पोखरा/ पोखराका मेयर धनराज आचार्यले प्राविधिक शिक्षा हासिल गरेका कुनै पनि विद्यार्थीहरू बेरोजगार बस्न नपर्ने उद्घोष गरेका छन् । उनले हातमा सीप भएकाहरुलाई पोखरा महागनरपालिकाले ‘स्टार्ट अप’ अनुदान उपलब्ध गराउने पनि बताए ।
‘प्राविधिक शिक्षा आजको आवश्यकता भन्ने कुरा नकार्न सकिने अवस्था छैन, त्यस कारण पोखरामा हामीलाई कति जनशक्ति चाहिने हो भनेर अहिले सर्वे गरिरहेका छौँ,’मेयर आचार्यले भने,‘महानगरले बेरोजगारहरूको तथ्याङ्क संकलनका लागि आह्वान गरिरहेको छ, केही वडाहरूमा विभिन्न प्राविधिक पोस्टका लागि आवेदन माग गरेको छ, तर निवेदनहरू एकदमै कम परिरहेको छ ।’ प्राविधिक शिक्षाको महत्त्व बुझाउन आवश्यक रहेको बताउँदै उनले ज्ञान एकातिर काम अर्कोतिर हुने अवस्थाको अन्त्य जरुरी रहेको पनि बताए ।
मेयर आचार्य पोखरा महानगरपालिकाको शिक्षा महाशाखा र गण्डकी बहुप्राविधिक शिक्षालय पोखराको आयोजनामा बिहीबार भएको मेयरसँग विद्यार्थी अन्तरसंवाद कार्यक्रममा बोल्दै थिए ।
सो अवसरमा बोल्दै प्राविधिक शिक्षा तथा व्यासायिक तालिम परिषद् (सिटिइभिटी) गण्डकी प्रदेशका निर्देशक प्रमोदभक्त आचार्यले प्राविधिक शिक्षाको महत्व सिकाइसँगै आर्जन र भविष्यका लागि थप परिष्कृत ज्ञानको हासिल भएको उल्लेख गरे ।
‘हाम्रो प्राविधिक शिक्षाको महत्व भनेकै अलिकति आयआर्जन गर्दै आफ्नो करिअरलाई अगाडी बढाउँदै लैजाने हो,’,उनले भने । गण्डकी बहु प्राविधिक शिक्षालयका निर्देशक लक्ष्मण तिमिल्सिनाले प्राविधिक शिक्षाको सम्बन्धमा केन्द्रीय शिक्षा नीति मै सुधारको आवश्यकता रहेको बताए । कार्यक्रममा सहभागी विद्यार्थीहरूले प्राविधिक शिक्षा अध्ययन गरेको भए पनि विभिन्न वाहानामा आफूहरू विभेदपूर्ण व्यवहार भइरहेको गुनासो गरेका थिए । कयौँ समयसम्म इन्टर्नसिपका नाममा पारिश्रमिक नदिइ काममा लगाउने, दिए पनि असाध्यै कम पारिश्रमिक बापत दिने, आफूहरूको क्षमता अनुसारको काम नपाउने लगायतका समस्याहरू उनीहरुले सुनाए ।





