काठमाडौं / नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठकले राष्ट्रपतिबारे अन्तिम निर्णय गर्ने अधिकार पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दिएको छ ।
आज पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको बैठकले राष्ट्रपतिमा राष्ट्रिय सहमति कायम गरेर पार्टीको तर्फबाट निर्णय लिने अधिकार प्रचण्डलाई दिएको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए ।
काठमाडौं । नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठकले राष्ट्रपतिबारे अन्तिम निर्णय गर्ने अधिकार पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दिएको छ ।
आज पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको बैठकले राष्ट्रपतिमा राष्ट्रिय सहमति कायम गरेर पार्टीको तर्फबाट निर्णय लिने अधिकार प्रचण्डलाई दिएको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए । ‘आजको बैठकले राष्ट्रपतिबारे अन्तिम निर्णय गर्ने अधिकार अध्यक्षज्यूलाई दिएको छ । राष्ट्रिय सहमति कायम गरेर अघि बढ्ने निर्णय भयो,’ महराले भने ।
पदाधिकारी बैठकमा प्रचण्डले तत्काल बैठक बस्न सम्भव नहुने भएकाले राष्ट्रपतिबारे निर्णय लिने अधिकार आफूलाई दिन प्रस्ताव गरेका थिए। ‘हामीले राष्ट्रिय सहमतिका लागि प्रयास गरेका छौं। सहमतिमै राष्ट्रपतिको उम्मेदवार तय हुन्छ,’ प्रचण्डको भनाइ उद्धृत गर्दै पार्टी कार्यालयका सचिव डोरप्रसाद उपाध्यायले भने, ‘सहमति नभएको अवस्थामा के गर्ने र कस्तो पात्रलाई समर्थन गर्ने भनेर मलाई अधिकार दिनुस्, किनकि तत्कालै बैठक बस्न सम्भव हुँदैन।’
बैठकमा प्रचण्डले सहमतिका आधारमा उम्मेदवार तय नभए कांग्रेससँग सहकार्य हुन सक्नेतर्फ संकेत गरेका थिए। स्रोतका अनुसार प्रचण्डले राष्ट्रपति निर्वाचनमा आफूहरू निर्णायक भएकाले शान्ति प्रक्रिया सम्पन्न गर्ने विषयमा अडान लिनुपर्ने बताएका थिए।
‘हामीले शान्ति प्रक्रिया लगायतका विषयमा सहमति खोज्नुपर्छ। सहमति हुन नसके अधिकतम सहमति खोज्ने हो,’ बैठकमा सहभागी एक पदाधिकारीले भने, ‘शान्ति प्रक्रियालाई टुंगोमा पुर्याउने सवालमा कांग्रेस र सेना जति जिम्मेवार छन्, त्यो जिम्मेवारीपन एमालेमा छैन। त्यसैले पनि हाम्रो सहकार्य कांग्रेससँग अलि सहज हुन्छ।’





