बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

सरकारले भन्यो, ‘मुस्ताङमा विश्वविद्यालय स्थापना गर्ने निर्णय भएको छैन’

सरकारले भन्यो, ‘मुस्ताङमा विश्वविद्यालय स्थापना गर्ने निर्णय भएको छैन’


  • ढोरपाटन संवाददाता
  • फाल्गुन २१ २०७९, आइतबार
फाईल तस्वीर ।

पोखरा / सरकारले मुस्ताङमा विश्वविद्यालय खोल्ने कुनै निर्णय नगरेको प्रष्टीकरण दिएको छ । पूर्वप्रधानमन्त्री तथा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चीनलाई लक्षित गरी भारतको सहयोगमा मुस्ताङमा बौद्ध विश्वविद्यालय खोल्न लागिएको भन्दै शनिबार दिएको अभिव्यक्तिको विषयमा सरकारका प्रवक्ता संचार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले विज्ञप्ति जारी गरेकी हुन् ।

मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाले कलेज स्थापनाका लागि भारतीय दूतावासमा पत्र लेखेको जानकारी सार्वजनिक भएको र उक्त विषयमा के कसो भएको हो भन्ने छानबिन गरिने पनि सरकारले प्रस्ट पारेको छ ।

‘पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको भनाइ भनी सञ्चारमाध्यममा सार्वजनिक भएको समाचारप्रति नेपाल सरकारको गम्भीर ध्यानाकर्षण भएको छ । यस सम्बन्धमा नेपाल सरकारको धारणा स्पष्ट गर्न चाहन्छौं,’ विज्ञप्तिमा भनिएको छ, ‘मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा सरकारले कुनै अमूक देशको प्रस्तावमा कुनै अर्को देशलाई लक्षित गरी विश्वविद्यालय स्थापना गर्न थालेको भन्ने अभिव्यक्ति पूर्णतः भ्रमपूर्ण रहेको छ । नेपाल सरकारले यससम्बन्धी कुनै निर्णय नगरेको स्पष्ट गर्न चाहन्छौं । यस सम्बन्धमा मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाले कलेज स्थापनाका लागि सहयोग गर्न अनुरोध गर्दै भारतीय दूतावासमा पत्र लेखेको भन्ने समाचार सार्वजनिक भएकाले यस सम्बन्धमा के भएको हो सोको अध्ययन र आवश्यक छानबिन गरी सत्य तथ्य सार्वजनिक गर्ने व्यहोरा जानकारी गराउन चाहन्छौं ।’

परराष्ट्र नीतिमाथि आँच पुर्‍याउने गरी अभिव्यक्ति आएको भन्दै सरकारले दुःख व्यक्त गरेको छ । ‘प्रधानमन्त्री र नेपाल सरकारलाई आक्षेप लगाउने गरी तथ्यहीनरूपमा यस्ता विषय श्रृंखलाबद्धरूपमा सार्वजनिक हुनु दुःखद छ । परराष्ट्र नीतिमाथि आँच पुर्‍याउने गरी यस्ता अभिव्यक्ति आउनु उपयुक्त होइन,’ विज्ञप्तिमा उल्लेख छ ।

सरकार मुलुकको सार्वभौमिकता, अखण्डता, राष्ट्रिय हित एवं स्वतन्त्र र सन्तुलित कूटनीतिका पक्षमा नेपाल सरकार दृढतापूर्वक उभिएको एवं असंलग्न परराष्ट्र नीति र पञ्चशीलको सिद्धान्तप्रति प्रतिबद्ध रहेको सरकारले प्रस्ट पारेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->