मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३
  • १० कार्तिक २०८३ , मंगलबार
  • October 27 2026

कम्युनिष्टबाट कांग्रेस बनेका रामचन्द्र

कम्युनिष्टबाट कांग्रेस बनेका रामचन्द्र

तनहुँकै रेवतीरमण शर्माको संगतमा रहेका रामचन्द्र विन्ध्यवासिनी संस्कृत विद्यापिठमा पढ्दासम्म वामपन्थी विचारधारा बोक्थे ।


  • ढोरपाटन संवाददाता
  • फाल्गुन २६ २०७९, शुक्रबार

पोखरा/ २००१ साल असोजमा तनहुँ रिस्तीको बाहुनपोखरामा जन्मेका रामचन्द्र पौडेल पढ्नकै लागि २०१६ सालतिर पोखरा आए । पोखराको विन्ध्यवाासिनीमा रहेको संस्कृत पाठशाला भर्ना भए । विन्ध्यवासिनीका बालमुकुन्द रेग्मीकहाँ उनको डेरा थियो ।

‘रामचन्द्रजी र म विन्ध्यवासिनीमा सँगै पढ्थ्यौँ,विद्यार्थीकालमा उहाँको जीवन सामान्य थियो,’कास्कीका पुराना कांग्रेसी नेता खेमराज पौडेलले विद्यार्थीकाल सम्झँदै भने,‘त्यो बेला हामी उहाँसँग मिल्दैनथ्यौँ,उहाँ वामपन्थी विचारधाराबाट प्रभावित हुनुहुन्थ्यो । पण्डित शुकदेव शर्मा बराल हाम्रा गुरु हुनुहुन्यो । उहाँ प्रजातान्त्रिक विचारको । शुकदेव गुरुकै कारण उहाँ बिस्तारै प्रजातान्त्रिक विचारप्रति आकर्षित हुनुभयो भन्ने लाग्छ ।’

त्यो बेला काठमाडौंमा छात्र संघका गतिविधिहरु हुन्थे । विन्ध्यवासिनीबाट पनि छात्र संघको अधिवेशनमा प्रतिनिधि पठाउने कुरा भयो । प्रजातान्त्रिक विचारधारा बोक्नेहरुले ज्ञानहरि रेग्मीलाई प्रतिनिधि पठाए । रामचन्द्र वामपन्थी विद्यार्थीहरुको प्रतिनिधि बनेर काठमाडौं गए । ‘हामीले ज्ञानहरिजीलाई प्रतिनिधि पठायौं तर उहाँ वामपन्थी सोच लिएर त्यता जानु भएको हो,’खेमराजले भने,‘ म पढ्न बनारस लागेँ उहाँ रानीपोखरी संस्कृत पाठशालामा जानुभयो । काठमाडौं गएपछि भने उहाँ कांग्रेस बन्नुभयो, त्यसपछि, २०२३ सालमा गण्डकी छात्र संघको अध्यक्ष बन्नुभयो । उहाँ सधैँ आन्दोलनको अग्रमोर्चामा रहनुहुन्थ्यो । छात्र संघले काठमाडौंमा विभिन्न कार्यक्रम गथ्र्र्यो, २०२३ सालमा पहिलो र २०२८ साल वैशाख २९ गते छात्र संघको दोस्रो कार्यक्रम पोखरामै भएको थियो । हामी नजिक भयौँ । अहिले पनि मेरा उहाँसँग उत्तिकै आत्मिय सम्बन्ध छ ।’

रामचन्द्र पौडेललाई नजिकबाट चिन्नेहरु भन्छन्– उनी रेवतीरमण खनालका चेला थिए । तनहुँको चुँदी आमडाँडामा जन्मेका रेवतीरमण दरबारका पूर्व प्रमुखसचिव हुन् । २०१७ साल पुस एकको शाही ‘कु’ सँगै राजा महेन्द्रले जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालालाई जेल कोचे । रेवतीलाई २०१७ साल फागुन १५ गते दरबारको जनसम्पर्क अधिकृत नियुक्त गरियो । मदन पुरस्कार विजेतका रेवतीका नेपाली कानूनी इतिहासको रुपरेखा, अनुभूति र अभिव्यक्ति भन्ने आत्मकथासहितका पुस्तकहरु प्रकाशित छन् ।

