शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

अयोध्याका लागि म्याग्दीबाट विदाइ गरियो दुई ‘देवशिला’

अयोध्याका लागि म्याग्दीबाट विदाइ गरियो दुई ‘देवशिला’


  • ध्रुवसागर शर्मा
  • माघ १२ २०७९, बिहिबार

म्याग्दी / कालीगण्डकी नदीबाट निकालिएका दुईवटा शिला विहीबार रुद्रभिशेकसहित विशेष पुजाआजा गरी गलेश्वरधामबाट अयोध्याका लागि विदाइ गरिएको छ । सो शिला हिन्दूहरुको पवित्र धार्मिक स्थल भारतको अयोध्यामा निर्माणाधिन श्रीरामजन्मभूमि मन्दिरमा भगवान रामको मुख्य मुर्ति बनेर विश्वभरका हिन्दूधर्मावलम्वीहरुद्धारा पुजिने भएको छ ।

शालिग्राम शिला पाइने विश्वकै एक मात्र नदी कालीगण्डकीबाट हिजो (बुधवार) निकालेर गलेश्वरधाम परिसरमा लगिएको सो शिला आज (विहीवार) मन्दिरमा रुद्राभिशेक सहित विशेष पुजा आजागरी जनकपुर हुँदै अयोध्याका लागि विदाइ गरिएको छ ।

म्याग्दीको बेनी नगरपालिका-६ ठूलोपहिरोस्थित कालीगण्डकी नदी किनारको शिला बुधवार (हिजो) क्रेनमार्फत निकाली गाडीमा राखेर गलेश्वर लगिएको थियो । बेनी नगरपालिकाका प्रमुख सुरत केसीले शिलाको पूजा आराधना गरी जनकपुर मन्दिरका पिठाधीस राम तपश्वेर दासलाई सो शिला हस्तान्तरण गरेपछि बाजागाजा र र्याली सहित बेनी बजार परिक्रमा गराई जनकपुरतर्फ पठाइएको बताए ।

रामको मुर्ति बन्ने शिलाको दर्शन गर्न सयौं भक्तजन,सरकारी निकायका प्रमुख तथा प्रतिनिधि,सर्वसाधारण लगाएतको भीड लागेको थियो । गत आइतवार गण्डकी प्रदेशका प्रमुख पृथ्वीमान गुरुङले धार्मिक बिधिअनुसार क्षमापुजा र गंगा पुजन गरेर शिला जनकपुर मन्दिरका पिठाधीस राम तपश्वेर दास र अयोध्याको राम मन्दिर निर्माण समितिका सचिव राजेन्द्रसिंह पंकजलाई शिलाको प्रतिक स्वरुप तीनवटा शालिग्राम हस्तान्तरण गरेका थिए ।

नेपाल सरकारको मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार १८ र १६ मेट्रिकटन तौल भएका, सात फिट लम्बाइ, पाँच फिट चौडाइ र तीन दशमलव पाँच फिट मोटाइका दुईवटा शिलाको पहिचान र क्षमापुजाको काम सम्पन्न भएपछि बिहीबार श्रीपञ्चमीको शुभसाइतमा शिला जनकपुर हुँदै अयोध्या पठाउन लागिएको बेनी नगरपालिकाका प्रमुख सुरत केसीले जानकारी दिए ।

हिन्दु धर्मावलम्बीहरूको केन्द्र अयोध्यासँगको जनकपुरको धार्मिक र ऐतिहासिक सम्बन्ध रहेको छ । कालीगण्डकीको शिला अयोध्या लगेर भगवान श्रीरामको मूर्ति बनाउँदा कालीगण्डकीको महत्व अझै बढ्ने अयोध्याबाट आउनुभएका राम मन्दिर निर्माण समितिका सचिव राजेन्द्रसिंह पंकजले बताए । ‘यहाँबाट लैजाने शिलाबाट श्रीरामको मूर्ति बनाएर मन्दिरमा राख्छौं,शालिग्राम पाइने कृष्णा गण्डकीको किनारका शिला देवताका अवतार हुन्’ उनले भने ।

बेनी नगरपालिकाले यो शिला गण्डकी प्रदेश सरकारलाई हस्तान्तरण गरेको छ । गण्डकी प्रदेश सरकारले मधेश प्रदेश सरकारलाई जनकपुर पुर्याएर हस्तान्तरण गर्ने छ । जनकपुरबाट नेपाल सरकारले भारत सहकारलाई हस्तान्तरण गरेपछि अयोध्या पठाइने बताइएको छ ।देवशिला पुजा गर्दै । तस्वीर:ढोरपाटन

यसरी वन्यो शिला अयोध्या लैजाने वातावरण
गत साउनमा भारत भ्रमणमा गएका नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य विमलेन्द्र निधीले अयोध्या राम मन्दिर निर्माण समितिका अध्यक्ष नृपेन्द्र मिश्र, श्रीराम जन्मभूमि तीर्थ क्षेत्रका महामन्त्री चम्पत राय र भारतको सत्तारुढ दल भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवालसँगको भेट गरे ।

