बागलुङ / विधार्थी संगठन र प्रशासनविच विवाद चुलिदा धौलागिरी क्याम्पस बागलुङमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन अनिश्चित बनेको छ । निर्वाचनको निर्धारित तालिका अनुसार शनिवार स्ववियु निर्वाचनका लागि क्याम्पसमा मनोनयन दर्ता भएन ।
फर्जी विद्यार्थीलाई क्याम्पस प्रशासनले परिचय पत्र वितरण गरेको भन्दै अखिल पक्षधर विद्यार्थी संगठनहरुले निर्वाचन कार्यालयमा तालावन्दी गरेपछि निर्वाचनका कार्यक्रम अगाडि बढ्न सकेका छैनन् ।
निर्वाचन कार्यतालिका अनुसार विहान ११ बजेदेखि २ बजेसम्म मनोनयन दर्ता गर्ने र पाँच बजे उम्मेदवारको नामावली प्रकाशन गर्ने समय रहेको थियो । तर विवाद मिलाउने भन्दै साँझ ७ वजेसम्म मनोनय दाखिलको कार्यक्रम थप गरिएको थियो ।
थप गरिएको साँझ ७ वजेसम्मको समयमा पनि विवाद समाधान नभएपछि मनोनय दर्ताको समय फागुन २८ गते दिउसो ३ बजेसम्मलाई थप गरिएको सूचना टास गरेको छ ।

थप गरेको मनोनयन दर्ताको समयमा पनि विद्यार्थी संगठनहरुबीच सहमती नजुट्दा भोली दिउँसो ३ बजे सम्मलाई मनोनयनको समय सारिएको निर्वाचन अधिकृत भक्तिराम न्यौपानेले बताए ।
चुनाव नजिकिदै गर्दा फर्जी परिचयपत्र भेटिएकोले एक जना सहायक क्याम्पस प्रमुखको हस्ताक्षर मात्रै मान्य हुनेगरी ब्यवस्था गर्न माग गर्दै अनेरास्ववियु, अखिल क्रान्तिकारी, अखिल क्रान्तिकारी बहुमत, अखिल क्रान्तिकारीका विप्लव र अखिल संयुक्त प्यानलले दुई दिनअघिदेखि तालाबन्दी गरेको हो।
विद्यार्थी संगठनसँग सहमति जुटाउने प्रयास भएपनि सहमति जुट्न नसकेकाले केन्द्रिय परिपत्रअनुसार मनोनयन समय आइतबारसम्म थप गरेको क्याम्पस प्रमुख डा. रामप्रसाद उपाध्ययाले जानकारी दिए ।
अखिल पक्षधर विद्यार्थीले स्ववियु निर्वाचनको मनोनय गर्ने र मतदान गर्ने समय तालिका फेरवदल गर्न नमिल्ने स्पष्ट परिपत्र भएकाले अव निर्वाचन हुन नसक्ने आफुहरुको ठहर भएको वताएका छन् । अनेरास्ववियुका जिल्ला अध्यक्ष रोशन जिसीले निर्धारित तालिका अनुसार अव धौलागिरी क्याम्पसमा स्ववियु निर्वाचन हुने सम्भावना सकिएको वताए ।
नेपाल विद्यार्थी संगठनका विद्यार्थीहरुले भने चैत ५ गते मतदान हुने गरी निर्वाचन गर्नुपर्ने माग गर्दै आएका छन् । उनीहरुले निर्वाचन सार्न नहुने आफ्नो संगठनको धारणा सार्वजानिक गरेका छन् ।
यो क्याम्पसमा स्ववियु निर्वाचनका लागि १ हजार ७ सय ४८ विद्यार्थी मतदाता रहेका छन् ।





