पोखरा/ फागुन ७ गते दिउँसो पोखरा विश्वविद्यालयबाट (पियु) पृथ्वीचोकतर्फ आउँदै गरेको बस दुर्घटनामा प¥यो । मादक पदार्थ सेवनपश्चात चालक निदाएपछि अधिकांश विद्यार्थी रहेको सो बस इलाका प्रहरी कार्यालय शिशुवा डाँडाकोनाक नजिकै पल्टियो । दुर्र्घटनामा परी ४५ जना यात्रु घाइते भए । जसमा अधिकांश पोखरा विश्वविद्यालय पढ्ने विद्यार्थी थिए । चालक र सहचालकबाहेक सबै यात्रु घाइते भए ।
वेगनास यातायात व्यवसायी समितिमा आबद्ध ग १ ख ६७४७ नम्बरको बस दुर्घटना भएको हो । बसमा चालक दलसहित ४७ जना थिए । घाइतेहरुको उपचार भएपनि बस धनी र समितिले क्षतिपूर्ति नदिने भएपछि यतिबेला दुई मुद्दा परेको छ । चालकलाई सवारी अंगभंग कसुरसम्बन्धी उजुरी जिल्ला अदालत कास्कीमा दर्ता गराईएको छ भने चालक, बस धनी र यातायात समितिलाई विपक्षी बनाइ क्षतिपूर्ति मागसहित जिल्ला प्रशासन कार्यालय कास्कीमा मंगलबार अर्को मुद्दा परेको छ ।
कास्कीका सहायक जिल्ला अधिकारी गुरुदत्त ढकालले उजुरी परेपछि सात दिनको म्याद थप गरिएको जानकारी दिए । उनले घटनामा चालक दोषी देखिएकाले र बस समितिमा आबद्ध भएकाले घाइतको उपचार खर्च व्यहोरी क्षतिपूर्ति दिनुपर्ने बताए । ‘सातदिनको म्याद थप भएको छ । क्षतिपूर्ति पाउनुपर्छ । यो विषयमा अब सरकारी वकिलले बहस गर्नुहुनेछ त्यसपछि उहाँहरुको माग दाबी कति हो सोही बमोजिम जानेछ,’ उनले भने, ‘प्रक्रिया अघि बढेको छ ।’
दुर्घटनालगत्तै घाइतेहरुले चालकको बोली लडबडिएको र चलाउँदा चलाउँदै निदाएको बताएका थिए । घाइतेमध्ये अधिकांश फागुन ८ गते हुने दीक्षान्त समारोहमा सहभागिता जनाउनका लागि कालो कोट (गाउन र टोपी) लिन पियु पुगेका थिए । उनीहरु फर्कने क्रममा दुर्घटना भएको थियो । चालक विजेश बसौला र सहचालक मनबहादुर कुमाललाई तत्कालै प्रहरीले नियन्त्रणमा लिएको थियो ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्त डिएसपी श्रवणकुमार विकले चालकको लापरवाहिका कारण दुर्घटना भएको र सवारी चालकमाथि मुद्दा चलिरहेको जानकारी दिए । उनका अनुसार चालक बसौला प्रहरी नियन्त्रणमै छन् । ‘चालकको लापरवाहीका कारण दुर्घटना भएको हो । चालक सामान्य घाइते भएकाले तत्कालै नियन्त्रणमा लिइ अनुसन्धान थालेका थियौँ । चालकविरुद्ध सवारी अगंभगं कसुरसम्बन्धी मुद्दा दर्तासहित कारवाही प्रक्रिया अगाडि बढेको छ । क्षतिपूर्तिका लागि पनि अर्को मुद्दा दर्ता भएको छ,’उनले भने ।
इलाका प्रहरी कार्यालय हंसपुर शिशुवाका प्रमुख डिएसपी प्रकाश दाहालका अनुसार घाइतेहरुको उपचार गराउँदा ठूलो रकम खर्च भएको छ । घाइतेमध्ये केही उपचारको क्रममा ८ लाखदेखि १५ लाखसम्मको खर्चन बाध्य भएको उनले सुनाए ।





