पोखरा / बागलुङको प्रमुख जिल्ला अधिकारी (सिडिओ) मा रोशनीकुमारी श्रेष्ठलाई पठाइएको छ । गृह मन्त्रालयले विपद् व्यवस्थापन प्राधिकरणमा कार्यरत सहसचिव श्रेष्ठलाई बागलुङको प्रजिअ बनाई पठाएको हो । श्रेष्ठ आएसंगै बागलुङले पहिलो पटक महिला सिडिओ पाएको छ ।
तत्कालीन प्रजिअ रमेश ढकालको धादिङमा सरुवा भएसँगै बागलुङमा प्रजिअ खाली थियो । सहसचिव नेत्रप्रसाद सुवेदी जाने भनिएपनि उनी सञ्चार तथा सूचना प्रविधि मन्त्रालय गएसँगै श्रेष्ठलाई पठाइएको गृह मन्त्रालयले जनाएको छ ।
नेपाल सरकारको प्रतिनिधिका रूपमा जिल्लामा रहने प्रमुख जिल्ला अधिकारीलाई वैज्ञानिक ढंगले खटाउन भन्दै मन्त्रालयले प्रमुख जिल्ला अधिकारीको पदस्थापना, सरुवा वा काज सम्बन्धी कार्यविधि तर्जुमा कार्य अघि सारेको थियो ।
गृह मन्त्रालयले हालै सार्वजनिक गरेको कार्यविधिमा प्रमुख जिल्ला अधिकारीको सरुवा, पदस्थापन तथा कामकाजमा खटाउँदा विभिन्न चार वटा प्राथमिकता तय गर्ने उल्लेख छ । कार्यविधि ल्याएसँगै सोही अनुसार नै कर्मचारी खटनपटन हुने भन्दै मन्त्रालयको टिम केही दिनयता सूची तयारीमा लागेको थियो ।





