पोखरा / फागुन १ गते काठमाडौंमा यातायात मजदुरको आन्दोलन पश्चात भएको झडप पछि उत्पन्न लुटपाट, तोडफोड र आगजानी कार्यमा संलग्न भएकाहरुलाई प्रहरीले पक्राउ गरेको छ ।
फागुन १ मा माछापोखारीमा नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, नेपाल यातायात मजदुर संघ र अखिल नेपाल यातायात मजदुर संघका यातायात व्यवसायीहरुले ट्राफिक कारवाहि लगायत दश बुदे माग सहित विरोध गरेका थिए ।
सोही क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडपको स्थिति सिर्जना भएको थियो । झड्प हुन थालेपछि प्रदर्शनकारीले प्रहरी भ्यान, प्रहरी विट, ट्राफिक आईल्याण्ड तोडफोडका साथै आगजानी गरेका थिए ।
सोही क्रममा प्रदर्शनकारीहरुले ल्होत्से मल तोडफोड गरि मलमा रहेको मोबाइल पसलमा लुटपाट समेत गरेका थिए । घटनामा संलग्न रहेका १५ जनालाई प्रहरीले तिन दिनपश्चात पक्राउ गरेको हो ।
काठमाण्डौका विभिन्न स्थानबाट पक्राउ गरी अपराधिक उपद्रव गर्न नहुने कसूर र चोरी सम्बन्धि कसुर मुद्दा दर्ता गराई थप अनुसन्धान तथा कारवाहिको लागि आज प्रहरी वृत्त, बालाजु र महाराजगंज लगिएको प्रहरीले जानकारी दिएको छ ।
पक्राउ पर्नेमा काभ्रे पाँच खोला घर भई हाल काठमाडौं जरङ्खु बस्ने सहचालक सुरज मगर (ताप्ले), उदयपुर चौदण्डीका रितेश वस्नेत, मोरङ बेलबारीका यमन राई, इन्द्र तामाङ, इलाराज गुरुङ, राजन राउत, हरिशरण तामाङ, विकास गुरुङ, संविधान परियार, कविन खड्गी, सुनिल कालिकोटे, रोमन नगरकोटी, सुदिप तामाङ, माधव शाही, केशर राई लगायत पक्राउ परेका हुन् ।





