बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

बचत गरेको रकम फिर्ता भएन, रवि लामिछानेको नाम लिएर धम्क्याइयो

बचत गरेको रकम फिर्ता भएन, रवि लामिछानेको नाम लिएर धम्क्याइयो

निक्षेपकर्ता जनआन्दोलनका घाइते भन्छन्, ‘राज्यले त ठग्यो ठग्यो, सहकारीले पनि ठग्यो’ ।


  • विजय नेपाली
  • फाल्गुन १८ २०७९, बिहिबार

पोखरा/ बुधबार दिउसो एक हुल आक्रोसित मान्छेहरु पोखरा महानगरपालिका कार्यालय अगाडि आइपुगे । कारण बुझ्दा थाहा भयो– पोखरा ४, नालामुख मार्गमा रहेको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाका पीडित बचतकर्ता रहेछन् ।

६ महिनादेखि सहकारीमा बचत रकम फिर्ता नगरेको र फिर्ता पाउनुपर्ने उनीहरुको माग रहेछ । महिनौं अगाडि महानगर गुहार्दा पनि न्याय नपाएको रिसको झोंकमा रहेका उनीहरुले कार्यालय घेर्ने जनाउ दिए । उनीहरुलाई साम्य पार्न मेयर धनराज आचार्य नै अगाडि सरे । मेयर आचार्यले उनीहरुलाई बैठक कक्षमा लगे र गुनासो सुन्ने धैर्यता देखाए ।

पीडितमध्येका एक नेत्रपाणि सुवेदीले मेयरसमक्ष सहकारीले गरेको ज्यादति सुनाए । नेत्रपाणि जनआन्दोलनका घाइते हुन् । २०६२/०६३ को आन्दोलनको क्रममा प्रहरीको पिटाइ खाएका उनलेको ढाड भाँचिएको छ । उनी अहिले बैशाखीको सहायताले हिँड्न बाध्य छन् । कास्कीकोट घर भइ हाल पोखरा ६ बस्दै आएका उनले औषधि खाने पैसा सूर्यदर्शन सहकारीमा १२ लाख रुपैयाँ जम्मा गरे ।

‘ब्याज पाइएला र चाहिएको बेला निकाल्न मिल्ला भन्ने ठानेर पैसा जम्मा गरेको हो,’ उनले भने,‘म जनआन्दोलनमा घाइते हुँ । औषधि खान जम्मा गरेको १२ लाख रुपैयाँ खाइदियो । मलाई सरकारले हेर्दैन । पैसा फिर्ता चाहियो ।’ उनले उक्त सहकारीमा ९ हजार आसपासमा बचत तथा लगानीकर्ताको अरबौं रकम फिर्ता नगरेको जिकिर पनि गरे ।

सहकारी संचालक राजनीतिक दलको संरक्षणमा रहेको आरोप लगाउँदै उनले थपे, ‘यी व्यक्तिहरु (संचालक समिति) नेताको संरक्षणमा छन् । नेताको संरक्षण विना यतिधेरै रकम लुकाउन सक्दैनन् ।’ सहकारीको संचालक डिबी राई हुन् । रकम माग्न जाँदा तिमीहरुलाई जे पनि गर्न सक्छु भन्दै धम्की दिने गरेको उनले सुनाए ।

सोही सहकारीमार्फत् जीवन बीमाको रकमसमेत भुक्तान गर्दै आएकी पोखरा १, बगरकी महिलाले सहकारीकै कारण बीमा भुक्तानीमा समेत समस्या आएको सुनाइन् । ‘धेरै भयो हामीले पैसा लिन पाएका छैनौं । पहिला त पैसा लिन आउँथे आजकल त आउन पनि छाड्यो,’ उनले भनिन्, ‘संचालक भाग्यो भन्छन् । मैले बल्ल थाहा पाएँ । हामी त केही कारणले मिलेन होला भन्ने ठानेका थियौं तर यहाँ कुरा अर्कै रहेछ ।’

पीडितहरुको गुनासो सुनेपछि मेयर धनराज आचार्यले संचालक समितिले सर्वसाधारणबाट उठाएको रकम अन्यत्र लगानी गरेको आफूले पनि सुनेको बताए । आचार्यले बचत तथा लगानीकर्तालाई झुक्याउन डमी संचालक समिति बनाउने काम भएको जिकिर पनि गरे । ‘संचालक समितिको केही न केही कैफियत पक्कै छ । डमी संचालक समिति बनाउने अनि भाग्ने गर्न खोजेको सुनेको छु ।

हामीले सूर्यदर्शन सहकारीको नाममा भएको चल–अचल सम्पत्ति रोक्का गर्न लगाएक छौं,’ आचार्यले भने, ‘उनीहरुको लगानी एउटा टेलिभिजनमा समेत छ भन्ने कुरा आएको छ । कहाँ लगानी गरेको छ थाहा भएन । आज आउने भन्न्ने थियो । यहाँ फेस गर्न सकिन्न भनेर पनि नआएको होला ।’ मेयर आचार्यले उनीहरु भाग्ने स्थिति नआओस् भन्नेमा सचेत हुनुपर्ने धारणा राखे ।

केही महिनाअघि भएको संस्थाको साधारण सभा समेत नाटकीय रहेको बचत तथा लगानीकर्ताको आरोप छ । साधारणसभा विवादित बनेको र संचालकले तत्कालीन गृहमन्त्री रवि लामिछानेको डर देखाउँदै सार्वजानिक रुपमै धम्की दिएको उनीहरुको भनाइ छ । ‘विरोध गर्दा त धम्की नै दिएको थियो ।

जुन कुरा हामीले महानगरमा समेत जानकारी गरायौँ । सबैको अगाडी नै तिमीहरुलाई जेपनि गर्न सक्छौँ भन्दै हामीलाई थर्काएको थियो,’ ती पीडितले भने । महानगरले पीडितको तर्फबाट पाँच जनाको समिति बनाएर महानगरमै छलफल गरेको र एक हप्ताभित्र नतिजा आउने गरी काम गर्ने प्रतिबद्धता दिएको पनि उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->