पोखरा/ मंगलबार राति साढे १० बजेतिर दुर्घटनामा परेका अर्वाद आलम पोखराको न्यूरोडमा भएको दुर्घटनामा घाइते भए । केही मिनेट बित्न नपाउँदै अर्को मोटरसाइकल चालक सडकमा पछारिए । प्रदेश नं. २–०३–०१८ प १०४० नम्बरको मोटरसाइकलमा सवार आलमलाई धन्न ठूले चोट लागेन । गण्डकी मेडिकल कलेजको सामान्य उपचारले उनी ठीक भए । पछिल्ला दुई हप्तायता पोखरा महानरपालिकाको कार्यालय नजिकै दुर्घटना बढ्न थालेको छ ।
व्यवसायी सुमित श्रेष्ठका अनुसार डिभाइडर निर्माण गर्नको लागि सडकको बीच भागमा थुपारिएको गिट्टी–बालुवा दुर्घटनाको कारक हो । ‘आजकल त यही (दुर्घटना) हेरेर बस्नेमात्रै भएको छ । को कतिबेला लड्छ र उठाउन जाम्ला भनेर बसेजस्तो भएको छ । दिनदिनै दुर्घटना भइरहेको छ,’ उनले भने,‘ दिउँसोभन्दा साँझ र राति बढी दुर्घटना भएको छ । एक दिन त बुलेट बाइक लछारिँदै करिब १० मिटर पर पुग्यो ।’ उनले निर्माण कार्यमा भएको ढिलाइले थप दुर्घटनाको जोखिम बढेको बताए ।
पोखरा महानगरले न्यूरोडको बीचमा डिभाइडर बनाउँदै छ भने सडक बत्ति पनि जडान हुँदैछ । पाँच महिनामा सक्ने गरी ९९ लाख रुपैयाँमा सौर्यबत्ति जडानको ठेक्का लगाइएको हो । पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यका अनुसार पोखराका सडक सुन्दर बनाउन बत्ति जडान गर्न लागिएको हो । ‘गर्न खोजेको त व्यूटीफिकेसन हो । बीचमा लाइटिङ छ र त्यो निर्माण गरेको भएर डिभाइडर बनाउने काम भइरहेको छ । त्यो हाम्रो चासो र चिन्ताको विषय हो,’उनले भने, तर पिच भएको हुनाले फुटाउन समस्या भएको हो तर काम तोकिएकै समयमा सकिन्छ । ’ उनले सडकको बीचमा निर्माण सामग्री भने राख्न नदिइएको जिकिर गरे ।
निर्माण ठेक्का पाएको एबी कन्ट्रक्सनका प्रतिनिधि सनम बानियाँले निर्माणको क्रममा केही सामग्री नजिकै राख्नु बाध्यता भएको सुनाए । छेउमा निर्माण सामग्री राख्दा पटक –पटक बाटो काट्न्पर्ने भएकाले कामदार असुरक्षित भए । सवारी जामको समेत समस्या हुने भएपछि बीचमा राखेर काम गरेका हौँ,’ उनले भने, ‘क्रसर कम्पनीबाट निर्माण सामग्री समयमा आउँदैन । प्राविधि, आर्थिक र व्यवहारिक हिसाबले समस्या भएका कारण यस्तो भएको हो ।’
जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी शिवप्रसाद पाठकले चाहिँ महानगरपालिका र निर्माण कम्पनीलाई सडकको बीचको गिट्टी बालुवा हटाउन आग्रह गर्दा पनि काम नभएको सुनाए । ‘सडक क्लियर नगर्दा समस्या छ । दैनिकजसो दुर्घटना जोखिम बढेको छ,’उनले भने ।





