मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३
  • १० कार्तिक २०८३ , मंगलबार
  • October 27 2026

उपराष्ट्रपतिमा सत्ता गठबन्धनकै ३ जना, रामसहायविरुद्ध उजुरी

उपराष्ट्रपतिमा सत्ता गठबन्धनकै ३ जना, रामसहायविरुद्ध उजुरी


  • ढोरपाटन संवाददाता
  • फाल्गुन २७ २०७९, शनिबार

काठमाडौं / उपराष्ट्रपतिमा सत्तारुढ दलहरुकै गठबन्धनबाट ३ जना र एमालेको एक गरी ४ जनाको उम्मेदवारी परेको छ । सत्ता गठबन्धनबाट जनता समाजवादी पार्टी, नेपालबाट २ जना र जनमत पार्टीबाट १ गरी तीन जनाको उम्मेदवारी परेको हो ।

जसपाबाट जसपा संसदीय दलका नेता रामसहायप्रसाद यादव र प्रमिला यादवको उम्मेदवारी दर्ता भएको छ । प्रमिला यादवको प्रस्तावकमा रञ्जु झा, मृगेन्द्रकुमार सिंह यादव, नवलकिशोर शाह, दीपक कार्की, राजकिशोर यादव रहेका छन् । समर्थकमा अनिता देवकोटा, विमला सुवेदी, सीता गुरूङ, जयन्ती राई, मनिष सुमन रहेका छन् ।

त्यस्तै रामसहायप्रसाद यादवको प्रस्तावकमा जसपा नेता अशोककुमार राई, प्रदीप यादव, एकीकृत समाजवादीका किसान श्रेष्ठ, माओवादी केन्द्रका शक्ति बस्नेत र नेपाली कांग्रेसका रमेशजंग रायमाझी छन् । समर्थकमा जसपाकी रेखा यादव, अम्बिका काफ्ले, एकीकृत समाजवादीका प्रकाश ज्वाला, खिमलाल देवकोटा, भानुभक्त जोशी रहनेका छन् ।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रसहितका सत्तारुढ गठबन्धनमै रहेको दल जनमत पार्टीकी नेता ममता झाले पनि उपराष्ट्रपति पदमा उम्मेदवारी दर्ता गराएकी छन् । उनको प्रस्तावकमा जनमत पार्टीका अब्दुल खान, अनिता देवी, नागरिक उन्मुक्ति पार्टीका गंगाराम चौधरी, अविराम शर्मा, रुपाकुमारी यादव रहेका छन् । समर्थकमा गोमालाम सापकोटा, विनिताकुमारी सिंह, बसन्तकुमार कुशवाह, रामप्रकाश चौधरी, रानीकुमारी तिवारी रहेका छन् ।

यता नेकपा एमालेबाट उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले उम्मेदवारी दर्ता गराएकी छन् । उनको प्रस्तावकमा अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ, छविलाल विश्वकर्मा, गोकर्ण बिष्ट, रघुवीर महासेठ छन् भने समर्थकमा कृष्णगोपाल श्रेष्ठ, महेश बर्तौला, तुलसा दाहाल, भगवती न्यौपाने, यशोदा रिजाल रहेका छन् । उपराष्ट्रपतिको निर्वाचन ३ चैतमा हुँदैछ ।

रामसहायविरुद्ध उजुरी दर्ता

उपराष्ट्रपतिका लागि उम्मेदवारी दर्ता गराएका जनता समाजवादी पार्टीका नेता रामसहायप्रसाद यादवको उम्मेदवारी संविधान र कानुनविपरीत रहेको भन्दै नेकपा एमालेले उजुरी दिएको छ । उपराष्ट्रपति पदका लागि एमालेबाट उम्मेदवारी दिएकी अष्टलक्ष्मी शाक्य (बोहरा)को प्रतिनिधि एवं सांसद महेश बर्तौलाले नयाँ बानेश्वरस्थित निर्वाचन अधिकृतको कार्यालयमा शनिबार उजुरी दर्ता गरेका हुन् ।

राष्ट्रपतिमा पुरुष निर्वाचित भइसकेकाले उपराष्ट्रपति पनि पुरुष हुन नहुने भन्दै एमालेले जसपाका उम्मेदवार यादवविरुद्ध उजुरी दिएको हो । साथै यादवको उम्मेदवारी कानुनविपरीत रहेको एमालेको दाबी छ ।

‘राष्ट्रपतिमा खसआर्य पुरुष निर्वाचित भइसकेको अवस्थामा उपराष्ट्रपति पदमा खसआर्य समुदायको पुरुष बाहेकको मात्रै उम्मेदवार हुनसक्छ । त्यसैले सो पदमा पुरुष उम्मेदवार हुन सक्दैन,’ एमालेको उजुरीमा उल्लेख छ, ‘राष्ट्रपति र उपराष्ट्रपति दुवै पदमा पुरुष निर्वाचित हुने परिकल्पना संविधानले गरेको होइन ।’

संविधानको धारा ७० मा राष्ट्रपति र उपराष्ट्रपति फरक लिंग वा समुदायको हुनुपर्ने व्यवस्था छ । संविधानको उक्त धारा बमोजिम फरक समुदायको महिलालाई उपराष्ट्रपति पदमा उम्मेदवार मनोनयन गर्ने व्यवस्था मिलाउन संविधान, कानुन र समावेशीकरणको सिद्धान्तअनुरुप अनिवार्य रहेको उजुरीमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->