भेटमा नेता निधीले अयोध्यामा निर्माणाधिन श्रीराम जन्मभूमि मन्दिरमा राख्ने धातुको धनुष नेपालमै निर्माण गर्ने र रामको प्रतिमा बनाउन आवश्यक शिला कालिगण्डकीबाट ल्याउने प्रस्ताव राखेका थिए । जनकपुरधामस्थित जानकी मन्दिरका तर्फबाट धनुष राख्ने र रामको प्रतिमा नेपालको कालीगण्डकी क्षेत्रको शिलाबाट बनाउने निधिको प्रस्तावमा भारतीय पक्ष सहमत भएको थियो। यसपछि नेपाल फर्किएका निधीले नेपाल सरकारलाई भारतीय पक्ष नेपालका दुवै प्रस्तावमा सहमति भएको जानकारी दिए ।

त्यसपछि पुस ३ गते बसेको पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको मन्त्री परिषद्को बैठकले रामको प्रतिमा निर्माणका लागि प्रयोग गरिने शालिग्राम शिलाको खोजी गर्ने निर्णय गरेको थियो । यसको खोजी म्याग्दी र कालिगण्डककी नदीको दोभानबाट सुरु गरिएको थियो । प्राविधिक तथा धार्मिक हिसाबले ठुलो पहिरो नजिकै उपयुक्त शिला फेला परेको हो । तत्कालीन समयमा शिलाको खोजीका लागि पहल गरेका नेपाली कांग्रेसका पूर्व उपसभापति विमलेन्द्र निधिसहितको टोली नै शिला उत्खनन् स्थलमा आएका थिए ।

गण्डकी प्रदेशको लाइफलाइन कालीगण्डकी कोरिडोर अन्तर्गत उत्तर–दक्षिण जोड्ने बेनी–गलेश्वर सडक खण्ड अन्तर्गत म्याग्दीको बेनी नगरपालिका वडा नं ६ ठुलो पहिरो नजिकै कालिगण्डकी नदीको तिरमा १८ टनको क्वाजराईट र १० टनको क्याल साइट नामक शिला पहिचान गरिएपछि विधिपूर्वक उत्खननको तयारी सुरू गरियो ।

त्यसपछि माघ १ गते जानकी मन्दिरका महन्थ, राम मन्दिरका प्रतिनिधिसहितको उपस्थितिमा गण्डकी प्रदेशका प्रमुख पृथ्वीमान गुरुङले क्षमा पूजा सहितका अन्य धार्मिक कार्य सहित बेनी नगरपालिकाका प्रमुख केसीले शिलाको प्रतिक स्वरुप ३ वटा शिला मुख्यमन्त्री गुरुङ,जानकी मन्दिरका महन्थ र अयोध्यावाट आउनुभएका राजेन्द्रसिंह पंकजलाई हस्तान्तरण गरेका थिए ।

नेपालमा यही विश्वकै दुर्लभ मानिएको शालिग्राम शिला जनकपुरधामस्थित जानकी मन्दिरलाई उपलब्ध गराउने छ भने त्यहाँबाट प्रक्रिया पुरा गरी अयोध्यामा लैजाने म्याग्दीका प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेलले बताए ।

कालिगण्डकी नदीमा कालो र सेतो शिला प्रशस्तै पाइएपनि शिला निकाल्न सम्भव नभएपछि सहज स्थानमा प्राविधिक तथा धार्मिक टोली केन्द्रित भएको थियो । उत्खनन् गर्दा नदीबाट हुनसक्ने क्षतिका बारेमा समेत टोलीलाई सचेत बनाइएको र निकालिन लागेको शिलाले नदी आसपासमा कुनै क्षतिको सम्भावना नभएकाले एक्स्काभेटरले खन्ने र क्रेनले उत्खनन गर्ने सहमति भएको थियो ।

कालीगण्डकी र शालिग्राम शिला
शालिग्रामलाई हिन्दु धर्मावलम्बीले विष्णुको अवतारका रुपमा पुज्ने गर्छन् । कालिगण्डकी नदीमा मात्र पाइने शालिग्राम हिन्दु धर्मावलम्बीका लागि निकै बहुमूल्य शिला भए पनि नदी दोहनका कारण शिला पाउन मुस्किल भएको गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष माधवप्रसाद रेग्मीले बताए । शालिग्राम शिला पाइने मुस्ताङ, म्याग्दी र पर्वत खण्डको नदी आसपासमा अवैध उत्खनन् तीव्र छ । मुस्ताङको दामोदर कुण्ड आसपासका क्षेत्रबाट बग्ने कालिगण्डकी नदी पवित्र तीर्थस्थलको रुपमा समेत चिनिन्छ । कालिगण्की नदीमा शालिग्राम शिला पाइने भएकाले पनि भक्तजनहरू खोजी गर्ने र दर्शका लागि जाने गर्दछन् ।

