पोखरा/ मंगलबार दिउँसो पोखरा ३३ दुईपिप्लेस्थित सुकुम्बासी बस्तीमा विस्फोटक पदार्थ पड्कींदा दुई बालक घाइते भए । घाइते बालकको हाल पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।
घाइते हुनेमा १५ वर्षीय माइकल चौधरी र १३ वर्षीय सविन तामाङ रहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी निरीक्षक ज्ञान खड्काले जानकारी दिए । उनका अनुसार घटनामा विस्फोट भएको के हो भन्ने अझै यकिन भएको छैन् । घटनाको विस्फोटक पदार्थ कहाँ बाट ल्याए कसरी ल्याए भनि स्थलगत रिर्पोटिङ गर्दा बालकले सेनाले तालिम गर्ने स्थानबाट ल्याएको भेटिएको छ । घटनालगत्तै पुनः पड्कीने डरले उक्त विस्फोटक पदार्थका बाँकी अंश स्थानीयले शौचालयमा लगेर फ्याकी दिए ।
शौचालयमा फ्याकेपछि उक्त बस्तु के हो भन्ने यकिन हुन सकेन । तर बुधबार उक्त वस्तु शौचालयबाट निकालिएको छ । अस्थाई रुपमा बनाएको शौचालयबाट निकालिएको उक्त बस्तु ग्रिनेड बमको जस्तै देखिएको छ । प्रहरी स्रोतले उक्त विस्फोटक पदार्थ ग्रिनेड (बम) हुन सक्ने सम्भावना प्रवल देखिएको छ । ‘पिन पनि रहेछ । यो ग्रिनेड हुन सक्छ । ठ्य्याकै ग्रिनेडकै पिन भएको जस्तो देखियो’ स्रोतले भन्यो । ग्रिनेड जस्तो देखिने विस्फोटक पदार्थ सेनाले तालिम गर्ने स्थानमा भेटिएको घाइते बालक माइकलले बताए । बालकका भाइ र उनी घरमा कोहि पनि नभएको समयमा पौडी खेल्न गएका थिए । पोखरा ३३ र १४ जोड्ने उक्त खोलाको पारी सेनाले तालिम गर्ने चौर छ । जहाँ बम पनि पड्काउने गरिन्छ ।
‘घरमा कोहि नभएको बेला भाइ र म घुम्दै पौडी खेल्न गएका थियौ । हामी पारी आर्मी क्याम्प (तालिम स्थल) तिर गएम । कम्पाउन्ड सम्पाउन्ड केहि पनि थिएन, नभएर नै गएको हो हामी । त्यहाँ बम भेटाएम’ माइकलले भने, ‘हामीले त पड्कीएको बम होला भन्ने ठान्यौ अनि लिएर आयौ । बम हान्ने ठाउँमै भेटेका थियौँ भाइले मलाई सोध्यो यहाँभित्र के छ ? मैले मलाई नि थाहा छैन् भनेँ अनि म काँटिले खोप्छु भन्यो नखोप भन्दाभन्दै खोप्यो । छ्वास्स भथ्यो अनि मैले हातले फाल्न खोज्दा पड्कियो ।’ उनले उक्त बस्तु गोलो भएको बताए । विस्फोटक भएको वस्तुको अंश देखाउँदै सोही बमको रहेको जिकिर गरे ।
‘बम हो भन्ने त थाहा थियो तर युज गरिसकेको होला भन्ने लाग्यो’ उनले थपे,‘दुई तिन महिना तालिम हुन्छ र एक महिना कोहि पनि हुँदैन त्यतिबेला घासँदाउरा गर्न मान्छेहरु पनि गइराख्छन् । ठ्य्याकै दुई
पिप्लेको पारी हो । त्यहि भएर हामी पनि त्यहाँ गएका हौँ ।’ स्थानीयले भने उक्त स्थानमा संवेदनशील तालिम भएपनि उक्त क्षेत्र असुरक्षित तरिकाले छाडिएको बताए ।
उक्त स्थान खुल्ला राख्दा सद्यैँ जोखिम हुने गरेको स्थानीहरुको भनाइ रहेको छ । स्थानीय टेकबहादुर थापा मगरले बालकहरुलाई सेती तरेर घरतर्फ (आर्मी तालिम केन्द्र) आउँदै गरेको देखेको र हातमा केहि ल्याएको देखेको बताए । उनले बस्तीमा विस्फोट भएको आवाज आएपछि उनी दौडिएर गएको बताए । ‘खोला तरेको मैले नि देखेको थिए । त्यहि भएर पड्कन नपाउँदै दौडिदै आएँ । मलाई शंक लागेकै कारण दौडिदै आए किनकी उनीहरुले हातमा केहि ल्याएका थिए ’ उनले भने, ‘पड्किएपछि त्यो बमको बाकी भाग फेरी पड्कीन्छ भन्दै शौचालयमा फालेछन् । त्यसले गर्दा तत्कालै प्रहरीले के हो पड्कीएको भन्ने थाहै पाएन ।’
उनले बुधबार विहान उक्त चिज शौचालयबाट निकालि सावुनपानीले धोएर प्लाष्टिकमा हालि ल्याएका थिए । उक्त बस्तु हेर्दा ग्रिनेड रहेको र ग्रिनेडको पिन ननिकालिएको अवस्थामा थियो । घटना यस अघि पोखरा महानगरपालिकाले हटाउन लागेको सुकुम्बासी बस्तीमा भएको हो । ३ महिनाअघि मात्रै उक्त सुकुमबासी हटाउन महानगरले प्रहरी, नगर प्रहरी परिचालन गरेको थियो ।





