पोखरा/ पोखराबाट अब रातको समयमा समेत उडान हुने भएको छ । नयाँ विमानस्थल संचालनमा आएसँंगै अब रात्रीकालीन उठान हुने भएको हो । पुस १७ गतेबाट सञ्चालनमा आएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा हाल बुद्ध, यती, श्री, सौर्य, गुणलगायतका वायुसेवाले दिनमा आन्तरिक उडान गर्दै आएका छन् ।
विमानस्थलका प्रमुख विक्रम गौतमका अनुसार सबै संरचना तयार भए पनि रात्रिकालीन उडान भने फागुन २५ गतेबाट सुरु हुनेछ । पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले रात्रीकालीन उडान निश्चित भए पनि अन्तर्राष्ट्रिय उडानमा भने अन्योलता भएको बताए । उनले पोखरेलीहरुले अन्तर्राष्ट्रिय उडानका लागि संघ सरकारलाई दबाव दिनुपर्ने बतााए । ‘अब पोखरा सबै हिसाबले तयार भइसक्यो, खालि व्यवस्थापनको पाटोमा मात्रै जानुपर्नेछ । पोखरा हरेक हिसाबले सुरक्षित ठाउँ हो । पोखरा असुरक्षित भन्ने भ्रमलाई चिर्नुपर्छ । रातमा पनि उडान हुनेभएपछि पोखरा चलायमान हुनेछ’ उनले भने,‘सबै हिसाबले हामी तयार छौं तर अन्तर्राष्ट्रिय उडानका लागि भने केन्द्रको ध्यानाकर्षण गर्नुपर्ने देखियो ।’उनले विमानस्थल बनेपनि पोखराको व्यस्त सडक समस्या देखिएकाले यसको पनि व्यवस्थापन गर्न लेखनाथ र पृथ्वीचोकदेखि सडक निमार्णको काम अघि बढाइने बताए ।
पोखरा विमानस्थलका प्रमुख विक्रम गौतमले विमानमा चरा ठोक्किनु नौलो कुरा नभएको भन्दै अन्तर्राष्ट्रिय स्तरमै यस्ता घटना हुँदै आइरहेको सुनाए । उनले चरा ठोक्किने अवस्था घटाउनका लागि नदी तथा नहरमा सिनो फाल्ने काम बन्द गर्नुपर्नेमा जोड दिए । नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष आनन्दराज मुल्मीले पोखराले रात्रीकालीन उडानसँगै पर्यटकका लागि रातको यातायात्र, खानपिन र बसाइको व्यवस्थापन हुनुपर्नेमा जोड दिए । समस्या पर्नसक्ने समस्या देखिने । उनले उडान भयो भन्दैमा खुसी भइहाल्नुपर्ने अवस्था नरहेको जिकिर पनि गरे ।
‘पोखरामा विमानस्थल त पहिला पनि थियो ।
विमानस्थल नै नभएर बनाएको होइन । अन्तर्राष्ट्रिय विमानस्थल बनाउनु थियो बनायो तर अन्तर्राष्ट्रिय रुपमा बन्नुपर्ने संरचना भने बनेको छैन,’ उनले भने, ‘यहाँ रात्री बाहन कहाँ छ ? जहाजबाट झरेपछि निर्धारित स्थानसम्म जानका लागि कत्तिको सहजता छ ? जहाज झर्नुमात्रै पर्याप्तता होइन । खानाबस्नको पनि सोही अनुसारको व्यवस्थापन हुन जरुरी छ ।’
उनले विमानस्थलमै समेत बाहिरबाट हेर्दा काम सम्पन्न भएको देखिएपनि भित्रीरुपमा अझै सम्पन्न नभएको दाबी पनि गरे । ‘अझै केही संरचना बन्न आवश्यक छ । बाहिर जति देखियो त्यतिमात्रै हो । हाम्रो यहाँ यरोव्रिज छ । त्यो चढ्न जेट विमान चाहिने रहेछ । यरोव्रिज चढ्न जेट विमान कहिले चढ्ने ?’,उनले प्रश्न गरे । उनले पोखराको बारेमा दुस्प्रचार बढी हुँदा पर्यटन व्यवसायमा समेत ठूलो नोक्सानी भइरहेको बताए ।
विमानस्थलले म्याचुरिटी पिरियड पार गरेसँगै बुद्धले मार्च ९ गतेबाट रात्रिकालीन उडान गर्न लागेको हो । बुद्धले बेलुका ८ बजेसम्म उडान गर्नेछ । यसअघि नागरिक उड्डयन प्राधिकरणले फेब्रुअरी २३ बाट पोखराबाट अन्तर्राष्ट्रिय उडान गर्ने घोषणा गरेको थियो । सोही दिनबाट रात्रिकालीन उडान हुने प्राधिकरणले जनाए पनि अहिलेसम्म तालिका सार्वजनिक हुन सकेको थिएन ।





