पोखरा / नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी विभाजनपछि पहिलो पटक नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपाललाई संस्थागतरुपमा पत्र लेखेका छन् । एमाले अध्यक्ष ओलिले राष्ट्रपतिको निर्वाचनमा आफ्नो पार्टीका उमेदवार सुवास नेम्वाङलाई मत दिन आग्रह गर्दै एकिकृत समाजवादीका अध्यक्ष नेपाललाई पत्र लेखेका छन् ।
ओलीले पत्रमा पूर्वसभामुख नेम्वाङले संविधानको मर्म र भावना बुझेकाले उनलाई राष्ट्रपति पदमा मत दिन आग्रह गरेका छन् । पत्रमा भनिएको छ, ‘आम निर्वाचन २०७९ को नयाँ जनादेशअनुरूपको २०७९ पुस १० गते सरकार गठनका सन्दर्भमा भएको सहमति अनुसार हाम्रो पार्टीका तर्फबाट माननीय सुवासचन्द्र नेम्वाङलाई यही २०७९ फागुन २५ गते हुने राष्ट्रपतिको निर्वाचनमा उम्मेदवारमा मनोनयन गरिएको छ। नेपालको संविधानको मर्म र भावनाअनुरूप माननीय सुवासचन्द्र नेम्वाङ राष्ट्रपति पदलाई अत्यन्त योग्य एवं उपयुक्त उम्मेदवार हुनुहुन्छ। राष्ट्रिय सभा, प्रतिनिधि सभा र प्रदेश सभाका माननीय सदस्यहरू मतदाता हुने यस निर्वाचनमा तपाईंको पार्टीका तर्फबाट मा. सुवासचन्द्र नेम्वाङको पक्षमा मतदानका लागि पूर्ण सहयोग प्राप्त हुने विश्वासका साथ हार्दिक अनुरोध गर्दछु।’
आज बिहान बसेकाे एमालेकाे सचिवालय बैठकले कांग्रेसबाहेक सबै दललाई मत मागेर पत्र लेख्ने निर्णय गरेकाे थियाे ।






