काठमाडौं / राष्ट्रपति निर्वाचनका लागि सहमति जुटाउन प्रधानमन्त्री निवास बालुवाटारमा बसेको आठ दलको बैठक सकिएको छ। बैठकले नेपाली कांग्रेसका उम्मेदवारलाई राष्ट्रपतिमा अघि सार्ने निर्णय गरेको छ।
नेकपा (एकीकृत समाजवादी) उपाध्यक्ष प्रकाश ज्वालाले बैठकबाट कांग्रेसलाई राष्ट्रपतिको उम्मेदवारमा समर्थन गर्ने निर्णय गरेको जानकारी दिए। ज्वालाले उपराष्ट्रपतिको उम्मेदवारबारे कुनै कुरा नभएको बताए। उनले दलहरुले आ-आफ्नो दाबी पेश गरेपनि संसदको सबैभन्दा ठूलो दल कांग्रेसलाई राष्ट्रपति दिन आठ दल एक भएको बताए।
उनले एकीकृत समाजवादीले के लिने भन्नेबारे अहिले कुरा भइनसकेको जानकारी दिए।
राष्ट्रपति निर्वाचनका लागि शुक्रबार (१२ फागुन) मा बनेको आठ दलीय गठबन्धनको निर्णयसँगै राष्ट्रपतिमा कांग्रेसले खडा गर्ने उम्मेदवार भारी मतका साथ विजयी हुने देखिएको छ।
कांग्रेस-माओवादीसहित उल्लेख्य मतभार रहेका दलहरुको गठबन्धन बनेपछि यो गठबन्धनका उम्मेदवार ३१ हजार भन्दा बढी मतभारका साथ राष्ट्रपतिमा विजयी हुने सम्भावना देखिएको छ।
संघीय संसद र प्रदेश सभाका सदस्य मतदाता हुने राष्ट्रपति निर्वाचनमा नेपाली कांग्रेसको मतभार १६ हजार २ सय २१ छ भने माओवादी केन्द्रको ७ हजार ७ सय ७६ छ।
यसैगरी एकीकृत समाजवादीको २ हजार ६ सय ७३, जसपाको २ हजार १ सय ४५, जनमत पार्टीको १ हजार २ सय ४२, लोसपाको ९ सय ७१, नागरिक उन्मुक्तिको ८ सय ४ र राष्ट्रिय जनमोर्चाको २ सय २३ मतभार छ। यी सबै मतभारहरुको कूल योगफल ३१ हजार ६७ हुन आउँछ।





