बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३
  • ११ कार्तिक २०८३ , बुधबार
  • October 28 2026

राष्ट्रपति सहमतिबाटै चुनिनुपर्छ : महासचिव गुरुङ

राष्ट्रपति सहमतिबाटै चुनिनुपर्छ : महासचिव गुरुङ


  • ढोरपाटन संवाददाता
  • फाल्गुन ७ २०७९, आइतबार

पोखरा / नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का महासचिव देवप्रसाद गुरुङले सहमतिबाटै राष्ट्रपति चुनिनुपर्ने बताएका छन् । आइतबार पोखरामा सञ्चारकर्मीसँग भेटघाट गर्दै उनले राष्ट्रियता र संविधानको रक्षा गर्न साझारुपमा राष्ट्रपति आउनुपर्ने बताए ।

राष्ट्रपति दल विशेष चयन नहुने बताउँदै उनले ‘न्युट्रल’ उम्मेदवार खडा गर्न सत्ता र प्रतिपक्ष दल दुवै उत्तिकै जिम्मेवारी रहेको बताएका छन् । ‘हामीले को राष्ट्रपति बनाउने भन्ने विषयमा बोलेका छैनौं‚’ महासचिव गुरुङले भने, ‘नीतिगत र वैचारिक कुरा उठाएका छौं । यसमा आजसम्मका उपलब्धि संस्थागत गर्न सक्ने सक्षम पात्र साझा रुपमा उठाउनेछौं ।’

उनले संविधानमाथि प्रहार गर्न विभिन्न शक्तिको चलखेल बढेको बताउँदै संविधान र राष्ट्रियता रक्षाका लागि सबै दल एकै ठाउँमा उभिनुपर्ने बताएका थिए ।

उम्मेदवारी दिन्छौं भन्ने दलले यस विषयमा एक पटक सोच्नुपर्ने उनको भनाइ छ । ‘मुलुकको अस्मिताबारे सोच्नुपर्ने बेला आएको छ‚’ उनले थपे, ‘संविधानमाथि खतरा पैदा हुन सक्ने भएकाले संविधान र राष्ट्रियता जोखिममा छ । यसका लागि राष्ट्रिय सहमतिको अभियान चलाउनुपर्छ । यो अभियान माओवादी केन्द्रले चलाएको छ । आर्थिक समृद्धि र मुलुकको रक्षाका लागि पनि सहमति र सहकार्य अहिलेको आवश्यकता हो ।’

गुरुङले राष्ट्रपतिका लागि सहमतिको विकल्प नरहेको बताएका छन् । ‘मुलुकको परिवर्तनका लागि आत्मसात् गर्दै सबै दलको सहमति हुनुपर्छ‚’ उनले भने, ‘संविधानको संरक्षण, गणतन्त्रको संरक्षण, हालसम्मका उपलब्धिको संरक्षण गर्नुपर्ने खालको हुनुपर्‍यो ।’

गत पुस १० मा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्रीमा नियुक्त भएपछि पुस २६ मा राष्ट्रिय सहमतिकै आधारमा विश्वासको मत प्राप्त गरेको बताउँदै उनले विगतका घटनाक्रमबाट पाठ सिक्दै अघि बढ्नुपर्ने बताए ।

अहिलेसम्म नेपालमा दलीय भावना बलियो रहेको बताउँदै उनले साझा भावना सिर्जना गर्न पनि अहिले राष्ट्रपति राष्ट्रिय सहमतिबाटै गर्नुपर्ने उनले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->