बागलुङ/ धौलागिरी अस्पताल बागलुङले डायलासिस सेवाको क्षमता थप गरेको छ । मृगौला पीडितलाई निःशुल्क रुपमा डायलासिस सेवा प्रदान गर्दै आएको अस्पतालले क्षमता थप गरेको हो ।

डायलसिस प्रक्रियामा प्रयोग हुुने ‘आरो’ पानी उत्पादन गर्ने मेसिन थपिएपछि सेवा विस्तार गरिएको हो । आरोपानी प्रर्याप्त मात्रमा उत्पादन हुँदा डायलासिस सेवालाई तीन चरणमा विभाजन गरेर उपचार सेवा थप गरिएको धौलागिरि अस्पताल बागलुङका नर्सिङ अधिकृत तथा सुचना अधिकारी अञ्जना पौडेलले जानकारी दिईन् ।

आरोपानीको अभाव हुँदा विगतमा दैनिक दुई चरणमा मात्रै डायलसिस हुँदै आएको थियो । गत मंसिरदेखि दैनिक तीन चरणमा डायलासिस सेवा प्रदान गरिएको छ । आरोपानी २५० लिटर प्रतिघण्टा उत्पादन हुँदा दुई चरण थियो । अहिले आरोपानी प्रतिघण्टा एक हजार लिटर उत्पादन हुन्छ । डायलासिस मेसिन थप गर्न सके थप बिरामीको पनि उपचार गर्न सकिने सुचना अधिकृत पौडेलको भनाई छ ।

हाल अस्पतालमा ४४ जना मृगौलाका बिरामीले नियमित निःशुल्क रुपमा डायलासिस सेवा लिँदै आएका छन् । ती बाहेक पाँच जनाले उपचारको लागि पालो गर्नुपर्ने अवस्था छ । यद्यपी पालो कुर्नुपर्ने बिरामी जटिल प्रकृतिका छैनन् । उनीहरुले हप्ता वा पन्ध्र दिनमा एक पटक मात्रै डायलसिस गर्दै आएका छन् ।

नियमित सेवाका सुचिमा रहेका बिरामीमध्ये तीन जनाले हप्ताको तीन पटक अन्यले हप्ताको दुई पटक डायलसिस गराउँछन् । ६ वटा मेसिनबाट दैनिक डायलासिस गर्दै आएको सुचना अधिकृत पौडेलको भनाई छ । एउटा मेसिनले बेला बेलामा काम गर्दैनन । पाँच वटा मेसिन नियमित सञ्चालनमा छन् ।

गण्डकी प्रदेश सरकारसँग थप डायलसिस मेसिनको माग गरिएको छ । अझै पाँच÷छ वटा मेसिन सञ्चालन गर्न सक्ने आरोपानीको क्षमता रहेको उनले बताइन् । डायलसिसको लागि जिल्ला बाहिरका सरकारी तथा निजी अस्पतालमा रहेका बिरामीलाई जिल्लाबाटै सेवा दिन सकिने सुचना अधिकारी पौडेलले बताइन् ।

स्थानीय तहले पनि नागरिकको स्वास्थ्य सेवालाई ध्यानमा राखेर डायलसिस मेसिन खरिद गरिदिए सेवा उपलब्ध गराउन आफुहरु तयार रहेको पौडेल बताउँछिन् । एउटा मेसिन खरिद गर्दा करिब १५÷१६ लाख खर्च हुन्छ । धौलागिरि अस्पतालमा २०७५ साल बैशाख १० गतेदेखि दुई जना विरामीबाट निःशुल्क डायलासिस सेवा सञ्चालन गरिएको छ ।

डायलासिसको लागि गाउँबाट आउनेलाई पहिलो चरण, सदरमुकामदेखि नजिकै रहेका बिरामीलाई दोस्रो चरण र सदरमुकाममै बसोबास गर्ने बिरामीलाई तेस्रो चरण अर्थात् साँझको समयमा डायलसिस सेवा उपलब्ध गराउने गरी कार्य सूची तयार गरिएको छ ।

एक बिरामीको एक पटक डायलासिस विद्युत र डाइलाइजर बाहेकको करिव दुई हजार ६७० रुपैयाँ खर्च आउँछ । सरकारले उक्त रकमको शोधभर्ना गर्दै आएको छ । डायलसिस सेवामा पाँच जना जनशक्ति कार्यरत छन् । उक्त जनशक्ति सेवा प्रवाहको लागि अपुग भएको अस्पतालका प्रशासकीय अधिकृत छैठौँ तेजप्रसाद निउरेले जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->