पोखरा/ पोखरा विश्वविद्यालयको १८ औं दीक्षान्त समारोहबाट ६ हजार ९९९ जना विद्यार्थी दीक्षित भएका छन् । कुलपति तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उनीहरुलाई दीक्षित गरेका हुन् ।
पोखरा विश्वविद्यालयबाट हालसम्म स्नातक र स्नातकोत्तर गरी ४८ हजार ९०८ जना विद्यार्थी दीक्षित भइसकेका छन् । सोमबार पीएचडी गर्ने एकजनामात्रै दीक्षित भएको विश्वविद्यालयले जनाएको छ ।
ती विद्यार्थीले पनि व्यवस्थापनमा पीएचडी गरेका हुन् ।स्नातकोत्तरमा सोमबार दिक्षित हुनेमध्ये ठूलो संख्या एमबीएको छ । जहाँ ६९४ जना विद्यार्थी रहेका छन् भने एमबीए फाइनान्स गर्नेहरुको संख्या १२० जना रहेको छ । एमफील गर्ने ३५, कन्ट्रक्सन म्यानेजमेण्टमा एमएस्सी गर्ने ११०,वातावरण विज्ञानका ४५,प्राकृतिक स्रोत तथा वातावरणमा एमएस्सी ७,कम्प्युटर विज्ञानका २६,एमबीए ६९४ पनि दीक्षित भएका छन् । स्नातकतर्फ बीबीएमा २ हजार २२५,बीबीए (ब्याङ्किङ एण्ड इन्स्योरेन्स) मा ४६४,बी फर्मामा १५६, बीपीएचमा २८४,बीइ कम्प्युटरमा २३५ जना रहेका छन् ।
विश्वविद्यालयका अनुसार दीक्षितमध्ये ५७२ जना विद्यार्थी डीन लिस्टमा पर्न सफल भएका छन् । स्नातक तहमा सीजीपीए ३.७ र स्नातकोत्तरमा ३.८ अंक प्राप्त गर्नेलाई डीन लिस्टमा राखिएको हो ।
२०५४ सालमा पोखरा ३० ढुंगेपाटनमा स्थापित पोखरा विश्वविद्यालयसँग हाल व्यवस्थापन,विज्ञान तथा प्रविधि,स्वास्थ्य विज्ञान र मानविकी तथा सामाजिक शास्त्र गरी ४ वटा संकायहरु रहेका छन् । ती संकायअन्तर्गत ४ वटा आंगिक, ४ वटा संयुक्त आंगिक र ५८ वटा सम्बन्धन प्राप्त महाविद्यालयहरु रहेका छन् । ती महाविद्यालयहरुले स्नातक र स्नातकोत्तर तहमा १७,एमफिलमा एउटा र विद्यावारिधिमा ३ वटा गरी ३८ वटा कार्यक्रम संचालन भइरहेका छन् । आङ्गिक,संयुक्त आङ्गिक र सम्बन्धन प्राप्त महाविद्यालयहरुमा ६४ वटा कार्यक्रम संचालितल रहेको विश्वविद्यालयका रजिष्टार दीपकबहादुर भण्डारीले जानकारी दिए ।
दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले दक्ष जनशक्ति पलायन चुनौतीको विषय भएको बताए । विभिन्न कारणले विदेश पलायन हुने जनशक्तिलाई रोजगारी र सीपका माध्यमले स्वदेशमै बस्ने वातावरण निर्माण गर्ने अभिभारा विश्वविद्यालयहरुमा रहेको पनि उनले बताए ।
उनले निशुल्क शिक्षाको हकलाई व्यवहारमा कार्यान्वयन गन सरकारले संघीय शिक्षा ऐनको अन्तिम तयारी गरिरहेको जानकारी पनि दिए । ‘संघीय शिक्षा ऐनमार्फत् शिक्षा क्षेत्रका नीतिगत, संस्थागत, संरचनागत र कार्यगत चुनौती एवं समस्या सम्वोधन हुने अपेक्षा गरिएको छ,’,उनले भने ।
संवोधनको क्रममा उनले भूकम्प, कोभिड, रसिया–युक्रेन युद्ध लगायतले विश्वव्यापी अर्थतन्त्रमा परेको असर र त्यसबाट नेपालको अर्थतन्त्रमा परेको बाछिटाहरूलाई न्यूनीकरण गर्न तथा वातावरणीय र जलवायु परिवर्तनका कारण भविष्यमा आउनसक्ने संकटबाट मुलुकलाई जोगाउने जिम्मेवारी नयाँ पुस्ताको काँधमा आएको पनि उल्लेख गरे । प्रधानमन्त्री प्रचण्डले विश्वबजारमा आफूलाई प्रतिस्पर्धी र अब्बल प्रमाणित गर्न विद्यार्थीहरुसँग धैर्य, संयमित र दूरदर्शीता आवश्यक रहेको पनि बताए । आफू कास्कीको लेबाडेमा जन्मेको स्मरण गर्दै उनले पोखरासँग भावनात्मक सम्बन्ध रहेको बताउन छुटाएनन् ।





