पोखरा/ देशभर स्ववियु निर्वाचन सम्पन्न भइरहँदा पोखरामा भने अन्योल छ । त्रिभुवन विश्वविद्यालयले चैत पाँच गतेका लागि निर्वाचनको मिति तोकिएपनि आंगिक क्याम्पसहरुमा भने विभिन्न वहानावाजीमा निर्वाचन रोकिएको छ ।
यस्तै उच्च अदालत पोखराले चैत ८ गतेसम्म पृथ्वीनाराण क्याम्पसको निर्वाचन प्रक्रियालाई रोक लगाएको छ । विद्यार्थी संगठनहरुले क्याम्पस प्रशासन र निर्वाचन समितिको लापरवाहिका कारण आवाज उठाइरहेका छन् । पिएन क्याम्पसमा आन्दोलनरत ३ विद्यार्थी संगठनले प्रशासन र निर्वाचन समितिले निर्वाचन गराउन नचाहेको बताएका छन् । प्रशासन र निर्वाचन समितिले विद्यार्थीको व्यक्तिगत विवरण चुहावट गरेको भन्दै चैत २५ गते तालाबन्दि गरेका थिए ।
यस्तै दर्ता गराएको नाम परिवर्तन भएको भन्दै ‘स्वतन्त्र विद्यार्थी समूह’ ले फागुन २६ गते क्याम्पसलाई विपक्षी बनाइ उच्च अदालत पोखरामा रिट दायर गरेको थियो । विद्यार्र्थी समूहको तर्फबाट विप्लबी न्यौपानेले रिट दायर गरेकी थिइन् । फागुन १९ गते ‘स्वतन्त्र विद्यार्थी समूह’ नाम राखी निर्वाचन समितिमा नाम दर्ता गराएकोमा निर्वाचन समितिले उक्त समूहको नाम परिवर्तन गरेर ‘पृथ्वी विद्यार्थी मञ्च’ राखेर अन्तिम नामावली प्रशासन गरेको थियो । उक्त समूहले विरोध जनाउदै उच्च अदालत पोखरामा रिट दायर गरेको थियो । उच्च अदालत पोखराले ८ गतेसम्म कुनै प्रक्रिया नगर्न आदेश गरेपछि अहिले पिएन क्याम्पसमा निर्वाचनका कुनै प्रक्रिया नै अघि बढेको छैन भने लगाइएको ताला समेत खुल्न सकिरहेको छैन् ।
क्याम्पसमा ताला लगाउने संयुक्त विद्यार्थी संगठनले भने आफुहरुले पटक पटक वार्ताका लागि क्याम्पस प्रशासन र निर्वाचन समितिलाई ताकेता गर्दा समेत वेवास्ता गरेको आरोप लगाए । आइतबार पोखरामा पत्रकार सम्मलेन गर्दै अखिल (क्रान्तिकारी) विप्लव, अखित छैठौं र अखित क्रान्तिकारी संयुक्तले क्याम्पस प्रशासनले नै निर्वाचन गराउन नचाहेको आरोप लगाएका हुन् ।
उनीहरुले पिएन क्याम्पस राजनैतिक कार्यकर्ता भर्नाको थलो भएको बताउँदै निर्वाचन हुनेवित्तिकै उनीहरु सबैलाई समस्या आउने हुँदा निर्वाचन गराउनै नचाहेको बताए । उनीहरुले आफुहरुले राखेको विद्यार्थीको व्यक्तिगत विवरण चुहावट छानविन, क्याम्पस प्रशासन वा त्रि.वि.बाट तलबभत्ता पाएका प्राध्यापक कर्मचारीले निर्वाचनमा मतदान गर्न नपाउने र विष्पक्ष स्ववियु निर्वाचनको वातावरण बनाउनुपर्ने माग राखेपनि प्रशासन र निर्वाचन समितिले वेवास्ता गरेको बताएका छन् । अखिल क्रान्तिकारी विप्लवका विद्यार्थी नेता प्रकाश बास्तोलाले व्यक्तिगत विवरण चुहावट गर्ने कर्मचारीलाई तत्कालै कारवाहि गरि निर्वाचन प्रक्रिया अघि बढाउन आग्रह गरे । उनले क्याम्पसमा झाडु लगाउनेदेखी प्रमुखसम्म नै राजनैतिक पार्टीका व्यक्ति रहेकाले क्याम्पस शैक्षिक संस्था कम भर्तिकेन्द्र ज्यादा भएको बताए । उनले निर्वाचन प्रमुख प्रकाश केसीले छलफलको नाममा छलफलमात्रै गराउँदै आएको आरोप लगाए ।
‘हामी आन्दोलनमा छौं । हामीसंग छलफल गरेर टुंगो लगाउनुपर्ने हो । कतिपय हाम्रा माग पुरा हुनुपर्छ भने कतिपय मागमा हामीपनि कम्परमाइज गर्छौ तर क्याम्पस प्रशासन र निर्वाचन समिति त हामीसंग छलफल गर्नै चाहदैन’ उनले भने,‘हामीले आन्दोलन सुरु गरेदेखी नै वार्ताका लागि हामीले नै आह्वान गर्नुपर्छ तर विभिन्न वहानावाजी बनाएर उम्किने गरेका छन् ।’ यस्तै अखिल छैठौंका विद्यार्थी नेता गणेश तिवारीले आफुहरुको तालाबन्दिले उनीहरुलाई फाइदा भएको बताए ।
उनले आफुहरु निर्वाचन गर्ने पक्षमा रहेपनि भएका गल्तिको छानविन हुनुपर्ने बताए । ‘हामी निर्वाचनको पक्षमा छौं तर व्यक्तिगत विवरण चुहावट गर्ने कर्मचारीलाई कारवाहि गर्नुपर्छ । भोलि उसले क्याम्पसको गोप्य कुरा पनि त चुहावट गर्न सक्छ त्यसो नहोस भन्नका लागि हामीले आन्दोलन गरेका हौं’ उनले भने,‘हामीले होइन निर्वाचन भाड्ने कोसिस प्रशासन र निर्वाचन समितिले नै गरेका छन् । हामीले लगाएको तालाबन्दिपछि वार्तामा आउन नमान्नु नै स्पष्ट प्रमाण हो ।’ उनीहरुले तत्कालै आफुहरुको माग सम्बोधन गरी निर्वाचन प्रक्रिया अघि बढाउनुतर्फ लाग्न अनुरोध गरे ।
पोखरामा रहेका आंगिक क्याम्पसहरुमा स्ववियु निर्वाचन हुन सकेको छैन् । विभिन्न विवादका कारण निर्वाचन अन्यौलमा परेका हुन् ।