प्रसिद्ध मुक्तिनाथ मन्दिरको प्रवेशद्वारको रूपमा रहेको म्याग्दीको गलेश्वर शिवालयमा पवित्र कृष्णागण्डकीबाट उठेर ९ रोपनी क्षेत्रफलमा फैलिएको एउटै प्रसिद्ध गोलाकार चक्रशिलाको उत्तर पूर्वी कोणमा अवस्थित मन्दिरभित्र स्वयं उत्पत्ति ज्योतिर्लिङ्गेश्वर महादेव विराजमान भएको धार्मिक विश्वास रहेको छ ।

सत्ययुगमा सतीदेवीले अग्नीकुण्डमा हाम फालेर देह त्याग गरेपछि उनको मृत शरीर बोकेर शिव महादेवले पृथ्वीको भ्रमण गर्ने क्रममा गलेश्वरमा आएर गलापतन भएको हुँदा गलेश्वर नाम रहन गएको धार्मिक ग्रन्थहरूमा उल्लेख गरिएको छ। ज्योतिर्लिङ्ग, शालिग्राम, जलकूण्ड, शंखचक्रहरु, नागमणी आदि चक्राकार रूपी चिन्ह मानवनिर्मित नभई स्वंयम उत्पन्न भएको धार्मिक पुस्तकमा उल्लेख छ ।

अयोध्याको इतिहास
मर्यादा पुरुषोत्तम भगवान रामको जन्मस्थल,भारतीय संस्कृति,शिक्षा र सभ्यताको उद्गम्स्थल र प्राचीन सूर्यबंशी राजाहरुको राजधानी समेत रहेको प्राचीन नगरी अयोध्या हिन्दू सभ्यतालाई संसारभरी चिनाउने आखी झ्याल बनेको छ ।

नील नदीको किनारमा पिरामिडको अस्तित्व नहुदै, युरोपीय सभ्यताको केन्द्रबिन्दु मानिने युनान र रोममा सभ्य संस्कृति स्थापित नभइसकेको अवस्थामा भारतीय सभ्यतालाई विश्वमा चिनाउन सफल भएको साकेत नगरी अयोध्या पछिल्लो समय भारतीय राजनीतिको प्रमख केन्द्रसमेत बनेको थियो ।

नेपाल भारतको सिमानामा पर्ने सुनौलीबाट लगभग दुई शय किलोमिटर टाढा पश्चिममा पर्दछ अयोध्या । सभ्यताको पहिलो किरण सर्वप्रथम अयोध्याबाट नै युनान र त्यसपछि सारा युरोपभरि प्रसारण भएको यहाका सन्त महात्माहरुको भनाइरहेको छ ।

हालको राजनीतिक विभाजन अनुसार अयोध्या भारतको उत्तर प्रदेशमा पर्दछ । यहा करिव पौने छ लाख जनसंख्या रहेको छ । उत्तर प्रदेश सरकारले हालै फैजावाद जिल्लाको नाम अयोध्याजी कायम गरेको छ । यो नगर सरयु नदीको किनारमा अवस्थित छ । नेपालका महाकाली, कर्णाली र वबई नै भारतमा प्रवेश गरेपछि आपसमा मिली ‘सरय’ु बन्दछन् । सरयु हिन्दूहरुको लागि पवित्रतम नदी हो ।

मुगल सम्राट्ले सन् १५२८ मा मस्जिद निर्माण गरेको इतिहासमा उल्लेख छ । सन् १८५९ मा ब्रिटिस शासकले तारबार निर्माण गरी भित्र मुस्लिमलाई प्रार्थना तथा बाहिर हिन्दुलाई पूजा गर्न स्वीकृति दिने व्यवस्था गरेका थिए ।

सन् १९९२ मा विश्व हिन्दु परिषद्, शिवसेना तथा भारतीय जनता पार्टीका समर्थकले मस्जिदमा आक्रमण गरेर क्षति पु–याएका थिए । त्यसपछि फैलिएको हिन्दु–मुस्लिम दङ्गामा अयोध्यामा दुई हजारभन्दा धेरै मानिसले ज्यान गुमाएका थिए । सोही समय हिन्दूहरुले बाबरी मस्जिद समेत भत्काएका थिए । मस्जिद भत्काइ पछि सो क्षेत्र धेरै समयसम्म विवादित क्षेत्रको रुपमा रहेको थियो ।

९ नोभेम्बर सन् २०१९ मा सर्वोच्च अदालतले विवादित स्थलमा राममन्दिर निर्माण गर्न बाटो खुलाएको फैसला सुनाएको थियो । सोही फैसला पछि ५ अगस्ट २०२० मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राममन्दिरको भूमिपूजा गरेर सन् २०२४ भित्र निर्माणकार्य पूरा गरिसक्न निर्देशन दिएका थिए । अहिले सोही स्थानमा राम मन्दिर निर्माण भैरहेको छ ।

मन्दिर निर्माणको जिम्मा राम मन्दिर निर्माण ट्रस्टले पाएको छ । ट्रस्टका अधिकारीहरूको भनाइमा ४ हजार करोड भारतीय रुपियाँमा मन्दिर निर्माण भैरहेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->