बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३
  • ११ कार्तिक २०८३ , बुधबार
  • October 28 2026

चार जनाको नाम अस्वीकार गरेपछि ओलीलाई नै राष्ट्रपति बन्न प्रचण्डले गरे प्रस्ताव

चार जनाको नाम अस्वीकार गरेपछि ओलीलाई नै राष्ट्रपति बन्न प्रचण्डले गरे प्रस्ताव


  • ढोरपाटन संवाददाता
  • फाल्गुन ७ २०७९, आइतबार

काठमाडौं / पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई राष्ट्रपति बनाउने एमाले अध्यक्ष केपी शर्मा ओलीको निरन्तरको अडानपछि एमाले-माओवादी केन्द्रसहितको सत्ता गठबन्धन धरापमा परेको छ।

पोखरेललाई राष्ट्रपति बनाउने विषयमा ओलीको निरन्तरको अडानपछि प्रधानमन्त्री प्रचण्ड एमालेसँगको गठबन्धन लामो अवधि नजाने निष्कर्षमा पुगेका छन्।

स्रोतका अनुसार सभामुख र राष्ट्रपति एमालेले पाउने समझदारी भएयता ओलीले पोखरेललाई पार्टीले राष्ट्रपति उम्मेदवार बनाउने र १० पुसको सहमति अनुसार माओवादीले पनि समर्थन गर्नुपर्ने बताउँदै आएका छन्। तर, प्रचण्ड कुनै हालतमा पनि पोखरेललाई राष्ट्रपति स्वीकार गर्न तयार देखिँदैनन्।

‘राष्ट्रपतिमा ओलीले ईश्वर पोखरेलबाहेक अरु कसैको नाम नै सुन्न चाहेका छैनन्, पोखरेल नै राष्ट्रपति हुनुपर्छ भन्ने उहाँको एकोहोरो अडान छ,’ माओवादीका एक शीर्ष नेताले  भने, ‘ओलीसँग पटक-पटक भएका वार्तामा प्रचण्डले पोखरेलको विकल्पमा एमालेबाटै विभिन्न नामहरु प्रस्तुत गर्नुभएको छ। तर, ओली ती नाम सुन्न तयार छैनन्।’

ती नेताका भनाइमा पोखरेललाई राष्ट्रपति स्वीकार गर्न नसकिने स्पष्ट जवाफ प्रचण्डले धेरैअघि नै दिएका हुन्। तर, स्पष्ट जवाफका बाबजुद ओलीले प्रत्येक भेटमा राष्ट्रपति उम्मेदवार पोखरेललाई नै स्वीकार गर्न दबाब दिइरहेका छन्।

‘राष्ट्रपतिका लागि एमालेबाट सुवास नेम्वाङको चर्चा हुँदै आएको हो, तर ओली नेम्वाङलाई समेत राष्ट्रपति बनाउन चाहँदा रहेनछन्,’ प्रचण्ड-ओलीबीच हुने कुराकानीबारे जानकार ती नेताले भने, ‘प्रचण्डले नेम्वाङको नाम लिँदा ओली भन्दा रहेछन्- एमालेले पोखरेललाई नै उम्मेदवार बनाउँछ र १० पुसको सहमति अनुसार माओवादीले पनि पोखरेललाई स्वीकार गर्नुपर्छ।’

जानकारी अनुसार नेम्वाङलाई राष्ट्रपति बनाउनेमा ओली असहमत देखिएपछि प्रचण्डले एमालेका अन्य केही नेताको नाम ओलीसमक्ष प्रस्तुत गरेका छन्। तर, प्रचण्डले सुझावका रुपमा प्रस्तुत गरेका ती नेताको नाम ओलीले स्वीकार गरेका छैनन्।

‘आफूले भने बमोजिम नगर्लान् भन्ने शंका भएकैले त नेम्वाङलाई राष्ट्रपति बनाउन नचाहेका होलान्,’ ती नेताले थपे, ‘ओलीलाई विवेकका आधारमा चल्ने होइन, ईश्वर पोखरेलजस्ता ‘रबर स्ट्याम्प’ र गलत सल्लाह दिने व्यक्ति राष्ट्रपति चाहिएको रहेछ। त्यस्ता व्यक्तिलाई माओवादीले राष्ट्रपति स्वीकार गर्ने कुरै छैन।’

भावी राष्ट्रपतिका लागि प्रचण्डले सुझावका रुपमा पेस गरेका एमालेका नेताहरुमा अमृत बोहोरा, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली र सुवास नेम्वाङ छन्। ती नेताले थपे, ‘तर, यी नेताहरुलाई पनि राष्ट्रपतिको उम्मेदवार बनाउन ओली तयार देखिँदैनन्।’

पटक-पटक भएका कुराकानीमा समेत राष्ट्रपति उम्मेदवारबारे सहमति जुट्न नसकेपछि प्रचण्डले ओलीलाई नै राष्ट्रपति बन्न प्रस्ताव समेत गरेका छन्। तर, प्रचण्डको यो प्रस्ताव पनि ओलीले अस्वीकार गरेका छन्।

पोखरेलको सवालमा ओली टसमस नभएपछि प्रचण्ड विकल्पको खोजीमा लागेका छन्।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->