कम्युुनिष्टसँग आवद्ध छात्र संघका प्रतिनिधि भएर रामचन्द्र काठमाडौं गए ।नारायणहिटी राजदबार नजिकैको माधव शमशेरको घरमासम्मेलन भएको थियो । भनिन्छ, दरबार पसेपछि नै रामचन्द्र झस्किएका थिए । ‘कम्युनिष्ट भनेका सर्वहारा हुन्छन् भन्ने’ मान्यता पालेका रामचन्द्रको कम्युनिष्टप्रति मोहभंग हुनाको अर्को कारण थियो–छात्र संघले २०१७ साल पुस १ गतेको कदमको समर्थन ।
आफ्ना आदर्श व्यक्तित्व रेवतीरमण नै दरबार छिरेपछि उनी झन विरक्तिए । २०१८ सालमा जेलमै रहँदा उनी कांग्रेसप्रति समर्पित भइसकेका थिए ।

कांग्रेसका पुराना नेता खेमराजका अनुसार पोखरा रहँदाको विद्यार्थीकालमा भन्दा काठमाडौंमा कांग्रेसको राजनीतिमा होमिएपछि रामचन्द्रको पोखरा आउजाउ बढेको हो ।

‘२०१७ सालको पुसमा संसद विघटन भयो, उहाँ ( रामचन्द्र) उताको उतै हुनुहुन्थ्यो । पोखरा विद्यार्थी हुँदा सायद राजनीतिक चेत विकास हुँदै थियो । काठमाडौंमा ठूला काम गरे । २०२३ सालमा गण्डकी छात्र संघको अध्यक्ष रामचन्द्र बन्नुभयो । त्यहाँबाट राजनीतिक जीवनको सुरुवात भयो । त्यो बेला हुने आन्दोलनहरुमा शेरबहादुरजी भन्दा रामचन्द्रजी पहिला पक्राउ पर्नुहुन्थ्यो । २०२७ सालमा नेपाल विद्यार्थीं संघको संस्थापक बन्नुभयो । समकालीन भनेका शेरबहादुर, विपिन कोइराला, शिवबहादुर खड्का भए । अलिकति सिनियरमा दमननाथ ढुंगाना। कमल चित्रकारहरु थिए,’खेमराजले ती दिन सम्झँदै भने,‘ तनहुँमा पनि उहाँको सम्पर्क बाक्लो थिएन, साँच्चै भन्ने हो भने तनहुँमा शिक्षक र वकिल रहेका गोविन्दराज जोशी बढी क्रियाशिल हो । ’

रामचन्द पौडेल पोखरा आउँदा धेरैजसो विन्ध्यवासिनीमा रहेको केशव रेग्मीको घरमा बस्थे । केशव गण्डकी छात्र संघका संस्थापकमध्येका एक थिए । उनका भाइ हेमराज रेग्मी भन्छन्,‘उहाँ (रामचन्द्र)केशव दाइकहाँ बस्नुहुन्थ्यो । म सानो हुँदा उहाँले काखमा लिएको सम्झना छ । उहाँको फरक विचार राख्नेहरुसँग पनि राम्रो मेल थियो ।’

पञ्चायतकाली समयमा पोखराको भैरवटोल,नालामुखतिर राजनीतिक गतिविधिहरु भइरहन्थे । पुराना कांग्रेसी नेताहरु प्रेमराज मुल्मी,सर्वज्ञमान प्रधानाङ्ग,अमृतप्रसाद शेरचनहरु त्यहीँ बस्थे । कांग्रेसी नेता धीरबहादुर गुरुङको पनि तेर्सापट्टी कल्पना सिनेमा हल थियो । रामचन्द्रको गैह्रपाटनमा रहेका कोइरालाहरुसँग पनि हिमचिम बढ्यो । गैह्रापाटनका करुणानिधी कोइराला सम्पन्नमध्येका थिए । घर पनि राम्रो थियो ।

