
पोखरा / यती एयरलायन्सको एटीआर विमान दुर्घटना हुनुको प्रारम्भिक कारण दुबै इन्जिनका प्रोपेलर (ब्लेड) फेदर हुनु अर्थात् निश्चित डिग्री अनुसार छड्के नभई ९० डिग्रीमा रहनु देखिएको छ । यतिको सो विमान माघ १ गते पोखरामा दुर्घटनामा परेको थियो ।
फेदर फाइनल टर्न गर्नुअघि नै ‘बेसलेग’मा यस्तो देखिएको हो । सिंगापुरको ट्रान्सपोर्ट सेफ्टी इन्भेस्टिगेसन ब्यूरोले यस्तो तथ्य फेला पारेको हो । जसअनुसार गत साता गरिएको फ्लाइट डेटा (एफडीआर) र ककपिट भ्वाइस रेकर्डर (सीभीआर) को डेटा विश्लेषण तथा अनुसनधान गर्दा दुबै इन्जिनमा रहेका १२ (दायाँमा ६ तथा बायाँमा ६ ब्लेड) प्रोपेलर ब्लेड फेदर भएको देखिएको आयोगद्वारा सोमबार जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
एक प्रशिक्षक पाइलटका अनुसार एटीआर–७२ विमानको एउटा इन्जिनमा ६ र अर्को इन्जिनमा ६ वटा प्रोपेलर (ब्लेड) हुन्छन् । जहाजलाई उडाउँदा पाइलटले बल दिई अघि बढ्न प्रोपेलरको ब्लेड ककपिटमा रहने लिभरको सहायताले आवश्यकता अनुसार छड्के बनाउँछन् ।
‘जहाज उडान ब्लेडलाई कुनै निश्चित डिग्रीसम्म हामीले उडानमा छड्के बनाइरहेका हुन्छौं । यसो गर्दा जहाजमा ड्र्याग र थ्रस्ट पावर उत्पन्न हुन्छ । तर फेदर मोडमा हुनु भनेको जहाजको एरोडाइनामिक मुभमेन्ट नहुनु हो । अर्थात् इन्जिनले पावर दिए पनि जहाज अघि बढ्ने वा तलमाथि नहुने अवस्था हो,’ एटीआर विमानका ती पाइलटले भने ।
एटीआर पाइलटका अनुसार एटीआरको एउटा इन्जिनको प्रोपेलर फेदर हुनसक्छ तर दुबै फेदर मोडमा गएको यो बिरलै घटना हो । ‘उडिरहेको विमानका प्रोपेलर फेदरमा जाने दुईवटा मात्रै कारण हुन सक्छन् । कि त ककपिटमा पाइलटले लिभर डाउन गर्दा हुन्छ वा नभए अनुसन्धानको विषय हो,’ उनले भने ।
एक एभियसन प्राविधिकका अनुसार यस्तो अवस्थामा जहाजमा अत्यधिक घर्षण उत्पन्न हुन्छ । जहाजलाई अगाडि हुत्याउने सामार्थ्य इन्जिनमा हुँदैन । त्यसबेला जहाज आकाशबाट कुनै गह्रौं वस्तु खसे जसरी भुइँमा खस्ने गर्छ । यसरी जहाज दुर्घटनामा परेको आयोगले जनाएको छ । उक्त जहाजका दुवै इन्जिनका प्रोपेलर फेदरमा किन गयो भन्ने बारे भने आयोगले प्राविधिक र मानवीय दुवै पक्षबारे थप अनुसन्धान अगाडि बढाइएको आयोगका सदस्य सचिव बुद्धिसागर लामिछानेले बताएका छन् ।
काठमाडौंबाट पोखराका लागि उडेको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गको पश्चिमतर्फ ‘रनवे वान टू’बाट अवतरण गर्ने क्रममा दुर्घटनामा परेको थियो । लगत्तै सरकारले दुर्घटना जाँच आयोग गठन गरेको थियो । आयोगले सिंगापुरस्थित ट्रान्सपोर्ट सेफ्टी इन्भेष्टिगेसन ब्यूरोमा फ्लाइट डाटा रेकर्डर र ककपिट भ्वाइस रेकर्डर डाटा विश्लेषण गरेको थियो । आयोगका संयोजक, हवाई विज्ञ र सदस्यसचिव सिंगापुर गएका थिए । उनीहरु अनुसन्धान र विश्लेषणपछि नेपाल फर्किएका छन् ।





