शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

ग्रामीण क्षेत्रका महिलामा पाठेघरको समस्या

ग्रामीण क्षेत्रका महिलामा पाठेघरको समस्या

महिलालाई हुने सबै क्यान्सरहरूमध्ये एक तिहाइ स्तन क्यान्सर ।


  • ढोरपाटन संवाददाता
  • फाल्गुन ३० २०७९, मंगलबार

बेनी /म्याग्दीको ग्रामीण क्षेत्रमा अशिक्षा र जनचेतनाको अभावका कारण महिलामा पाठेघर (आङ) खस्ने समस्या बिकराल बन्दै गएको छ । महिलाको संवेदनशील अंगहरुमध्ये स्तन र पाठेघरको समस्या समयमै पहिचान गरी उपचारमा ध्यान नदिँदा पाठेघरमा समस्या देखिएको हो । रघुगंगा र अन्नपूर्ण गाउँपालिकामा मात्रै ७७ जना महिलामा पाठेघरको समस्या पहिचान भएको छ ।

प्रवासमा रहेका म्याग्देलीको साझा संस्था म्याग्दी प्रवासी नेपाली संघ अन्तर्राष्ट्रिय कार्यकारी समितिको आयोजना तृप्ति फाउण्डेशन अष्ट्रेलियाको आर्थिक तथा काठमाडौं क्यान्सर सेन्टर भक्तपुरको प्राविधिक सहयोगमा सो शिविर आयोजना गरिएको हो । मोना आइइसीका सचिव सुबोध बरुवालका अनुसार रघु्गंगा गाउँपालिकामा ३६२ महिलाले सेवा लिएकोमा ४२ जना र अन्नपूर्ण गाउँपालिकामा २६७ जनाले सेवा लिएकोमा ३५ जनामा समस्या देखिएको उनले बताए । त्यसैगरी रघुगंगामा ३ र अन्नपूर्णमा ४ गरी ७ जनामा स्तनमा गाँठागुठी भेटिएको थियो ।

पाठेघर र स्तन क्यान्सर महिलाहरूमा सबैभन्दा धेरै हुने क्यान्सरमध्ये एक भएकाले समयसमयमा चेकजाँच गरी उपचार गर्नुपर्ने काठमाडौं क्यान्सर सेन्टर भक्तपुरका डा.किशोर प्रधानले बताए । ‘महिलाको अस्तित्वसँग जोडिएको पाठेघर र स्तनको सुरक्षामा हेलचेक्रयाइँ गरिन्छ,समयमै चेकजाँच गरे उपचार सम्भव छ’, डा. प्रधानले भने । उनले महिलालाई हुने सबै क्यान्सरहरूमध्ये एक तिहाइ स्तन क्यान्सर हुने भएकाले समयमै उपचार आवश्यक रहेको बताए । महिलामा हुने स्तन क्यान्सरको प्रमुख लक्षण भनेको स्तनमा गाँठागुठी हुनु भएको डा. प्रधानको भनाइ छ । मोना आइइसीका उपाध्यक्ष सुर्जे भट्टचनले जिल्लाका सबै स्थानीय तहमा शिविर सञ्चालन गर्ने बताए । आर्थिक अभावका कारण तल्लो पेट दुख्ने, ढाड दुख्ने समस्या देखिए पनि उपचारका लागि लामो समयदेखि घरमै बस्न बाध्य भएको अन्नपूर्ण गाउँपालिका–१,दोवाकी ८६ वर्षीया दुर्गी बिकले बताईन् ।

उनले आफ्नो अपाङ छोरीको सेतो पानी बग्नेलगायतको समस्या लामो समयदेखि घरमै लुकाउन बाध्य भएको बताईन् । शिविरमा उचारका लागि आउने महिलाहरुमा पाठेघर खस्ने र स्तनको सुरक्षाका बारेमा समेत जानकारी गराइएको थियो । कम उमेरमा बिहे गर्ने र बच्चा जन्माउने, सुत्केरी अवस्थामा आरामको कमी, बढी तौलको भारी बोक्ने र महिलाहरुमा प्रजनन् स्वास्थ्यप्रति चेतनाको कमीका कारण पाठेघरमा संक्रमण भएर क्यान्सर हुने जोखिम हुन्छ । पाठेघर खस्ने र स्तनमा समस्या भए पनि कतिपय ग्रामीण महिलाहरु खुलेर बोल्न नसक्ने र रोग लुकाएर बस्ने गरेकाले महिलाको स्वास्थ्यलाई प्राथमिकतामा राखेर उपचार गरिएको मोना आइइसीका अध्यक्ष अम्मर छन्त्यालले बताए । उनले मोना अन्तर्राष्ट्रियले बेनी नगरपालिका, मंगला, मालिका र धवलागिरी गाउँपालिकामा समेत शिविर सञ्चालन गर्ने जनाएको छ ।
पाठेघरमा समस्या देखिएपछि उपचारका लागि छोरीसँगै आएकी दुर्गी विक । तस्वीर हरिकृष्ण

 

 

 

 

 

 

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->