‘त्यो बेला सुन्दरप्रसाद मर्सानी भन्ने हुनुहुन्थ्यो, मीनबहादुर गुरुङ,करुणानिधी सबै नेता भए । करुणानिधीहुँदै रामचन्द्रको त्यो सम्बन्ध छोरा राजेन्द्रनिधीसँग पनि रहन पुग्यो,’खेमराजले भने ।
२०२८ साल वैशाख २९ गते पोखराको तेर्सापट्टीको कल्पना हलमा गण्डकी छात्र संघले प्रतियोगितात्मक साहित्य गोष्ठीको आयोजना ग¥यो । पोखराका पुराना पत्रकार तिलकमान गुमाजूका अनुसार पोखरामा दोस्रो पटक आयोजित त्यो सम्मेलनका प्रमुख अतिथि कृष्णप्रसाद भट्टराई थिए । बालकृष्ण सम,माधवप्रसाद घिमिरे,ईश्वर बल्लभलगायतका साहित्यकारहरु सहभागी त्यो कार्यक्रमको चाँजोपाँजो मिलाउने छात्र संघका अध्यक्ष रामचन्द्र्र नै थिए ।

कांग्रेसका पुराना नेता राजेन्द्रनिधी कोइरालाले पनि तिलकमानको कुरामा सहमति जनाए । ‘२०२८ सालमा छात्र संघले आयोजना गरेको साहित्य सम्मेलनमा नै मेरो उहाँ (रामचन्द्र)सँग भेट भएको हो,’उनले भने,‘पछि त्यो सम्बन्ध आत्मियतामा बदलियो ।’

राजेन्द्रनिधीकहाँ बीपीदेखि गणेशमान, कृष्णप्रसाद भट्टराईसहितका नेताहरु आइरहन्थे । ‘त्यो बेला होटल पनि थिएनन्, कांग्रेसलाई बाहिर बास पनि दिँदैनथे,नेताहरुसँग पैसा पनि हुँदैनथ्यो,’राजेन्द्रनिधीले भने,तीमध्ये किसुनजी र रामचन्द्र दाइ प्रिय हुनुहुन्थ्यो,यो क्षेत्रकै भएकाले पनि आत्मियता बढेको होला । २०३५ सालमा मंसिर १३ गते बीपी पोखरा आउने कार्यक्रमको तयारी गर्ने सिलसिलामा पनि रामचन्द्र दाइ हाम्रै घरमा बस्नु भएको हो ।’

तेर्सापट्टीमा रहेको कांग्रेस नेता धीरबहादुर गुरुङको कल्पना सिनेमा हलमा मंसिर १२ गते कार्यक्रम चलिरहेको थियो । पञ्च–मण्डलेहरुले आक्रमण गरे । कांग्रेसका नेताहरुलाई घरबाट निकालियो । त्यसरी बाहिर निकालिनेमा कांग्रेसका नेताहरु परशुनारायण चौधरी, शेरबहादुर देउवा, रामचन्द्र पौडेल,पदमबहादुर आले,तारानाथ रानाभाट, करुणनिधी कोइराला,मिनबहादुर गुरुङलगायतका २३ जना नेता भएको राजेन्द्रनिधी सम्झन्छन् । त्यसो त २०४६ सालको भदौताका जनआन्दोलनको तयारीको लागि पोखरा आएका बेला पनि रामचन्द्र एकरात राजेन्द्रनिधीकहाँ नै बसेका थिए । ‘अरु बेला रामचन्द्र दाइलाई भान्छामा जे पाकेको छ,त्यही खुवाइन्थ्यो, त्यो साँझ खिर खुवाइयो । भोलिपल्ट उहाँ बागलुङतिर लाग्नुभयो, बाटैबाट पक्राउ पर्नुभयो,’राजेन्द्रनिधीले भने,‘जनआन्दोलनपछि बल्ल उहाँ छुट्नुभएको हो ।’

बहुदल आएसँगै रामचन्द्रले राजकीय पद पाउँदै गए । व्यस्तता बढ्यो । त्यस्तोमा पनि कहिलेकाहिँ रामचन्द्र करुणानिधीकहाँ आउँथे । ‘उहाँ अध्ययनशील र कार्यकर्तासँग भिजेको नेता हो,’राजेन्द्रनिधीले भने,‘कार्यकारी प्रधानमन्त्री नै हुनुपर्ने मान्छे, सर्वोच्च पद पाउनु भएको छ, उहाँले राष्ट्रपतिको मर्यादा उच्च राख्नुहुन्छ भन्ने सोचेको छु । ’

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->